Logo
Logo

१८औँ ‘नाम’ सम्मेलनमा सहभागी हुँदै प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ कातिक । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन लागेका प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले कात्तिक ९ गते शनिबार नाम शिखर सम्मेलनअन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई ‘समसामयिक विश्वका चुनौतीहरुलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि नामका बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।
शिखर सम्मेलनअघि भोलि कात्तिक ४ गतेदेखि बाकुमा उच्च अधिकारीहरुको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक हुनेछन् । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरुको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा तथा बाकु घोषणापत्रलाई निष्कर्षमा टुंग्याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्