Logo
Logo

प्रधानमन्त्री ओली र उपमहासचिव कनेमबीच भेटवार्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव डा. नतालिया कनेमलले शिष्टाचार भेट गरेका छन् । उपमहासचिव डा. कनेम राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशकसमेत हुन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा. कनेमले शिष्टाचार भेटवार्ता गरेका हुन् । युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा. कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आएका हुन् ।
सन् २०१७ मा यूएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएका उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । उनका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि छन् । सो भेटमा यहाँस्थित युएनएफपीएका देशीय निर्देशक लुम्ना बाक्वीको पनि थिए ।
यस वर्ष युएनएफपीएको ५०औँ वार्षिकोत्सव तथा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी)को २५औँ वार्षिकोत्सव मनाइँदैछ । सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेको उपलब्धिसँग साक्षात्कार हुन डा कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासित आइतबार युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कनेमले आज भेटवार्ता गरेका थिए ।
नेपालले सन् १९७१ देखि युएनएफपीएसँगको आर्थिक एवम् प्राविधिक सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य, परिवार व्यवस्थापन, लैंगिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसंख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्