Logo
Logo

महिला हुत्याउने डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

बैतडी, ६ कातिक । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।
महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । ‘मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ ।’
वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो । झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो । डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएका छिन् । उनको कोहलपुरमा उपचार भइरहेको छ ।
यस्तै झडपमा ढुंगा हानाहान पनि भएको थियो । ढुंगा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए । विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो । तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्