Logo

बर्मामा शिव र बुद्ध भेटिँदा


Published On : 5 November, 2019

– श्याम रिमाल/म्यान्माबाट फर्केर

यसपालि म्यान्मा र जापान भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलमा समावेश हुने अवसर मिल्यो । एकै पटक दुई देश टेक्न पाइने अवसर कमै मिल्छ । नेपालको राष्ट्राध्यक्षबाट करीब ४० वर्षसम्म मित्र राष्ट्र बर्मा अर्थात् म्यान्मा भ्रमण भएको रहेनछ । नेपालीहरु विश्वयुद्धदेखि जान थालेकाले बर्मा नेपालीका लागि नौलो ठाउँ रहेन । बेलायतका पक्षमा विश्वयुद्धमा लडेका नेपालीका सन्तानले उतै सृष्टि गरे, घरजम पति उतै गर्न थाले, उतै रोजगारी मिल्यो । बर्मामै बसेर आफ्नो भाषा, धर्म र संस्कृति जोगाए । बर्मा भन्दा एक जाति मात्र बुझिने भएकाले सबै जातिको साझा भाव जागृत गर्न बर्माबाट म्यान्मा(छिटो र बलियो जनता) नाम रुपान्तरण भएको त्यहाँका एक नेपालीले बताए । पहिलेको राजधानी यङ्गोन(रङ्गुन) बाट नेपितमा राजधानी सारिनुको पनि विशेष कारण रहेछ । यङ्गोन निकै साँगुरो र भीडभाड भएकाले सरकारी कार्यालयहरु विस्तार गर्न सकिने अवस्थामा नरहेको बुझियो । नेपित मुलुकको बीच भागमा पर्ने र तीन चार राज्यको यातायात केन्द्र पनि रहेछ । बङ्गालको खाडी र अण्डमान सागरसँग जोडिएकाले सामरिक दृष्टिले पनि राजधानी सार्नुपर्ने देखिएको रहेछ ।

सन् १८८६ देखि १९४८ सम्म ब्रिटिश इण्डियाको प्रान्त रहेको बर्मा स्वतन्त्र भएपछि नागरिक शासन सेनाले कुल्चियो । सैनिक शासन थियो । दक्षिणपूर्वी एशियामा पर्ने म्यान्मा र दक्षिण एशियाको नेपाल दुवै बिम्स्टेकका सदस्य हुन् । करीब पाँच करोड ४० लाख जनसङ्ख्या र क्षेत्रफल ६७६५७५ वकिमी भएको म्यान्मा जनसङ्ख्या र क्षेत्रफलमा नेपालभन्दा ठूलो छ । जुनसँग नेपालको सम्बन्ध १५० वर्ष पुरानो छ । पहिलो र दोस्रो विश्वयुद्ध लड्न नेपालीहरु त्यहाँ गएका थिए । बेलायतबाट सन् १९४८ मा बर्मा स्वतन्त्र भएको हो जसका लागि नेपालीले पनि लडेका थिए । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० (सन् २०१४ मार्च ४) मा भएको बिम्स्टेक सम्मेलनमा स्वर्णभूमिमा भमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको थिएन ।

राष्ट्रपति भण्डारीको म्यान्मा भ्रमणका क्रममा संस्कृति र पर्यटनसम्बन्धी दुई क्षेत्रमा दुई देशबीच भिन्दाभिन्दै समझदारीपत्र आदानप्रदान भयो । त्यसअघि राष्ट्रपतिको सम्मानमा म्यान्माली सेनाले सम्मान गारत अर्पण गरेको थियो । त्यस्तै म्यान्माली राष्ट्रपति विन मिन्त र स्टेट काउन्सिलर आङ सान सु चीसँग राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलस्तरमा बेग्लाबेग्लै भेटवार्ता भएको थियो । म्यान्माकी प्रजातन्त्रवादी नेत्री सु चीले राष्ट्रपति भण्डारीलाई सल(पछ्यौरा) उपहार दिनुभएको थियो । बेलुकी आफ्नो सम्मानमा आयोजित राजकीय भोजमा राष्ट्रपतिले बुद्धको भूमिबाट उहाँहरु सबैलाई शुभकामना र माया ल्याएको बताउँदै व्यापार, पर्यटन, लगानी, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा दुवै देशको सहकार्यमा जोड दिनुभयो । बिम्स्टेकमार्फत क्षेत्रीय सहयोगबाट यस क्षेत्रको शान्ति, स्थिरता, विकास र समृद्धि हासिल हुन सक्ने पनि उहाँले औँल्याउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलले पिन ऊ लिन शहर पनि भ्रमण गरेको थियो जहाँको दुर्गा मन्दिर नेपालीहरुले विसं २०१८ मा स्थापना गरेका रहेछन् । मन्दिरमा राष्ट्रपति भण्डारीलाई नेपाली मूलका म्यान्माली पुजारी जगन्नाथ गौतम र खडानन्द खनालले पूजाआजा गराउनुभएको थियो । उहाँले त्यहाँस्थित पञ्चमुखी शिवको पनि पूजाआराधना गर्नुभएको थियो । सो मन्दिरमा रहेको शिवको मूर्ति तत्कालीन राजा महेन्द्र र पशुपतिनाथको प्रतिमा राजा वीरेन्द्रले आआफ्ना म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।

नेपाली मूलका म्यान्मालीको संस्था अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घले पिन ऊ लिन शहरमा राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डललाई स्वागत गरेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका बर्मेलीलाई आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न आह्वान गर्नुभएको थियो । म्यान्मामा रहेका प्रवासी नेपालीले नेपाली भाषा, संस्कृति र वेशभूषाको संरक्षण गरेकामा र म्यान्मासँगको नेपालको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले म्यान्मासँग नेपालको व्यापार, लगानी, पर्यटन र संस्कृति विषयको प्रवद्र्धन गर्न म्यान्माली नेपालीभाषीलाई आग्रह गर्नुभयो । उहाँले आफ्ना पूर्वज जस्तै उद्यमी र परिश्रमी बन्न उनीहरुलाई आग्रह गर्दै भन्नुभएको थियो, “दुई देशबीच सम्बन्ध प्रगाढ बनाउनका लागि भूमिका खेल्नुहोस् , नेपाललाई मनमा राखी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुहोेस् । ”

धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेले करीब डेढ लाख नेपालीभाषीले म्यान्मामा आनन्द र शान्तिपूर्वक जीवनयापन गरिरहेको बताउँदै आफूहरुले २५० पाठशाला चलाई आफ्ना छोराछोरीलाई नेपाली भाषा साहित्यबारे अध्यापन गरिरहेको जानकारी दिनुभएको थियो । उहाँले सन् २०२० मा नेपाल भ्रमण वर्ष सफल पार्न सङ्घले नेपाल भ्रमण अभियान चलाउने पनि बताउनुभयो । सङ्घका संरक्षक मणिलाल पौडेलले राष्ट्रपतिको म्यान्मा भ्रमणले आफूहरु निकै भाग्यमानी भएको बताउँदै नेपालीहरु सधैँ मिलेर बसून् भन्ने कामना गर्नुभयो ।

प्रतिनिधिमण्डलले म्यान्माको प्रसिद्ध बगान शहर र त्यहाँको आनन्द टेम्पल तथा इँटाबाट निर्मित थुप्रै चैत्यको पनि अवलोकन गरेको थियो । माण्डले क्षेत्रमा रहेको १०४ वर्ग किमीमा फैलिएको प्राचीन बगान शहरमा थुप्र्रै बौद्ध मन्दिर, गुम्बा तथा विहार छन् । जुन शहर युनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको छ । नवौँदेखि १३ औँ शताब्दीसम्म यो बगान अधिराज्यको राजधानी रहेको थियो । बगानले नै विभिन्न इलाकाहरु जिती पछि आधुनिक म्यान्मा निर्माण गरेको हो । हरियालीपूर्ण बगानमा ११ औँदेखि १३ औँ शताब्दीसम्म चार हजार ४४६ बौद्ध मन्दिर, चैत्य र गुम्बा बनेकामा तीन हजार ८२२ अझै रहेका छन् । धेरै पटकको भूकम्पबाट क्षतिग्रस्त भए पनि समय समयमा पुनःनिर्माण भएका छन् र ती अन्तरराष्ट्रिय पर्यटकको आकर्षक बनेका छन् । त्यहाँको आनन्द मन्दिरमा बुद्धका विशाल चार धातुका मूर्ति राखिएको छ । जसको पुनःनिर्माण चीनबाट भइरहेको जनाइएको छ । म्यान्माका राष्ट्रपति मिन्तले असोज ३० गते नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको राजकीय भोजमा पनि बगान र यङ्गोनको श्वेदागोन चैत्यको भ्रमणबाट नेपाल र म्यान्माका बौद्ध तीर्थस्थललाई जोड्न नयाँ विचार आउन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

पुरानो राजधानी यङ्गोनमा रहेको दुई हजार पाँच सय वर्ष पुरानो चैत्य क्षेत्र पनि अवलोकन गरियो । राष्ट्रपति भण्डारीले त्यहाँ बुद्धपूजा पनि गर्नुभयो । सुनौला चैत्य, गुम्बा र विहारहरु रहेको सो पेगोडामा बुद्धका केश रहेको बताइन्छ । एक सय पाँच मिटर अग्लो स्तूपको माथिल्लो टुप्पा चार हजारभन्दा बढी हीरा जडित छ जसमा सबभन्दा ठूलो ७२ क्यारेटको छ । वास्तुकला, मूर्तिकला र कलामा अद्भुत मानिने सो चैत्य क्षेत्र भ्रमण नगरी म्यान्मा भ्रमण पूरा भएको मानिँदैन । श्वेदागोन चैत्य क्षेत्र पहेँलपुर थियो । सुनैसुनले झल्किएको चैत्यमा जताततै शाक्यमुनि बुद्ध नै मुस्कुराइरहेका देखिन्थे जहाँ पर्यटकहरु औधि नै भेटिए ।

[email protected]

प्रतिक्रिया दिनुहोस्