Logo
Logo
कला

मतलबी सहरमा एउटा सपनाको अवसान



मान्छेलाई सपनाहरूले नै हिँडाइरहँदो हो । डोर्याइरहँदो हो । बाँच्न प्रेरित गरिरहँदो हो । जुन दिन सपनाको अवसान हुन्छ त्यो दिन सायद मान्छे पनि मरेतुल्य बन्दो हो ।

ट्राभलिङ सेल्समेन वीरेनप्रताप कार्कीलाई पनि तीन दशकयता सपनाहरूले यसरी नै डोर्याइरहेको छ । श्रीमती र दुई छोरासहित काठमाडौँको एउटा फ्ल्याटबाट बसिरहेको उनको मोटामोटी सपना परिवारलाई खुसी र सुखी राख्ने हो ।

एक मामुली सेल्समेन, पेसामा बफादार र इमानदार छन् । त्योभन्दा ठूलो कुरा खुसी छन् र सफल पनि । व्यवसायिक कौशलले उनको नामको नुर चम्केको छ । गोल्छा, हुलास जस्ता कम्पनीहरूले उनलाई बारम्बार सम्झिरहन्छन् ।

दाइ बन्धु अफ्रिकामा काम गर्छन् । बेलाबेला नेपाल फर्कन्छन् र भाइ वीरेनलाई आफूसँगै लाने योजना बुन्छन् । तर भाइ वीरेन आफ्नो पेशामै खुसी छन् । १७ वर्षमा ‘जंगल’ पसेर २१ वर्षमा धनाढ्य भएका बन्धु दाइको सफलताको कथा बारम्बार उनी छोराहरूलाई सुनाइरहन्छन् ।

अँध्यारो । विकराल । घना । त्यसैले त जंगल संघर्षको बिम्ब हो । जंगल छिचोल्न नजान्नेहरू हराउने निश्चित छ । छिचोल्न जान्नेहरू हिरा लिएर फर्कन्छन् । हिरा सफलता हो ।

छोराहरुप्रति उसको ठूलो आशा छ । विशेषगरी जेठो छोराप्रति । यसरी अरुलाई सफलताको रटान रटाइरहने उनको जीवन भने बिस्तारै कसरी असफलताको चङ्गुलमा फस्न पुग्छ ? यो रहस्य बुझ्न एकपटक मण्डला थिएटर पुग्नुपर्छ ।

खासमा यो सपना देख्नेहरूको कथा हो । सपनाले डोर्याउनेहरुको कथा हो । र ती सपनाहरू साकार पार्न उद्धत हुने र सपनाले निम्त्याउने दुर्घटनाहरूको पीडाबोध गर्नसक्नेहरूको कहानी हो ।

नाटककार अर्थुर मिलरले सन् १९४९ ताका भौतिकवादी अमेरिकी सफलताको मानक कथालाई लिएर लेखेको नाटक ‘डेथ अफ सेल्सम्यान’को सुविधाभोगी नेपाली समाज सुहाउँदो नाट्य रूपान्तरण हो– ‘यौटा सपनाको अवसान’, जुन नाटक मण्डलामा मञ्चन भइरहेको छ ।

नाटकमा सेल्समेन वीरेन मार्फत सपना, संघर्ष, द्वन्द्व र मुक्तिको कथाबाट सहरको अँध्यारो कथालाई चिहाउन खोजिएको छ । सहरिया महत्वाकांक्षा, आरोह र अवरोहको कथा भन्न खोजिएको छ ।

०००

वीरेनको इन्ट्रीबाटै नाटक सुरु हुन्छ । व्यापारको सिलसिलामा इलाम गएर घर फर्कन्छन् । श्रीमती लीला र छोराहरू सनुपप्रताप र सगुनप्रताप माथ्लो तलामा सुतिरहेका छन् । माथ्लो तला भन्नू सुनौलो आगतको बिम्ब हो ।

जेठो छोरो सनुपप्रताप धेरै दिनपश्चात् हेटौँडाबाट घर फर्केका हुन् । उनी हेटौँडामै बस्छन् । त्यहाँ ‘फार्म हाउस’ खोल्ने तयारीमा छन् । बुबासँग उसको सम्बन्ध त्यति राम्रो छैन । उ बुबालाई घृणा गर्छन् । घृणा गर्नुको पनि कारण छ ।

बुढ्यौली बढेसँगै वीरेन हतास छन् । अशान्त छन् । उनको मन थिरमा छैन । यहीँबाट उसको मनोदशा बुझ्न सकिन्छ । उ निरिह छन् ।

३० वर्षबाट सेल्समेनको काम गरिरहेका उनी अहिले कमिसनमा काम गर्न बाध्य भए । यो बाध्यता समय र उमेरसँगै थुप्रिएको हो । अझ दुःखद् कुरो उसको स्वाभिमान गिरेको छ ।

दाइ बन्धु कोठाको सिसाभित्र उपस्थित भइरहन्छन् । खासमा उ वीरेनको मानसपटलमा उपस्थित भएका हुन् । बन्धु अक्सर सेतो सुटमा हुन्छन् । सेतो रंग सुरक्षाको रंग हो । बन्धुले भाइ वीरेनको सुरक्षित भविष्यको चाह गरेकै थिए । त्यो गुमेको अवसर सम्झँदै वीरेन पछुताइरहन्छन् । छिमेकी चन्द्रवीर वीरेनलाई तास खेल्ने प्रस्ताव राखिरहन्छन् । त्यो प्रस्ताव उसको निरिहपन माथिको उपहास हो । खिल्ली हो ।

श्रीमती लीला श्रीमान वीरेनको अवस्थाबाट चिन्तित छन् । औधी माँया गर्छन् । फुर्सदमा श्रीमानको कोट सिलाइरहन्छन् । श्रीमानप्रति उनको प्रेम र सम्मान बुझिन्छ । उनीहरू ऋणमा छन् । किस्ताको कुरा बारबार आइरहन्छ ।

कान्छा छोरा सगुनप्रताप रासलीलामै व्यस्त छन् । उनलाई आमाबुबाको उति ख्याल छैन । तर, सनुप सानैबाट तेज । वीरेन पनुपबाटै सपनाको आरोपण गर्न चाहन्छन् । यो यहीँबाट समस्या सुरु हुन्छ ।

सनुप सानैबाट फुटबलमा लगाव राख्छन् । तर उसलाई बुबाले आफूजस्तै बन्नसक्ने भ्रम दिइरहन्छन् । उनी पनि बुबालाई आदर्श नै मान्छन् । तर, एकदिन बुटवलमा बुबालाई अर्की प्रेमिकासँग भेटेपछि परिस्थिति फरक बन्छ । सोही दिनदेखि सनुपमा घर बस्ने चाह मर्छ ।

बुबाप्रतिको आदर्शमा कमी आएपनि बुबाको स्वाभिमानका खातिर आमालाई उक्त घटना सुनाउँदैनन् । त्यस दिनबाट उ बुबासँग दोहोरो संवाद गर्न चाहँदैनन् । उनिहरुबीचको अस्पष्ट मानसिक टकराव नाटकभर महसुस गर्नुपर्छ ।

रातो, हरियो लाइट बल्दै निभ्दै गर्छ । तर मधुर भएपनि निलो लाइट एकोहोरो बलिरहन्छ । संघर्ष, द्वन्द्व र उतारचढावको ग्राफ बढेपनि त्यसलाई सपनाले जितिरहन्छ ।

वीरेन यात्राको कुरा गरिरहन्छन् । कारको यात्रामा उनको जिन्दगी प्रतिबिम्बित गर्न खोजिएको छ । जिन्दगीजस्तै उनको यात्रा घरी तीब्र हुन्छ त घरी सुस्त । घरी खुला सडकमा पनि दुर्घटित हुन खोज्छ त घरी साँघुरो सडकमा पनि सुरक्षित ।

नाटकमा झ्यालको बिम्ब गज्जब छ । बुटवलकी प्रेमिका पारू झ्यालको फ्रेमभित्र मात्रै बसिरहन्छन् । यसले वीरेन सँगको गोप्य सम्बन्ध झल्काउँछ । उनी हरबखत कालो लुगामा हुन्छन् । कालो रङ रहस्यको बिम्ब हो ।

उनलाई वीरेनले रातो पस्मिना दिन्छ । रातोको बिम्ब अनुराग हो । प्रेम हो । ‘वीरेनको खास प्रेम पारुप्रति छ’ भन्ने बुझ्न सहज हुन्छ । अर्कोतर्फ लीला सँधै झ्यालबाट बाहिर हेर्दै टोलाइरहन्छन् । यसबाट उनको सीमित परिधि र अव्यक्त आकांक्षाहरूको उडान बुझ्न सकिन्छ ।

आकाशमा जुनतारा चम्किरहन्छन्, सडकमा गुलुबहरु बलिरहन्छ । ती गुलुब र जुनतारासँगै लीलाका इच्छाहरु पनि चम्किन खोजिरहन्छन् । तर उनी जेलिएकी छिन् आफ्नै जिजीविषाहरूमा । संकुचनहरुमा ।

०००

उसो त वीरेनलाई अझैपनि फैलनु छ । विस्तार हुनु छ । आफ्नै एउटा घर बनाउनु छ । फूल र बिरुवाहरू रोप्न चाहन्छन् । व्यक्तिवादी र मतलबी सहरमा फराकिलो दायर निर्माण गर्नु छ । करेसाबारी र बगैँचाका लागि थोरै जग्गा किन्नु छ । जग्गा अस्तित्वको बिम्ब हो ।

अनेक सपनाको भारी बोकेका वीरेन एक्लै छन् । कम्पनी र छोराहरूको साथ छैन । हुँदाहुँदा अहिले कम्पनीको मालिक भएको र आफैले नाम राखिदिएको कुवेरले जागिरबाट निकालिदिए । छिमेकी चन्द्रवीर घरिघरि जागिर दिन्छु भनिरहन्छन् । चन्द्रवीरको कुराले वीरेनको आत्मस्वाभिमानमा ठेस पुग्छ । चन्द्रवीरलाई हप्काउँछन् ।

चन्द्रवीर भनिरहन्छन्– ‘मान्छे सँधै हाँस्नु पर्छ । हँसिलो मानिस खुसी हुन्छ ।’ मनोवैज्ञानिक रुपमा पनि यो सत्यलाई गलत मान्न सकिँदैन । साँच्चै वीरेन जति दुःखी र निरास हुँदै जान्छन् उनको जीवनबाट पनि सुखको प्वाँखहरू उप्किँदै जान्छन् ।

नाटकले ‘खुसी’ र ‘सुख’को भेद पनि सूक्ष्म ढङ्गले देखाउन खोजेको छ । सुख हुनुको मापन खुसी हुनुसँग हुन सक्दैन । सायद उच्च महत्वाकांक्षा दुःखको बिजारोपण हो । यहीँ महत्वाकांक्षाले वीरेन दुःखी छन् । चन्द्रवीर खुसी छ ।

०००
चरम निरासबाट आजित वीरेन आत्महत्याको प्रयास गरिरहन्छन् । उसको मृत्युपश्चात उनको परिवारलाई ६० लाखको बिमा रकम उपलब्ध हुनेछ । उ हरबखत झुण्डिने पासो बनाउन सिलिन्डर पाइप लुकाइरहन्छन् । उन्मुक्तिको योभन्दा भयावह पराकाष्ठा के हुन सक्छ ?

फ्युज बनाउन लीलाले कोठा चहार्दा उक्त पाइप भेट्छन् । धेरै आत्तिन्छन् र रुन्छन् । त्यो सत्य उनी छोराहरूसँग लुकाइरहन्छन् । एउटा आमा कसरी दुःखहरूको पहाड लुकाएर जिन्दगीको मैदानमा हिँडिरहन्छन् भन्ने कस्तो नमिठो सत्य । तर जति लुकाउन खोजेपनि त्यो पहाडले एकदिन आफैलाई थिच्ने नै छ । अन्ततः बाध्य भएर एकदिन छोराहरूलाई सत्य ओकल्छन् । मृत्युको कुराले छोराहरू झसङ्ग हुन्छन् ।

०००

यता सनुपप्रतापको आफ्नै द्वन्द्व छ । उ बुबाको मृत्यु हुन नदिनको लागि सहयोगको याचना गर्न पुरानो साथीको कम्पनी जान्छन् । तर साथीले मतलब गर्दैनन् । रिसले साथीको बलपेन बोकेर फर्कन्छन् । बलपेनको बिम्ब उसको आत्मसम्मानसँग जोडिन्छ । उ आफूले त्यो बलपेन चोर्ने ‘निकृष्ट धृष्टता गरेको हुँ’ भन्ने हीनताबोधले जल्छ ।

उसलाई जिम्मेवारीले थिच्नु थिचेको छ । तर स्वाभिमानको निम्ति दासत्व स्वीकार्न तयार छैनन् । उ त्यस रात बुबाको अँगालोमा खुब रुन्छन् । बुबा छोराले आफूलाई कति सम्मान र माया गर्छन् भनेर धेरैपछि खुसी हुन्छन् । त्यो खुसीले पनि उसले आफूलाई हल्का ठान्छन् ।

अन्ततः वीरेनको सपना पूरा नहुने मोड आउँछ । उसले आफैलाई समस्याको जड भएको महसुस गर्दछन् । बेचैनी, निराशा र हीनताबोधबाट बाँच्न नसकेका वीरेनले आत्महत्या गर्छन् । उसको आत्महत्यासँगै नाटक सकिन्छ । एउटा सपनाको दर्दनाक अवसान हुन्छ ।

०००
एउटै सेटिङमा धेरै घटना हुन्छन् । वीरेनको स्मृति, विस्मृति र मतिभ्रमलाई उजागर गर्न निर्देशकले गरेको चातुर्य र प्रयोगहरू प्रशंसायोग्य छन् ।

फुल लेन्थ फिल्मझैँ नाटकले मध्यान्तर गरेर ब्रेक दिन्छ । (आँसु पुछ्ने मौका देको हो सायद) यो अर्को प्रयोग होला सायद । जिन्दगी, सपना र आरोहअवरोहहरू देखाउन हरियो, निलो र रातो बत्तीहरू निरन्तर बलिरहन्छन् । पृष्ठभूमिको संगीतले पात्रहरूको मनोदशालाई बिम्बित गरिरहन्छ ।

नाटकमा मानवीय सम्बन्ध र संवेदनाहरूलाई सूक्ष्म रुपमा केलाइएको छ । माया, प्रेम, घृणा, सम्मान र प्रतिशोधलाई मिहिन ढंगले चित्रण गरिएको छ ।

नाटकमा कताकता बाबुछोराको सम्बन्धले स्पेस खोज्छ । जेनेरेसन ग्याप र त्यसले निम्त्याउने वैचारिक विचलन र भेदको कथा धेरथोर गरेर फेरिपनि नाटक सपनाकै अप्ठ्यारो बाटोमा हिँड्छ ।

नाटकमा झापा काण्डको कुरा आउँछ तर अस्पष्ट । त्यो काण्डको घटनाले कथानकमा के अर्थ राख्छ ? चरित्रमा के असर पु¥याउँछ ? त्यसबारे थप प्रकाश हुन आवश्यक थियो कि ? दाइ बन्धुले भाइ वीरेनलाई दिएको हिराको लकेटले के अर्थबोध गर्दछ ? स्पष्ट हुँदैन ।

व्यक्तिवादी र मतलबी सहरको चित्रण हुँदै गर्दा कुवेर बुबा समानको वीरेनप्रति कसरी त्यति कठोर बन्न सक्दो हो ? उत्तर नपाएर दर्शक कताकता हराउँछन् ।

खासमा यो सपना देख्नेहरूको कथा हो । सपनाले डोर्याउनेहरुको कथा हो । र ती सपनाहरू साकार पार्न उद्धत हुने र सपनाले निम्त्याउने दुर्घटनाहरूको पीडाबोध गर्नसक्नेहरूको कहानी हो ।

वीरेनको सपनालाई पछ्याइरहँदा लीलाको सपनाको पो अवसान भयो कि ? सनुपप्रतापको सपनाको पो अवसान भयो कि ? के मानिसको मृत्यु हुँदैमा उसको सपनाहरूको पनि अवसान हुन्छ त ? नाटकले प्रश्न जरुर जन्माउँछ ।

प्रतिक्रिया दिनुहोस्