Logo
Logo

जीवनमा पहिलोचोटी पैसाको महिमा बुझेँ



निर्धनता प्रकट गर्नु निर्धन हुनुभन्दा अझै दुःखदायी हुनु हो– प्रेमचंद

चीनबाट हप्तैपिच्छे सरोजको चिठीपत्र आइनै रहेको थियो । र पनि एक्लो अनुभूतिले मलाई छोडेन । समस्या दुबैतिर थियो । म सकेसम्म सरोजलाई मेरा आफ्ना समस्याबारे केही लेख्दिनथें ।

पढन अगाडि बढेको मान्छेलाई घरको चिन्ता नथपियोस् भन्ने लाग्थ्यो । टाढा पुगेपछि उनलाई पनि एक्लोपनसँगै हामी आमाछोरीको चिन्ता लागेछ । उताबाट पनि खुसीको चिठी आउँदैनथ्यो ।

जानेबेलामा भएको हत्तारोले पनि परिवारको राम्रो बन्दोबस्त हुन सकेको थिएन । म जसरी पनि बच्चालाई च्याप्दै सकिनसकी अगाडि बढ्दै थिएँ । उताबाट अचानक चिठी आउँछ– ‘अब धेरै यसरी पढ्नकै निम्ति भनेर एक्लै विदेशमा बस्न सक्तिन । फर्किन्छु …’

फेरि अर्को फसाद ! भविष्य बनाउन, देशकै निम्ति पनि एक सक्षम सर्जन थपिने भयो भनी चित्त बुझाइरहेको बेला पाएको अवसर छोडी तुरुन्तै फर्किने कुरा मेरो निम्ति निको कुरा थिएन ।

पाइरहेको कामबाट पनि राजीनामा दिइसकेको अवस्थामा हत्तारमा जानु हत्तारमै फर्किनुको अर्थ पनि देखिनँ । मैले पनि हत्तारमै चिठी लेखें ‘… अहिले पढाई नसकी कुनै हालतमा फर्किने कुरा नगर्नू, बरु म र बच्चानै जसरी भए पनि उतै पुग्ने कोसिस गरौँ !’

‘भाउजु ! दिने त भनेको हो, तर अहिले मसँग पनि पैसा छैन…, अरु साथीहरूबाट एक–एक हजार उठाएर पैसा जोड्नु पर्ला ! म पनि एक हजार सहयोग गर्छु…’ म एकैचोटी झस्केँ । जीवनमा पहिलोचोटी पैसाको महिमा बुझेँ ।

भन्नु जस्तो कहाँ सजिलो हुन्छ र ! त्यो बेला त्यो कुरा पनि आकाशकै फल टिप्नु जस्तै थियो । तर, यो कुराले फर्किन हत्तार भने भएन । उनले पनि आफ्नो युनिभर्सिटी प्रशासनमा कुरा राखेछन्– आफ्नो परिवारलाई झिकाउने स्वीकृतिका निम्ति ।

थोरै आशा पलाएछ पनि । उनलाई त्यो युनिभर्सिटीका अधिकांश गुरुहरूले मन पराउँथे । एकै चोटी ‘हुन्न’ भन्न पनि सकेनन् । तर, चीनमा विदेशी विद्यार्थीका परिवारलाई ल्याउन पाउने नीति नै थिएन । अहिले जस्तो खुल्ला कहाँ थियो र !

विदेशीहरूको निम्ति त पूरा ढोका खोलिसकेकै पनि थिएन । उनको छात्रवृत्तिको पैसा पनि त्यो बेला धेरै थिएन । यसो गर्याे, उसो गर्यो, पैसाकै समस्या ठूलो भैदियो । तर, उनले जिद्दी गर्न र घुर्की लगाउन थालेछन् – ‘उसो भए नपढी फर्कन्छु …’ भनेर ।

यताबाट पनि गर्न सक्ने जति उपाय खोज्न थालेँ । मनमा आत्मविश्वास पलायो । ‘म गएरै छोड्छु र चीनको समाजवाद पनि एकपल्ट हेरेरै फर्कन्छु’ भनेर अठोट गरेँ । दुबैतिरको प्रयत्नले चिनियाँहरूलाई अलिअलि दबाब जस्तो पनि भएछ क्यारे ।

शुरुमा भेटघाट गर्न श्रीमतीलाई मात्र बोलाउने कुरा भएछ । यो त मेरो निम्ति झनै गाह्रो कुरा थियो । ‘खान त खा, घाँटी बाँधेर खा’ भनेजस्तै भयो । बच्चा छोडेर जाने मेरो अवस्था र मानसिकता दुवै थिएन । तैपनि प्रयत्न जारी नै थियो ।

सकारात्मक प्रयत्नको सकारात्मक प्रभाव नै हुन्छ, परिणाम शून्य हुँदैन । उताबाट अलिअलि सकारात्मक संकेत आउन थाल्यो । यता जस्तै दुःख भएपनि दुःख जस्तो मान्न पनि छोडेँ । नगई नछोड्ने आत्म विश्वासले जित्न थाल्यो ।

दिनहरू सधैँ एकनास रहन्नन् । मनमा आशाका किरणहरू पनि थपिन थाले । सरोजले आफ्नो युनिभर्सिटीमा एक्लै लडेरै हाम्रो निम्ति स्वीकृति लिई छाडे । यो खुसीको कुरा थियो ! तर, हामीसँग बाटो खर्च पनि थिएन । होस् पनि कसरी ? पैसा आउने काममा लागेको हाम्रो विगत थिएन ।

देश, समाज, पार्टी…भन्दै नै हाम्रो पहिलो युवाकाल त खर्चिसकेको थियो । सम्पतिको नाममा न दाइजो, न कमाईको बचत, न घरबाट अंश … केही पनि त थिएन ! आफूलाई ‘सर्वहाराकरण’ गर्न भनेर जो भएकोसमेत खर्च गर्नु सिवाय थपिने त कुरै थिएन ।

पार्टीलाई लेवी तिर्नुनै थियो, अरु खर्चको कुरै नगरौं । पैसा नपुग्ने र नभए पनि त्यो बेला आफ्नै जीवनशैलीप्रति गर्व गथ्र्यौँ । संवेदनशील थिएँ, झण्डै आमाको घरसमेत पार्टीलाई नचढाएको !

अबको खोजी भनेको पैसाको भयो । त्यो बेला टिकटको निम्ति कम्तिमा १५ हजार जति पैसाको जरुरी थियो । पासपोर्ट बनाउन, भिसाको बन्दोबस्त गर्न सबै नै बाँकी थियो ।

सरोजलाई जस्तो टिकट र भिसा सजिलो भएन । उनलाई त टिकटको बन्दोबस्त छात्रवृत्तिभित्रै पथ्र्यो । आफू गए पुग्थ्यो । मेरो निम्ति त जाने कुरा उठेदेखि नै थप संघर्षकै कुरा आयो । कसरी जाने ? कसरी छोरीलाई समेत लान पाउने बनाउने ? अब फेरि पैसा कसरी जुराउने ?

दौडधुप सुरु भयो– सरोजले यो कुरा स्पष्टै बुझेर आफ्ना एक विश्वासिला र मजाले कमाइरहेको डाक्टर साथीलाई पछि तिर्नेगरी सहयोग गर्न भनेका रहेछन् । आफूले कुरा गरिसकेको र मलाई पनि गएर ‘कुरा गर्न जाउ’ भनेर चिठी लेखे । अलिकति आशा जाग्यो ।

साँच्चै म पनि गएर कुरा गरेँ । सुरुमा त ‘आधाआधि जस्तो दिन सक्छु, बाँकी अरुसँग पनि खोज्नु न’ भनेर आश्वासन दिए । मन अलिकति हलुङ्गो भयो । अनि अरु केही नजिकका धनी आफन्तसँग भनिहेरेँ । ‘त्यो त सरोजले नै बन्दोबस्त गरेर जानुपर्ने होइन र ?’ भन्ने प्रश्न तेर्साएपछि यस्ता मान्छेसँग पैसा माग्नु बेकार भन्ने लागेर चुप लागेँ ।

दोहर्याएर ऋण माग्ने काम भएन । सबै दौडिने काममा आफै लाग्नुको विकल्प पनि थिएन । ससुरा बुबाले पासपोर्टको निम्ति भनसुन गरिदिने र त्यसको निम्ति पाँचसय रुपैँया तिरिदिने काम पनि भयो । पासपोर्ट पनि बन्यो । उताबाट मलाई र बच्चालाई समेत ल्याउन पाउने चिट्ठी पनि आईपुग्यो । भिसाको निम्ति अब ठूलो समस्या रहेन । तर, पैसा अझै भएन ।

पार्टीका कामहरूबाट पनि औपचारिक रुपमा नै बिदा हुन थालेँ । त्यतिबेला सीपी मैनाली र मेरी साथी अष्टलक्ष्मीले मलाई महिला कार्यकर्ताको कमी भएको बेला चीन नजाउ नै भनेका थिए । अष्टले ‘तिम्रो कारणले म यस्तो भएँ, अब तिमीले त्यसरी छोडेर जाने ?’ भनिन् । त्यो वाक्यले म एकछिन धरमराएँ पनि ।

तर, जसरी भएपनि नगई नछोड्ने मानसिकताले नै जित्यो । फेरि बाँकी रह्यो पैसाकै कुरा । म फेरि सरोजको उही साथी डाक्टरको क्लिनिकमा गएँ पैसाकै कुरा गर्न । त्यो बेला त उनको बोली बिल्कुलै अर्को भइसकेको थियो । उनले भने– ‘भाउजु ! दिने त भनेको हो, तर अहिले मसँग पनि पैसा छैन …, अरु डाक्टर साथीहरूबाट एक एक हजार उठाएर पैसा जोड्नु पर्ला ! म पनि एक हजार सहयोग गर्छु…’

म एकैचोटी झस्केँ । जीवनमा पहिलोचोटी पैसाको महिमा बुझेँ । फर्कँदा पाइलाहरू गह्रौँ भए । बागबजारको पेटीमा एक्लै खुट्टा घिसार्दै फर्किएँ ।

प्रतिक्रिया दिनुहोस्