सम्झनामा विनय सर « Drishti News – Nepalese News Portal
Logo

सम्झनामा विनय सर


-रामकृष्ण भण्डारी


  • रामकृष्ण भण्डारी

सपनामा त्यो मानिस फेरि आयो । त्यो मानिस त्यही दिन मर्छ भन्ने मलाई के थाहा ! उसले भन्यो, ‘बाबु, जोतिषले भनेजस्तै भयो । म अहिले बैकुण्ठलोकमा छु । तर म यहाँ आएको कुरा कसैलाई थाहा छैन । यसैले भोलिकै अखबारमा मेरो समवेदना छाप्नुपर्यो । रेडियो र टीभीमा पनि सकेसम्म छिट्टै प्रसार गर्नुपर्यो । त्यसो नगरेसम्म मेरो आत्माले शान्ति नपाउने भयो ।’

वास्तममा नत राज्यले त्यसको कदर गर्न सक्यो, नत हामीले नै उहाँलाई सही रुपमा चिन्न सक्यौ । कसजूलाई भौतिकरुपमा त अब हामीले भेट्ने छैनौं् । तर कर्मयोगी लेखनले भने उहाँलाई कहिल्यै मर्न दिने छैन् । साहित्य र पत्रकारिताले कसजूलाई सधै बचाउँने छ । सधै त कोही पनि रहने छैन तर, हरेक पुस्ताले विनय कसूजलाई सम्झिरहने छ । विनय सरलाई हार्दिक श्रद्धान्जलि ।

यो शब्द साहित्यकार पत्रकार विनय कसजूको लघुकथा ‘ज्यूँदै समवेदना’ को अंश हो । यसैसाता दिवंगत हुनुभएका उहाँलाई सम्झेर समवेदनासहित केही शव्दहरु लेखिरहँदा मैले विपनामै भनिरहेको छु,–त्यति सरल र सधै सकारात्मक कर्म गरिरहने सर्जक विनय सरले ७२ वर्षकै उमेरमा मंसिर १० गते यो धर्ती छाडेर जानुहुन्छ भन्ने कसलाई के थाहा ?’ ज्योतिषले भनेजस्तै भयो, भएन । अहिले उहाँ बैकुण्ठलोकमा या कहाँ हुनुहन्छ ? त्यो त थाहा भएन् । तर यत्ति थाहा छ, अब उहाँको भौतिक शरिर हामीले देख्न पाउँने छैनौं ।

विनय सरलाई करिव १५ बर्षअघि पाल्पा ख्याहा निवासी मेरो मामा मेघराज न्यौपानेले तानसेनमा चिनाईदिनु भएको थियो । वरिष्ठ पत्रकारका रुपमा सुने, पढे पनि त्यसअघि मैले भेटेको थिइन । त्यसयता जति भेटे, सधै प्रेरणा र नयाँ कामका लागि हौसला दिनुभयो । आफ्नो बाल्यकाल गुल्मीको रिडीमा बितेको बताउनु भएकोले पनि मेरो आत्माले उहाँलाई श्रद्धा गरेको थियो, किनभने बाल्यकालमा रिडी भन्ने वित्तिकै धर्मकर्म गर्ने र ठूलाबडा मान्छेहरु बस्ने ठाउँ बुझ्थ्यौं ।

विनय सर, हामी पत्रकारहरुका लागि सधै आदर्शपात्र रहनुभयो । पाल्पाको गाउँले देउराली पत्रिका भन्ने वित्तिकै उहाँकै नाम आउँछ । कसजू ग्रामीण पत्रकारिता, विकास पत्रकारिता र पत्रकारितामा सूचना प्रविधिको पहुँच तथा सामुदायिक रेडियोका अभियन्ताका रुपमा निरन्तर काम गर्नुभयो । ती अभियानमा कहीँ न कहीँ भेट हुँदा उहाँले भन्नुहुन्थ्यो– सूचना र सञ्चारलाई गाउँसँग जोड्न सकिएन् भने विपन्न र किसानको पक्षमा पत्रकारिता पुग्न सक्दैन् । कसजू कृषि पत्रकारितामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । श्रमजीवि पत्रकारका पक्षमा सधैजसो वकालत गर्नुभएका उहाँको कृषिलाई सञ्चारसँग जोड्न पनि महत्वपूर्ण योगदान छ । राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त हुँदा समेत उहाँले सूचनाको पहुँच आमनागरिकसम्म पुग्नुपर्ने बताउनु हुन्थ्यो ।

सृजनशिलतालाई हरेक क्षण उपयोग गर्ने क्षमता कसैमा हुन्छ भने त्यो विनय कसजूमा थियो । उहाँले सूचना प्रविधि र नयाँ विषयबस्तुलाई जतिसक्यो छिटो दस्तावेजीकरण गर्नुहुन्थ्यो । त्यसको पछिल्लो उदाहरण उहाँको नयाँ ट्विट कथासंग्रह ‘बिउ’ हो । सामाजिक सञ्जालको बढ्दो उपयोगको नविनतम् कृति हो, यो ट्विट कथा सग्रह ‘बिउ’ । यति चोटिला ट्विट कथा एकै छिनमा पढ्न सकिन्छ । सिंगो संग्रह पढिसक्न एक घण्टा पनि लाग्दैन् । त्यसको भूमिका उहाँले लेख्नुभएको छ –

बिउ कुहे मानिस कुहुन्छ ।

बिउ उम्रे समृद्ध हुन्छ ।

उमार्ने कि कुहाउँने तपाईँको मर्जी…।

यो कथा संग्रहमा एकसय वटा कथा छन् । प्रत्येक कथा सरदर ५०–५५ अक्षरमा अटाएका छन् । ती सबैलाई ट्विट गर्न मिल्छ् । यस्तो कथा संग्रह सायद अरु कहीँकतै लेखिएको छ । त्यस हिसावले यसमा जति नयाँपन छ त्यति नै सटिक सन्देश पनि ।

लक्ष्य मानिसको हुन्छ, बाटोको हुँदैन ।

हिँड्ने मानिस हो, बाटो हिड्दैन ।

लक्ष्य भएपनि नहिँडने मानिस कहीँ पुग्दैन् ।

राजनीति, प्रशासन, गरिबी, किसानका दुखकष्टदेखि समाजका प्रायःजसो विकृति विसंगतिलाई समेटिको छ । विधिमा लोकतन्त्र तर व्यबहारमा धम्की,अंहकार वा शक्तिमोह नेपाली राजनीतिको प्रवृति नै देखिन्छ । त्यसलाई यसरी व्यङ्य गरिएको छ ।

आधुनिक लोकतन्त्र

जिते स्वीकार,

हारे बहिस्कार ।

यति मात्रै हैन, सामाजिक कुरीति र अपराध, भद्रगोल, मिडियाको मनपरि सबैतिर कटाक्ष गरिएको ट्विट कथा संग्रह चोटिलो छ, खदिलो छ र यसले वर्तमान परिवेशलाई समेत छर्लङ्ग पार्छ ।

मापसे जाँच्न बसेकाहरु

जाडो भयो भनेर

भट्टीमा पसे ।

…………………….

मिडिया भन्छ :

नेताहरु सुध्रेनन् म त थाकिसकेँ ।

गाली गरेर थाक्यौ कि पैसा थुपारेर थाक्यौ ?

…………………………

जुनबेसीकी नानी

जुनमा पुग्ने रहर गर्थी ।

बम्बै पुगिछे ।

……………………

बा, यो माला लाउँ ?

हुन्न सालिकमा चढाउने हो ।

म कहिले सालिक बन्छु बा ?

……………..

कविजी के गर्दै छौ ?

ग्यास सकियो ।

पाण्डुलिपि बालेर भात पकाउँदैछु ।

………………….

यी केही प्रतिनिधि ट्विट कथाहरु हुन् । यो कथा संग्रह प्रकाशित भएपछि विनय सरले मलाई मिल्यो भने कहींकतै लेख्नु है भन्नुभएको थियो । मैले प्रयास गर्छु पनि भनेको थिए । तर मैले समयमै प्रयास नै गरिनछु, । अहिले पछुतो लागिरहेको छ ।

विनय कसजूको सबैभन्दा धेरै योगदान बाल साहित्यमा देखिन्छ । उहाँ आफू त लेख्नुहुन्थ्यो नै, बालकथा कसरी लेख्ने भनेर बालबालिका एवं बाल साहित्यमा रुचि राख्नेलाई सिकाउँनु हुन्थ्यो । उहाँका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीत, साइबर बालकथा, सूर्यको बिहे, जुल्फी खाने कौवा, मेवालाल, सुजनको डर, लगायत दर्जनौं कृतिहरु प्रकाशित छन् ।

यस्तै लघुकथा र व्यङ्गयात्मक कृतिहरूमा पनि उत्तिकै लोकप्रिय छन् । पशुतन्त्र, लिस्नो, थोपाथोपा, स्याललाई स्लिपिङ व्याग कसजूका लोकप्रिय लघुकथा कृतिहरु हुन् ।

विनय कसजूसँग जोडिएको अर्को प्रसंग पनि छ । उहाँले लेख्नुभएका बालचित्र पुस्तकहरु बालबालिकाले औधी मन पराउँछन् । तर त्यस्ता पुस्तकहरु तुलनात्मक रुपमा अरु महंगा हुन्छन् । त्यसै प्रसंगमा मैले एकदिन विनय सरसँग भने– बालबालिकालाई अत्यन्तै उपयोगी यस्ता पुस्तकहरु सबैको पहुँचमा पुग्ने गरि अलि सस्तो बनाउन सकिन्थ्यो कि सर ? त्यसमा उहाँ सहमत हुनुहुन्थ्यो । सरकारले नै सकारात्मक सन्देश दिने चित्र कथाहरु बालबालिकासम्म पु¥याउने गरि लेखक तथा प्रकाशकलाई सघाए पुस्तकको मुल्य सस्तोपर्ने र धेरैको पहुँचमा लैजान सकिने उहाँको भनाई थियो ।

नेपाली पत्रकारिता र बालसाहित्यमा विनय कसजूले जति योगदान गर्नुभयो ।

वास्तममा नत राज्यले त्यसको कदर गर्न सक्यो, नत हामीले नै उहाँलाई सही रुपमा चिन्न सक्यौ । कसजूलाई भौतिकरुपमा त अब हामीले भेट्ने छैनौं् । तर कर्मयोगी लेखनले भने उहाँलाई कहिल्यै मर्न दिने छैन् । साहित्य र पत्रकारिताले कसजूलाई सधै बचाउँने छ । सधै त कोही पनि रहने छैन तर, हरेक पुस्ताले विनय कसूजलाई सम्झिरहने छ । विनय सरलाई हार्दिक श्रद्धान्जलि ।

[email protected]

प्रतिक्रिया दिनुहोस्