Logo
Logo

डिआइजीहरु असुलीमा व्यस्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ पुस । सात प्रदेशका डिआइजीमध्ये चार डिआइजी डेढ महिनापछि अवकाश पाउँदैछन् । अवकाश हुन लागेका डिआइजीलाई प्रदेशमा खटाउँदा भ्रष्टाचार मौलाएको छ । अवकाश हुने बेला डिआइजीहरु घुुमुवा खटाएर असुल्नमा व्यस्त भएका छन् । प्रहरी महानिरीक्षक र गृह मन्त्रालयले समेत त्यसमा चासो दिएको छ ।

प्रदेश नम्बर पाँचका डिआइजी सुरेशविक्रम शाह, गण्डकी प्रदेशका विनोद शर्मा घिमिरे र कर्णाली प्रदेशका पूर्णचन्द्र जोशी असुलीमा लागेका हुन् । उनीहरुविरुद्ध प्रहरी प्रधान कार्यालयमा समेत उजुरी बढेको छ ।

गण्डकीका डिआइजी घिमिरेले त रेट नै तोकेर मातहतका युनिटहरुसँग मागिरहेको स्रोत बताउँछ । यससम्बन्धी उजुरी तीन महिनाअघि नै प्रहरी प्रधान कार्यालयमा पुगेको थियो । तर, उजुरी छानबिन शाखाले सामान्य छानबिन गरेर फाइल तामेलीमा राखेको छ । प्रदेश नम्बर पाँचका डिआइजी शाहले तस्करीको लाइन खोल्न एसपीहरुलाई दबाब दिइरहेका छन् ।

सामान्यतया अवकाश हुन लागेका अधिकारीलाई इन्चार्जमा खटाइँदैन । तर, राजनीतिक पावरकै आधारमा उनीहरु प्रदेश इन्चार्जका रुपमा काम गरिरहेका छन् ।

उता प्रहरीमा एसएसपी बढुवामा यसपटक पनि ठूलै संघर्ष हुने देखिएको छ । जुनियर ब्याचका एसपीहरुसमेत बढुवाको दौडमा लागेपछि बढुवाका लागि चलखेल बढेको छ । जुनियर ब्याचका एसपी चन्द्रकुबेर खापुङ बढुवा हुने भन्दै जिल्ला इन्चार्जसमेत गएका छैनन् । उनी कर्मचारी प्रशासनमा छन् ।

एसएसपीका ८ पद रिक्त हुँदैछन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश हुनुअघि इन्सपेक्टरसम्मको बढुवाको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्