Logo
Logo

सशस्त्रका आइजिपीविरुद्ध मुद्दा परेपछि..


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ पुस । गत साता सशस्त्र प्रहरीका एक भगौडा सई पक्राउ परे । उनी पक्राउको कहानी रोचक छ । २०६७ सालमा ‘भिआइपी प्रोटेक्सन ट्रेनिङ’ का लागि उनीसहितको एक टिम अमेरिका गएको थियो । फागुन २० देखि चैत १८ गतेसम्म तालिम थियो । २० चैतमा सबैजना फर्कनका लागि विमानस्थल गए । तर, सई उमेश सिलवाल भने विमानस्थलबाटै गायब भए ।

कतिपय प्रहरीहरु शान्ति मिसनमा गएको बेला अमेरिकाको भिसा लगाएर उतैबाट गायब हुने गरेका घटना छन् । अमेरिका नै गएका बेला सिलवालले त्यही लुकेर बस्ने निर्णय गरे ।

तर, उनको जीवन सोचेजस्तो भएन । अमेरिकामा तीन वर्ष बसेपछि उनलाई त्यहाँबाट डिपोर्ट गरियो । उनी नेपाल फर्किन बाध्य भए ।

नेपाल फर्किएपछि उनलाई आफूले गल्ती गरेको कुरा महसुस भयो । तर, धेरै ढिलो भइसकेको छ । उनलाई संगठनले बर्खास्त मात्र गरेको थिएन, तीन वर्ष कैद सजायसमेत सुनाएको छ । सशस्त्र प्रहरी विशेष अदालतले यस्तो अपराधमा उनलाई दोषी ठहर गरी तीन वर्ष कैद सुनाएको थियो ।

तर, उनी अमेरिका नै रहेको आशंकामा कसैले पक्राउको चासो दिएन । तर, गत महिना प्रहरी प्रधान कार्यालयमा सर्वाेच्च अदालतले एउटा पत्र पठायो । जसमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई विपक्षी बनाइएको थियो । आफूलाई अन्यायपूर्ण रुपमा सेवाबाट हटाइएको भन्दै उनले मुद्दा हालेका थिए । वकिलले जिताइदिने भन्दै मुद्दा हाल्न लगाएका थिए ।

अदालतबाट दोषी ठहर भएका फरार अभियुक्तले नै मुद्दा दायर गरेको थाहा पाएपछि महानिरीक्षक खनालले पुरानो फैसला कार्यान्वायनका लागि उनलाई पक्राउ गर्न आदेश दिए । सोहीअनुसार सशस्त्रको विशेष टोलीले उनलाई पक्राउ गरी महान्यायाधिवक्ता कार्यालयमामार्फत जेल चलान गरेको थियो । अर्थात् बढी जान्ने हुँदा सई सिलवाल तीन वर्षका लागि जेल जाकिएका छन् ।

सशस्त्रमा यसरी जागिर छाडेर भाग्नेहरुको संख्या अधिक छ । समयमा बढुवा नहुने र बढुवा भएपनि युवा अवस्थामै अवकाश पाइने भएकाले सुरक्षा निकायको जागिरप्रति आकर्षण घट्दो छ । भगौडाहरुलाई जेल हाले पनि यस्तो समस्या समाधानमा भने दुवै प्रहरीको नेतृत्वले चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्