Logo
Logo

सीता दाहाल र ‘नी’हरू


7.9k
Shares

सीता दाहालको अन्त्येष्टिमा प्रत्यक्ष संलग्न भएर श्रद्धाञ्जली दिन नसके पनि प्रत्यक्ष अनलाइन प्रसारण भने हेरि नै रहेँ । उनीसँग सम्बद्ध राजनीतिको उतार चढावसँग मेरो कहिल्यै कुनै साइनो रहेन, बरु कुनैबेला मेरो परिवारले भने त्यो बेला उनीहरूका कार्यकर्ताबाट केही हैरानी पनि खेप्नुपर्यो । तर, सीता दाहालका बारे टाढैबाट जति सुनेँ, त्यसले जहिले पनि उनीप्रति सहानुभूति नै जाग्थ्यो ।

एकजनाको कथाले धेरै नेता–पत्नीको परिस्थितिलाई प्रतिनिधित्व गर्न सक्छ । नेतापत्नीहरूका कथा आपसमा जतिसुकै फरक भएपनि सबैका कथामा एक किसिमको समान विशिष्टता हुन्छ । सीता दाहाल त एकजना झनै विशिष्ट नेताकी पत्नी परिन् जोसँग असामान्य कथाहरू जोडिएका छन् ।

उनी आफैले देशको निम्ति कस्तो सपना देखेकी थिइन, आफ्नै रोजाईको जिन्दगी बाँचिन् कि परिस्थितिको निर्णय अनुसार बाँचिन्, कति आफैँ भएर बाँचिन्, कति ‘नी’ भएर… त्यो थाहा छैन । हामी सबै आफ्नो चाहना र परिस्थितिको सीमाबीचको सन्तुलनमै बाँचिरहेका हुन्छौँ– कसैको जीवनमा एउटा पक्ष बलियो हुन्छ, कसैकोमा अर्को पक्ष । केही थाहा नभए पनि उनको सम्झना आइरहेको छ । उनले छोडेर गएका परिवारजनप्रतिभन्दा बढी उनैप्रति सहानिभूति जागिरहेको छ ।

मानिसको जीवनमा धेरै अवसरहरू आउँछन् । धेरै अवसरहरू थाहै नपाई जान्छन् पनि । यो सबलाई अनित्यताको नृत्यका रूपमा हेर्दा शायद जीवनमा ग्लानि बोक्नु पर्दैन । कुनै ग्लानिको भार नबोकी हल्कासँग बिदा हुन पाइन् होला त सीताले ?

उनका बारे बोलिएका, लेखिएको कुरा सुन्दा, पढ्दा एउटी किशोरीलाई देख्छु, जसको १६ वर्ष पुग्दानपुग्दै बिहे भएको छ । पढेलेखेको केटा भन्ने मात्र थियो सुरुमा । बिहे गर्दा त उबेलाको गाउँघरको चलनअनुसार धुमधामले दोहोरो बाजा बजाएरै बिहे भएको थियो रे । ‘प्रेम विवाह’ हैन, आमाबाबुको स्वीकृतिमा उबेलाको सामाजिक मान्यता अनुरूप नै बिहे भएको रे । दुवैतिर ठूला परिवार थिए रे ।

विवाह पछि नै राजनीतिको बाटोमा तानिएर हिँड्न थालेको अनुमान गर्न सकिन्छ । विवाहपछि पत्नीले बुहारी भएर घरको बुहार्तन बेहोर्नुपर्ने र श्रीमानले भने पढ्न भनेर वा काम गर्न भनेर घर छोड्नु पर्ने अवस्था धेरैको हुन्छ ।

केटाकेटी जन्माउनु मात्र हैन, हुर्काउनु पनि महिलाकै जिम्मा हुन्छ । त्यसमा लगातार तीनवटी छोरी जन्मेपछि ‘घरमा छोरा जन्माउन नसक्ने बुहारी’ भनेर हेला गर्ने समाजको संस्कार अहिले त बाँकी छ भने त्योबेला झन् कस्तो होला ?

जब श्रीमान आफ्नो राजनीतिक यात्रामा भूमिगत हुन पुगे र अझै टाढा भए । उनीमाथिको बोझ अझ झन् कति थपियो होला ? धन्न अन्तमा एउटा छोरोको पनि जन्म भयो । जतिसुकै ‘क्रान्तिकारी’ र ‘प्रगतिशील’ भएपनि त्यो बेला पतिपत्नी पक्कै खुसी भए होलान्, अर्को सन्तानको आगमनले भन्दा पनि छोराको आगमनले ।

एउटी असल आमाको रुपमा छोराछोरीलाई बेस्सरी माया गर्दागर्दै पनि सहज जीवन बिताउने परिस्थिति नहुँदा बच्चाहरूलाई भनेजस्तो खुवाउन नपाएको र ‘राम्रो’ स्कूलमा पढाउन नपाएको दुःख आमाको मनमा रहेछ ।

पछि बच्चाहरूलाई मामाघरमा राखेर भूमिगत बाटोमा हिँडेका श्रीमानसँग हिँड्दा सुख त पक्कै भएन होला उनलाई । एकातिर बच्चाहरूको चिन्ता, अर्कोतिर श्रीमान हिँडिरहेको बाटोमा भएको खतराको प्रत्यक्ष साक्षी हुँदा थपिएको चिन्ता ।

जब प्रधानमन्त्रीकै पत्नीको रूपमा ‘प्रथम महिला’ बनिन्, त्योबेला मात्र संचारजगतमा उनको नाम पनि आउन थाल्यो । धेरैलाई मलाई जस्तै उत्सुकता थियो होला– प्रथम महिला कस्ती होलिन् भनेर हेर्ने ।

सञ्चार माध्यममा देखिने उनको अनुहारमा म कहिल्यै हाँसोको किरण भेट्दिन थिएँ । हास्नै नजानेको जस्तो, जिल्ल परेको अनुहार देखिन्थ्यो सधैँ ।

‘मनमा कति धेरै गाँठा परेका होलान् यिनको’ जस्तो लाग्थ्यो । औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी पत्नीका रूपमा बाहिर जाँदा पनि हाँसो देखिँदैनथ्यो उनको अनुहारमा । वास्तवमा उनी धेरै चर्चामा पनि आइनन् । शायद आउन पनि चाहिनन् ।

हुर्केकी जेठी छोरी क्यान्सरले बित्दा, अनि एक्लो छोराको समेत असामयिक, अप्रत्याशित मृत्यु हुँदा त उनी सदाकै निम्ति हास्न नसक्ने भएकी होलिन् । त्यो त उनको आफ्नै दुःख भयो ।

आफ्नै अगाडि देशका १७ हजार आमाका सन्तानहरूको अकाल मृत्यु भएको सुन्दा र देख्दा उनको मन कस्तो भएको थियो होला ? तीमध्ये कति त उनीसँग राम्रै चिनजान भएका नजिकका प्रिय मान्छे पनि थिए होलान् ।

एकजना महिलाको भोगाईका अनेक पक्ष हुन्छन्, उनको भोगाई त झनै बहुआयामिक रह्यो होला । दुःख सुखको सरल श्यामश्वेत जिन्दगीभन्दा उनको भोगाई पक्कै पनि बढी उतारचढावपूर्ण र नाटकीय भएको अनुमान गर्न सकिन्छ ।

धेरैलाई लाग्दो हो– उनी भाग्यमानी रहिछन्– प्रधानमन्त्रीकी पत्नी भइन्, पटक पटक ‘प्रथम महिला’ भइन् । तर, यथार्थमा सन्तोष र गर्व गर्ने ठाउँ कति मिल्यो होला एउटी, महिला, पत्नी र आमाको हैसियतमा सीतालाई ?

‘क्रान्तिकारी’ हुनुको गर्व साँच्चै कति अनुभूत भयो होला उनलाई ? बाहिरबाट हेर्नेले त प्रचण्डले जस्तो ‘गर्व’ गरेको कहिल्यै देखेनन् । प्रचण्डको जस्तो हाँसो पनि कहिल्यै देखिएन ।

लामो समयको कष्टपूर्ण अस्वस्थतामा सिकिस्तै भएर रहेपछि सीता दाहालले आफ्नो अन्तिम श्वास अस्पतालमा फेरिन् र संसारबाट बिदा लिइन् । मानवजीवन अमूल्य छ । तर, एक न दिन एक दिन त सबैले संसार छोड्नु नै छ । यो अनित्यताको कथा सबैलाई थाहा छ । भोलि मर्ने मान्छेलाई आज कसैले सुनको पहाड नै उपहार दिन्छ भने पनि त्यसको कुनै अर्थ रहँदैन ।

मानिसको जीवनमा धेरै अवसरहरू आउँछन् । धेरै अवसरहरू थाहै नपाई जान्छन् पनि । यो सबलाई अनित्यताको नृत्यका रूपमा हेर्दा शायद जीवनमा ग्लानि बोक्नु पर्दैन । कुनै ग्लानिको भार नबोकी हल्कासँग बिदा हुन पाइन् होला त सीताले ?

सीताको देहान्त भएको एकहप्ताभन्दा केही दिन मात्रै हुँदैछ । तर, धेरैको सम्झनामा जस्तै मेरो सम्झनामा पनि निकै पछिसम्म उनी आइरहनेछिन् । हरेक पटक सम्झनामा आउँदा मेरो मनमा यिनै प्रश्न दोहोरिरहने छन् । ‘नी’को हैसियतमा धेरै महिला बाँचेर संसारबाट बिदा भएका छन् ।

प्रख्यात क्रान्तिकारी, शासक, विद्वान, कलाकार, साहित्यसाधक… पुरुषका ‘वामाङ्गी’ भएर पर्दा पछाडिबाट वा ‘सजावटका जीवित पुतली’ भएर श्रीमानहरूलाई सघाएका छन् ।

ती सबैले आफ्नो जीवन आफैले कति बाँचे ? अरूका निमित्त बाँच्दा उनीहरूले तिर्नु परेको मूल्यप्रति नजिकका मान्छे कति कृतज्ञ होलान् ? समाजका निम्ति, देशका निम्ति, मानवताका निम्ति उनीहरूको योगदानको कदर कति भएको छ ? सबैको अभिलेख त कसरी सम्भव होला र ?

सीताका बाँकी सन्तान आमाप्रति पक्कै कृतज्ञ होलान् । सीताप्रति प्रचण्डको साँचो कृतज्ञताको भने विशेष महत्व रहनेछ । र, स्वयम् प्रधानमन्त्री भएका उनलाई त्यो कृतज्ञता देखाउनका निम्ति महिला हितका पक्षमा साँच्चै उभिने अवसर पनि प्रशस्त छ । साँच्चै उभिने छन् त ?

प्रतिक्रिया दिनुहोस्