Logo
Logo

मुस्कानसहितको सेवाले लोभिए-छबु कार्की, सौन्दर्यविद्


- दृष्टि न्युज/संवाददाता


चिसो दिनदिनै बढ्दैछ । चिसोबाट जोगिन मानिसहरु अनेक उपाय खोजिरहेका हुन्छन् । विशेषगरी जाडो मौसममा चिसो हावा चल्ने गर्छ, जसले छालालाई प्रत्यक्ष असर गर्छ । चिसोबाट छालालाई कसरी जोगाउने त ? ब्युटिसियन तथा सौन्दर्यविद छबु कार्की बस्नेत भन्छिन्, ‘छाला धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, मोइस्चराइजर लगाउने गर्नुपर्छ ।’ एक दशकदेखि सौन्दर्य पेसामा संलग्न कार्की एक कुसल सौन्दर्यविद् पनि हुन् । उनी सौन्दर्यसम्बन्धी सल्लाह–सुझाव दिन्छिन् । उनी भन्छिन्, ‘थाईराइडका बिरामी, भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ, त्यस्ता छाला भएका व्यक्तिले जाडो मौसममा अति ख्याल गर्नुपर्छ ।’ महिला र पुरुष दुवैका लागि सौन्दर्य सेवा दिँदै आएकी कार्की चलचित्र जगतमा ‘मेकअप आर्टिष्ट’को रुपमा चिनिन्छिन् । उनले थुप्रै चलचित्रमा शृँगारको काम गरेकी छन् भने उनको आफ्नै पार्लर छ । उनी सौन्दर्यकर्मी कार्कीसँग जम्काभेट :

मौसम निकै चिसो छ है ?

हो, निकै चिसो बढेको छ । तर, के गर्नु काम गर्नैपर्छ । यो चिसो मौसममा अझ हामी व्यस्त हुन्छौँ ।

अहिले सौन्दर्य ब्यवसायको अवस्था कस्तो छ ?

रामै्र छ । प्रतिस्पर्धात्मक बजार छ । सहरी क्षेत्रमा मात्र नभएर बिकटमा समेत ब्युटिपार्लरहरु खुलेका छन् । सौन्दर्य व्यवसायी मुलुकभर पुगिसकेको छ । यो ब्यवसायीप्रति आकर्षित हुनेहरु पनि थुप्रै छन् । आर्थिक पक्ष होस् वा रोजगारको दृष्टिकोणले यो ब्यवसायी एदकमै राम्रो छ ।

तपाइँको आफ्नै यहाँको व्यवसायीचाहिँ कस्तो छ ?

अहिले चिसो मौसम छ । त्यसैले छालाको ट्रिटमेन्ट गर्नेहरु बढी आउँछन् । भखैरै मंसिर सकिएको छ । मंसिर र माघ विवाहको सिजन हो, त्यो सिजनमा हामीलाई भ्याइनभ्याई हुन्छ । यो पुस महिनामा चाहिँ छालाको ट्रिटमेन्ट, मेडिकेयर, पेडीकेयर गर्नेहरु बढी आउँछन् ।

तपाइँ यो क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ ?

धेरै भयो । निरन्तर सौन्दर्य पेसामौ रहेको वर्ष हिसाब गर्दा ११/१२ वर्ष भयो होला । अहिले पनि यही पेसामा छु ।

सौन्दर्य पेसामा के देख्नुभयो र लाग्नुभयो ?

मलाई सानैदेखि ब्युटिसियन बन्ने रहर थियो । तर, त्यो बेला राम्री बनाउने क्षेत्र र पेसा भनेर मात्र बुझेकी थिएँ । पछि आएर यो पेसा अपनाउँदा आत्मनिर्भर पनि भइने रहेछ भन्ने बुझेँ । त्यसैले बौद्धको एक पार्लरमा ब्युटिसियन प्रशिक्षण लिएर ब्यवसायी अँगालेकी हुँ ।

यो पेसाप्रति आकर्षितचाहिँ कसरी हुनुभयो ?

म बिराटनगरमा हुर्के–बढेकी हुँ । बजारतिर पार्लर बिस्तारै खुल्ने क्रम जारी थियो । त्यतिबेलै महिला दिदी–बहिनीहरु सौन्दर्यप्रति जागरुक भइसकेका थिए । पार्लरमा दिदीहरुको मुस्कानसहितको सेवा देखेर म आकर्षित भएकी हुँ ।

तपाइँ त सौन्दर्यविद् पनि हुनुहुन्छ । यो जाडो मौसममा शरीर के कारण सुख्खा हुन्छ ?

जाडो सुरु भएको थाहा सबैभन्दा पहिला ओठले थाहा हुन्छ । जाडोमा ओठ सुख्खा हुने समस्या हुन्छ । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ, तब छालासम्बन्धी रोग बल्झिएर आउँछन । नेपालमा परिवर्तन भइरहने सिजनका कारण छालाका समस्या बढ्नु स्वभाविक हो । एउटा सिजनमा छाला एड्जस्ट हुन नपाउँदै अर्काे सिजन सुरु भइदिन्छ । जसले छालालाई सीधा असर गर्छ ।

कतिपयको जाडो र गर्मी दुवै मौसम छाला सुख्खा भएको पाइन्छ नि ?

हो, कसैको छाला जन्मजातै सुख्खा तथा कत्ला हुन्छ । यो एक प्रकारको रोग हो । विशेष गरी एलर्जी हुने व्यक्तिमा, दमको बिरामी, हर्मोनको समस्या, थाईराइडका बिरामी, भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ ।

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने ?

जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ । खानपानमा विशेष ध्यानदिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ । एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, मोइस्चराइजर लगाउने गर्नुपर्छ ।

आफ्नो पेसाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

काम जुनसुकै होस्, आफुले गरेको कामले अरु खुशी हुन्छन् भने त्यो नै सन्तुष्टि हो । यो व्यवसायमा लाग्नेहरु जागरिलो, सिर्जनशील र सहनशील हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्