Logo
Logo
टिप्पणी

प्रचण्डलाई अध्यक्षबाट हटाउन चाहन्छन् अनन्त

प्रचण्डले विश्वास नगर्दा कमजोर अनन्त, समानान्तर अभ्यासले बलियो प्रभाकर



काठमाडौं । कुनै समय प्रचण्डका अति निकट मानिएका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ नेकपा माओवादी केन्द्र भित्रको शक्ति संघर्षमा कमजोर हुँदै गएका छन् । कमजोर भएसँगै प्रचण्डलाई ‘थर्काउने, फकाउने र थर्काउने’ रणनीति अपनाउन थालेका छन् ।

आफ्ना गुटका नेता कार्यकर्ताको संरक्षण गर्न नसकेका कारण कमजोर हुँदै गएका अनन्त आजकल अध्यक्ष प्रचण्डको विश्वास पात्रको हैसियतमा छैनन् । पछिल्लो समय प्रचण्डले अनन्तलाई विगतजस्तो ‘स्पेस’ दिन छोडेका छन् । प्रचण्डले स्पेस दिन छोडेसँगै अनन्त प्रचण्डलाई ‘थर्काउने, फकाउने र थर्काउने’ रणनीतिअनुसार अघि बढेका हुन् ।

माओवादीमा अनन्तका मुख्य प्रतिस्पर्धी अर्का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ हुन् । पार्टीको महासचिव बन्ने सन्दर्भमा अनन्त र प्रभाकरबीचको प्रतिस्पर्धा स्पष्ट देखा पर्यो । र, सोही घटनाबाटै अनन्त अध्यक्ष प्रचण्डको लिस्टमा पर्न छोडेको स्पष्ट भयो ।

अनन्तलाई विगतमा अध्यक्ष प्रचण्डले अति महत्त्वपूर्ण जिम्मेवारी र अवसर दिने गरेका थिए । यदि, अहिले पनि प्रचण्डले विगतझैँ विश्वास गरेको भए यतिखेर अनन्त माओवादीको महासचिव जिम्मेवारीमा रहने थिए । तर, प्रचण्डले अनन्तलाई महासचिव बनाउन चाहेनन् । प्रभाकर त माओवादीका विद्रोही नै भैहाले ।

प्रचण्डले पत्याउन छोडेको अनन्तलाई राम्ररी हेक्का छ । सोही कारण अनन्त छटपटाइरहेका हुन् । र, मूल नेतृत्वलाई धम्काउन थालेका छन् । केही समय अगाडि एक अनलाइनलाई अन्तरवार्ता दिँदै अनन्तले ‘अब हुने विशेष महाधिवेशनले नेतृत्व टुंगो लगाउने’ भन्दै प्रचण्डलाई थर्काए ।

भर्खरै महाधिवेशन सम्पन्न गरेको माओवादीमा अहिलेकै अवस्थामा विशेष महाधिवेशनको सन्दर्भ उठेकै छैन । र, सामान्य आलोचना भए पनि मूल नेतृत्व परिवर्तनको सन्दर्भ कसैले उठाएका छैनन् । तर, अनन्तले भने विशेष महाधिवेशन गरेर प्रचण्डलाई नै जिम्मेवारीबाट पाखा लगाउने प्रकृतिको अभिव्यक्ति दिनुले राजनीतिक वृत्तमा प्रचण्ड–अनन्त सम्बन्ध स्पष्ट पारेको छ । त्यसमा पनि नेतृत्वप्रति अनन्तको योजना छर्लङ्ग भएको छ ।

जारी केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड ।

पछिल्लो पाँच वर्षमा अनन्त गुटका धेरै नेता कार्यकर्ता प्रभाकर गुटमा पुगिसकेका छन् । अघिल्लो र गत साल सम्पन्न निर्वाचनमा टिकट दिलाउने सन्दर्भमा भूमिका नखेलेपछि अनन्त गुटका धेरै नेता कार्यकर्ता रुष्ट थिए । त्यस यताका धेरै अवसरहरूमा अनन्त समूहका धेरै नेता कार्यकर्ता वञ्चित भएका थिए ।

अनन्तसँग असन्तुष्ट नेता कार्यकर्तालाई भने मुख्य प्रतिस्पर्धी जनार्दनले आफूतिर ल्याएर प्रदेश र संघको मन्त्रीसमेत बनाएका छन् । अहिले पनि संघीय सरकार र प्रदेश सरकारमा अनन्त हुँदै प्रभाकरसम्म पुगेको नेता मन्त्री छन् । तर, अनन्त गुटको अवस्था भने हरिबिजोग देखिन्छ ।

यसरी आन्तरिक शक्ति संघर्षमा कमजोर हुँदै गएका अनन्तलाई यतिखेर पार्टी अध्यक्षको साथ छैन । नेता कार्यकर्ता पनि नहुने र अध्यक्षले पनि वास्तै नगर्ने अवस्थामा पुगेपछि उनी आत्तिएका छन् । त्यसैले प्रचण्डलाई थर्काउन थालेका हुन् । उस्तै परे अनन्तले नसके पनि प्रचण्डलाई नेतृत्वबाट च्युत गराउनेसम्मको योजना बनाउन सक्ने विश्लेषण हुने गरेको छ ।

केही दिन अगाडि मात्र प्रचण्डलाई अध्यक्षबाट हटाउनुपर्ने आशयको अभिव्यक्ति दिएका अनन्तले जारी केन्द्रीय समिति बैठकमा भने नेतृत्वको रक्षा गर्न विगत र वर्तमानमा पनि उत्तिकै प्रतिबद्ध रहेको धारणा राखेका थिए । अनन्तले बैठकमा अध्यक्षको ‘रक्षाकवज’ अवतारमा आफूलाई प्रस्तुत गर्न खोजे पनि प्रचण्ड भने अनन्तप्रति सकारात्मक देखिन्न ।

प्रचण्डले पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीमा भित्र्याउने तयारी गरेका छन् । राजनीतिक अस्तित्व संकटमा रहेका विप्लव पनि माओवादी फर्केर महासचिव बन्न तयार भइसकेका छन् । विप्लव भित्रने भएपछि अनन्त र प्रभाकर दुवैमा बेचैनी बढेको छ । तर, बेचैनीको मात्रा अनन्तमा धेरै छ ।

माओवादीमा अनन्त कमजोर हुँदै जाँदा प्रभाकर भने झनै शक्तिशाली हुँदै गएका छन् । प्रभाकर माओवादीका एक्ला विद्रोही हुन् । जो, माओवादीमा संस्थापन इतरका सबै नेता कार्यकर्ताका नेता हुन् । अनन्तले त गुट नै बनाए पनि संस्थापन लाइनकालाई नै समेटेका थिए । त्यसरी अनन्त गुटमा रहेका अधिकांश त संस्थापन अर्थात् अध्यक्षकै लाइनका हुन् भने बाँकी प्रभाकर गुटमा पुगिसकेका छन् ।

प्रभाकरले देशभर गुटबाट माओवादीभित्र समानान्तर अभ्यास गरिरहेका छन् । प्रचण्डबाट राजनीतिक सुरक्षाको खतरा बढ्ने बित्तिकै प्रभाकरले जति पनि बेला गुटको फायर खोल्न सक्ने देखिन्छ । अघोषित रूपमा समानान्तर गतिविधि गरिरहेका प्रभाकर शक्तिशाली बन्दै गएका छन् । तर, अनन्त झन् झन् कमजोर हुँदै गएका छन् ।

अनन्तले अध्यक्षबाट लाइन पाउन छोडेको लामो समय भइसकेको छ । तर, पनि आफूलाई ‘प्रचण्डको अति निकट’ नेताको रूपमा देखाइरहेका थिए । बाहिर प्रचण्डको अति निकट नेताको रूपमा देखाए पनि प्रचण्डले भने अनन्तलाई त्यो घेराबाट धेरै पहिले नै निकालिसकेका थिए । अध्यक्ष नै फेर्नुपर्छ भन्ने आशयको अनन्त अन्तरवार्ता त्यसैको विस्फोट मानिएको छ ।

एक किसिमले माओवादीमा अनन्त अस्तित्व रक्षाको संघर्षमा छन् । तर, अब भने अनन्तलाई भनेजस्तो सहज छैन । अनन्तबाट भएको र हुने धोकाधारी नेता कार्यकर्ताले थाहा पाइसकेका कारण गुटलाई बलियो बनाउने सन्दर्भमा अनन्तलाई सहज नरहेको विश्लेषण हुने गरेको छ ।

लामो समय उपचारपछि नेपाल फर्केपछि अनन्तले सातै प्रदेशमा बाँकी रहेका आफ्ना गुटका शीर्ष नेताहरूलाई भेटेका थिए । गुटका नेताहरूले ‘कमरेड अब तपाईँबाट आशा गर्ने ठाउँ सकियो’ भन्ने निष्कर्ष सुनाएका थिए । त्यो भेटमा सहभागी कोशीका एक नेताले भने– ‘हामीले लामो समयदेखि अनन्त कमरेडलाई साथ दिँदै आएका थियौँ । तर, उहाँसँग आशा गर्ने ठाउँ सकियो । उहाँले नेता कार्यकर्ताको संरक्षण गर्न छोड्नुभयो । अब तपाईँबाट हुँदैन भनेका छौँ ।’

जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपमहासचिव अनन्त ।

शनिवार नेतृत्वको रक्षा गर्न कुनै कसर बाँकी नराखेको धारणा राखेका अनन्तले केन्द्रीय समिति बैठकमै उत्तराधिकारी निर्माणाबारे विधिको विकास गर्नुपर्ने विषय प्रवेश गराएका छन् । विधि विधान बन्नुपर्ने सन्दर्भ सकारात्मक लिइए पनि अनन्तले नै यो विषय किन उठाए भन्ने प्रश्नहरू छन् । त्यसमा उनको व्यक्तिगत स्वार्थ प्रधान मानिएको छ ।

अध्यक्ष र गुटको साथ पाएसम्म चाहेको जिम्मेवारी र अवसर पाएका अनन्तले अब त्यो परिस्थिति गुमाइसकेका छन् । कमजोर अवस्थामा नै हो विधि र विधानको कुरा उठ्ने । अनन्तको सवालमा यो विषय झनै मेल खान्छ । किनकि, आफूलाई सहज हुँदासम्म उनले नेतृत्व हस्तान्तरणको सन्दर्भ एक शब्द पनि बोलेका थिएनन् ।

यस अवधिमा अनन्तले अथाह अवसर लिइसकेका छन् । अनन्तको परिवारमा लाभको लर्को नै लागेको थियो । तर, अब भने बिस्तारै लाभको लर्को खस्कँदै गएको छ । श्रीमती ओनसरी काठमाडौं–२ बाट चुनाव हारे, अनन्त मन्त्री बन्न पाएनन् ।

ओनसरी घर्ती योगदान र क्षमताको आधारमा सक्षम नेता हुन् । र, ओनसरी जस्तै योगदान र क्षमता भएका महिला नेता माओवादीमा धेरै छन् । त्यसमा पनि रुकुम रोल्पामै पनि धेरै छन् । तर, ओनसरीले जस्तो अवसर भने कसैले पनि पाएका छैनन् ।

ओनसरीले क्षमताकै आधारमा अवसर पाएका हुन् भन्ने आधार रहेता पनि अनन्तको जोडबल एउटा इँटा पक्कै हो । त्यसैले उँचो कदका नेताहरू हुँदाहुँदै ओनसरीले सभामुख जस्तो महत्त्वपूर्ण जिम्मेवारी र अवसर पाए ।

अनन्त बारम्बार मन्त्री भए, श्रीमती ओनसरी मन्त्री हुँदै सभामुख भए । तर, वर्षमानको गुटमा रहेका धेरै नेताहरू भने सांसद हुनसम्म सहज परिस्थिति नबनेको अनन्त गुटकै नेताहरूको गुनासो छ ।

तर, अब भने अनन्तका लागि सहज छैन । अध्यक्षको आशीर्वाद र गुटको बल दुवै नहुँदा अनन्त अति कमजोर परिस्थितिमा पुगेका छन् । कमजोर अवस्थाबाट बलियो बन्न प्रचण्डलाई थर्काउने धम्काउने खेलमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्