Logo
Logo

सुन तस्करी प्रकरणका आन्तरिक-बाह्य डाइनामिक्स



नेपालमा एकपछि अर्को काण्ड पर्दाफास भइरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण किनारा नलाग्दै एक क्विन्टल सुन प्रकरण सतहमा देखिएको छ । यी दुई प्रकरणमध्ये पहिलो प्रकरणले नेपालको राज्य संयन्त्र नै मानव बेचबिखनमा साझेदार रहेको देखिएको छ भने, दोस्रो प्रकरणमा राज्य नै सुन तस्करीमा संलग्न रहेको आशंका बलबान हँुदैछ । यही बीचमा ललिता निवास प्रकरण पनि बल्झिएको छ । र, अरू पनि दबाइएका यस्ता प्रकरणहरू उजागर हुन पाइप लाइनमा छन् ।

पछिल्ला यी तीन प्रकरणले देशको अन्तर्राष्ट्रिय छवि नै गम्भीर दुर्घटनामा परेको छ । नेपाल र नेपालीलाई हेर्ने आँखा तिल्मिलाएका छन् । मन अमिलो भएको छ । मस्तिष्कमा आशंका उब्जेको छ । आखिर नेपाल र नेपालीलाई के भइरहेको छ ? के नेपाल चरम वैश्ययुगको शिकार भइसकेको हो ? के नेपालीका लागि पैसाभन्दा पर पनि जीवन हुन्छ भन्ने कुरामाथिको विश्वास नै उठिसकेको हो ? उनीहरूका मनमा उठेका अनगिन्ती प्रश्नहरू अहिले फालिम लागेर उभिएका छन् ।

तिनै प्रश्नको फालिममा एक क्विन्टल सुन प्रकरण अहिले प्रश्नहरुको पनि प्रश्न बनेर उभिएको छ । यसो हुनुका अनेक कारण छन्, त्यसमा पनि मूल कारणचाहिँ यसको साइनो सरकार प्रमुख रहेको माओवादी पार्टीकै शिखर नेतृत्वतिर गाँसिनु नै हो ।

यस प्रकरणमा तानिएका विवादास्पद तिब्वती मूलका नेपाली तथा बेल्जियन नागरिक दावा केन्द्रीय पात्रका रूपमा देखिएका छन् । र, उनको माओवादी नेता वर्षमान पुनसँग नजिकको पारिवारिक साइनो र उठबसले सुनसँग पुन जोडिन आइपुगेका छन् । यही गठजोडले भने सुन प्रकरण अरू पेचिलो बनेको छ ।

सुनसँग पुन जोडिएलगत्तै यो प्रकरण रातारात प्रधानमन्त्री मातहतमा रहेको राजस्व अनुसन्धान विभागबाट नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरोमा सरेको छ । यस क्रममा पक्राउ परेका १७ आरोपितसहित हालसम्म खुलेका तथ्य, प्रमाणको फेहरिस्तसहितको प्रतिवेदन पनि विभागले प्रहरीलाई हस्तान्तरण गरेको छ ।

योसँगै अब यो प्रकरण भन्सार छली र तस्करीको विषय मात्र रहेन, संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादको मुद्दा पनि बनेको छ । तर, एक किसिमको कसुरको कोणबाट अर्कौ किसिमको कसुरको कोणमा बीचैमा सारिएको यो मुद्दा अनुसन्धानको कोणबाट भने नराम्ररी बिटुलिएको छ । यसले गर्दा यो मुद्दाको निष्पक्ष अनुसन्धान र त्यसलाई तार्किक निष्कर्षमा पुर्याउने कुरामा अनेकौ आशंकाहरू जन्मिएका छन् ।

माओवादी पार्टीमा एकछत्र हालीमुहाली गरिरहेका प्रधानमन्त्री प्रचण्डसँग पनि कतिपय विषयमा कुम जुधाउँदै आएका नारायणकाजी श्रेष्ठ अहिले उपप्रधानमन्त्रीसहित गृहमन्त्री छन् । र, पछिल्लो समय आफू मातहतको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिचालन गरेर भ्रष्टाचारविरूद्ध निर्मम अभियान चलाइरहेका छन् । यो अभियानको लोकप्रियताले प्रचण्ड सरकार र माओवादी पार्टीको लाज छोप्ने टालोको काम गर्दै आएको छ ।

तर, सुनमा पुन जोडिएपछि माओवादी पार्टीभित्रको आन्तरिक राजनीतिको डाइनामिक्स पनि यो प्रकरणमा मिसिन आइपुगेको छ । यसअघि नै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल सुन प्रकरणमै जोडिएर अप्ठ्यारोमा परेको माओवादी पार्टीलाई सुनले नै फेरि थप अप्ठ्यारोमा पारेको छ । यो अप्ठ्यारोले कतै सुन प्रकरण बिचैमा फासफुस हुने त हैन भन्ने आंशकाको बादल पनि गाढा हुँदैछ ।

यसो त सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कन्पारो पनि दुखेको छ । आफ्ना अध्यक्ष ‘बा’को कन्पारो सोझ्याउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन र सडक दुबै तताएको छ । सदनमा एमालेका सांसदहरू संसद नै अवरूद्ध गरिरहेका छन् भने सदनमा युवा संघ र अनेरास्ववियु राँकेजुलुस निकालिरहेका छन् ।

एकातिर प्रमुख प्रतिपक्ष एमाले उच्चस्तरीय छानबिन समितिको नाममा आन्दोलित छ भने, अर्कोतिर सत्ता गठबन्धन त्यसमा पनि प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी नेपाल प्रहरीबाटै यस प्रकरणको छानबिन गरी तात्विक निस्कर्षमा पुर्याउने योजनामा दृढ छन् ।

सत्ता गठबन्धनका अन्य दल पनि प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादीकै लाइनमा फालिम लागेका छन् । यस प्रकरणमा प्रतिपक्षमा रहेको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि बोलीमा लोली मिसिएको छ । तर, सत्ताको सबैभन्दा ठूलो साझेदार नेपाली कांग्रेसभित्रको अल्पमत पक्षका केही नेताले भने उच्चस्तरीय छानबिन समिति गठनको माग उठाइरहेका छन् ।

यसरी सत्तापक्ष र प्रतिपक्ष आमनेसामने भइरहेको सुन प्रकरणले वर्तमान नेपाली सत्ताका तीन शीर्ष खेलाडी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि एकपटक बालुवाटारमा भेट गराएको छ । अरू बेला प्रचण्ड र देउवालाई धारेहात लगाउँदै सत्तोसराप गर्ने ओली आफूलाई अफ्ठ्यारो पर्दा देउवालाई पनि बोलाउन लगाएर बालुवाटार पुग्ने गरेका छन् । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीमा पहिरो जान थालेपछि ओली बालुवाटार पुगेका थिए । सुन प्रकरणमा पनि उनी बालुवाटार पुगेका छन् ।

आखिर किन पुगे त ओली बालुवाटार ? यस प्रश्नले नेपाली राजनीतिको शंकाको घेरा बढाएको छ । अनुमान गर्नेहरू त केसम्म भनिरहेका छन् भने कुनै बेलाका नामुद् सुन तस्करहरुसँगको आफ्नो तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि ओली बालुवाटार पुग्न बाध्य भएका हुन् ।

यही मेसोमा के पनि भन्न थालिएको छ भने सुन प्रकरणमा एमालेनिकट व्यापारी तानिने भएकाले नै उच्चस्तरीय छानबिन समितिको माग उठाइएको हो । स्मरणीय रहोस्, नेपालमा छानबिन समितिका नाममा कतिपय जल्दाबल्दा विषयलाई विषयान्तर गर्ने वा फाजिलमा हाल्ने काम गरिदै आइएका थुप्रै दृष्टान्त छन् । एमालेको पछिल्लो रोइलो पनि त्यसैको पछिको श्रृंखला नहोला भन्न सकिन्न ।

नेपाली समाजमा सुनको महत्व अपरम्पार छ । त्यसैले नेपालमा उत्पादन नहुने यो पहेलो धातुलाई नेपालमा भित्र्याउन सुरूदेखि नै अनेकौ वैद्य, अवैध तौरतरिका अपनाइँदै आइएको छ । नेपालमा सुन आयातको परिधि नेपालको सिमाभित्र मात्र सिमीत छैन, भारतसम्मै फैलिएको छ । यो एक खुला रहस्य हो कि नेपालमा आयात हुने सुनको ठूलो मात्रा नेपाल(भारत खुला सीमा हुँदै भारततिर पैठारी हुन्छ । अझ यस भनौ, तेस्रो मुलुकबाट नेपाल भित्राइने सुनको ठूलो मात्रा भारततिर तस्करी हुन्छ ।

यो तस्करीमा मुलतः भारतका ठूला दुई नम्बरी सुन व्यापारीहरूकै लगानी हुन्छ । त्यसका लागि भारतीय मुलका नेपाली ब्यापारीहरूले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका छन् । पछिल्लो एक क्विन्टल सुन प्रकरणमा जोडिएका राकेश अदुकिया पनि भारतीय मूलकै ब्यापारी हुन् ।

नेपाल हुँदै भारतमा तस्करी हुने सुनमा चिनियाँ पक्ष पनि संलग्न रहँदै आएको पाइन्छ । भारत र चीन राजनीतिक रूपमा दुश्मनी गरिरहेका भए पनि तस्करहरूको कुनै राष्ट्रियता नहुने भएकाले उनीहरू यसमा सहकार्य नै गरिरहेका छन् । उनीहरूको मूल धर्म भनेकै पैसा हो, पैसा कमाउनका लागि उनीहरू जे गर्न पनि तयार हुन्छन्, राष्ट्रियता त उनीहरूका लागि ज्यादै गौढ विषय हो ।

नेपालमा हुने सुन तस्करीमा चिनियाँहरूको संलग्नता पैठारीकर्ताका रूपमा रहेको छ भने भारतीयहरूको संलग्नता आयातकर्ताका रूपमा । त्यसैले चीनका लागि यो समस्याको विषय नभए पनि भारतका लागि भने सुरूदेखि नै यो टाउको दुखाइको विषय बन्दै आएको छ ।

भारत नेपालबाट हुने सुन तस्करी बन्द भएको मात्र हैन, यसको समुल नष्ट भएकै देख्न चाहन्छ । त्यसैले भारतीय पक्षले नेपालसँग उठाउने एउटा स्थायी एजेण्डा नेपालबाट हुने सुन तस्करी रोक्नेसँग सम्बन्धित हुने गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणको बेला पनि भारतीय समकक्षी नरेन्द्र मोदीले यो विषयमा मुखै खोलेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यथाशक्य प्रयास गर्ने बचन दिएका थिए । एक क्विन्टल सुन प्रकरणमा वर्तमान सरकारले खुट्टा नकमाउनुको मूल कारण पनि त्यही बचन पूरा गर्ने विषयसँग सम्बन्धित छ भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् ।

अब कसरी छिनोफानो होला त क्विन्टल सुन प्रकरणको ? नेपाली जनजनमा यो प्रश्नले ठाउँ पाएको छ । धेरैले यसमा उच्च राजनीतिक संलग्नता रहेको आशंका गरेका छन् । र, त्यो आशंकाको सुइरो प्रधानमन्त्री प्रचण्डकै दल नेकपा माओवादीतिर तेर्सिएको छ ।

यो पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्ड र माओवादीका लागि यो विषय नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहारजस्तो भएको छ । दूधको दूध पानीको पानी छुट्याउने गरी अनुसन्धान गरेर अगाडि बढाउँदा आफ्नै पार्टीका ठूला नेता जेल जाने, अगाडि नबढाउँदा सुन तस्करीको आशंकाको घेरामा परेर पार्टीको बचेखुचेको शाख पनि सखाप हुने ।

यसरी अप्ठ्यारोमा परे पनि प्रधानमन्त्री प्रचण्डलाई क्विन्टल सुन प्रकरणलाई कुनै पनि हालतमा अगाडि नबढाइ धरै छैन । यो उनको राजनीतिको अन्तिम इनिङकै जीवन मरणको प्रश्न बनेर ठिङ्ग अगाडि उभिएको छ । यस विषयलाई लिएर घरदेशमा सामाजिक अडिट ज्याद्रो बन्दै गएको छ भने परदेशमा नेपालको गिर्दो छविलाई उजागर गर्नुपर्ने दबाब पनि बढ्दो छ ।

दुवै कोणबाट बढाइएयो यो तीव्र दबाबमा परेका प्रचण्ड तत्कालका लागि यो प्रकरणलाई अगाडि बढाउने मनस्थितिमै देखिन्छन् । तर, सत्ताका लागि जे पनि गर्न बदनाम उनले आफ्नो कुर्सी अप्ठ्यारोमा प¥यो भने लत्तो छोडिहाल्छन् ।

तर, यसपटक उनलाई त्यो छुट मिल्ला जस्तो देखिँदैन । यसको मूल कारण बढ्दो भारतीय दबाब नै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यस प्रकरणलाई छिनोफानो गर्न दबाब बढाएका छन् । उनले केही दिनअघि प्रधानमन्त्री प्रचण्डलाई फोन नै गरेर यस विषयमा खुट्टा नकमाउन आग्रह गरेका थिए । मोदीको साथ र समर्थनबिना नेपालको सत्तामा टिक्न सहज नहुने चुरो कुरो बुझेका प्रधानमन्त्री प्रचण्ड भारतीय डाइनामिक्सका कारण पनि क्विन्टल सुन प्रकरणमा पछाडि हट्न नसक्ने परिस्थिति सिर्जना भएको छ ।

यही कारण हुनसक्छ, प्रचण्डले यो विषय पार्टी वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै जिम्मा लगाइदिएका छन् । आफू मातहतको राजश्व अनुसन्धान विभागबाट गृहमन्त्री श्रेष्ठ मातहतको नेपाल प्रहरीमा यो विषय सार्नुको एउटा कारण यो पनि हो । पार्टीभित्रको आन्तरिक डाइनामिक्समा खेलेर नै सधैँ सुप्रिमो रहँदै आएका प्रचण्ड सुनमा जोडिएका पुनसँग जोरी खोज्न चाहँदैनन् । त्यसका लागि उपयुक्त पात्र देखेर नै बीचैमा क्विन्टल सुन प्रकरणको फाँटबारी श्रेष्ठमा सारिएको हो ।

क्विन्टल सुन प्रकरण अब नेपालको मात्र विषय रहेन, अब यो त भारत र चीनसम्मको नेक्सस भएको कम्तीमा पनि तीन देशसँग सम्बन्धित विषय बन्यो । त्यसैले यसको जतिसक्दो चाँडो छिनोफानो गर्न सक्यो, त्यसबाट नेपालको छवि त उजेलिने छ नै, बाँकी दुई पक्षको पनि हित हुने छ ।

प्रतिक्रिया दिनुहोस्