
काठमाडौं । सम्झौताअनुसार ठेक्का बापतको रकम नबुझाएको भन्दै पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरको ‘वनकाली पार्किङ’ ठेक्का रद्द गरेको छ ।
बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको विकास कोषको बैठकले पार्किङ ठेक्का रद्द गरेको हो । पशुपति क्षेत्र विकास कोष अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्त्व इन्भेस्टमेन्ट एन्ड सर्भिस प्रा.लि ठेक्कामा लिएको थियो ।
सम्झौताअनुसार तत्त्वले पार्किङ सञ्चालन गरे बापत कोषलाई मासिक ४ लाख ८३ हजार ३३ रुपैयाँ रकम बुझाउनु पर्ने थियो । तर, निरन्तर पार्किङ सञ्चालनमा रहे पनि लामो समयदेखि तत्त्वले मासिक भाडा बक्यौता राखेका कारण कारबाही गरिएको हो ।
ठेक्का सम्झौताअनुसार तत्त्वले नगरेको निष्कर्षमा पुगेको कोषले एक महिनाभित्र बक्यौता उठाउँदै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्त्व इन्भेस्टमेन्ट एन्ड सर्भिस प्रा.लि.को बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय गरेको छ ।
ठेक्का सम्झौताको सर्त नम्बर ६ मा ‘बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ । तोकिएको समयमा भाडा नबुझाएमा सम्झौता रद्द गरी धरौट रकमसमेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ’ भन्ने उल्लेख छ ।
कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मितिसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार १ सय ११९ देखिएको ।














