Logo
Logo

अगणित सुखद् सम्भावना बोकेको देश नेपाल



नेपालको राजनीति भद्रगोल स्थितिमा पुगेको छ । यही राजनीतिक स्थितिका कारण देशको अवस्था डाँवाडोल हुँदैछ । देशको संविधान र निर्वाचन प्रणाली मिश्रित छ । कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । त्यस्तो अवस्थामा वैचारिक आधारमा गठबन्धन बन्नुपर्ने हो, त्यस्तो संस्कारको विकास र सम्भावना पनि टाढिदैछ ।

देशका ठूला दलहरूको नेतृत्व पूरै असफल भएको छ । दलमा नीति निम्सरो भएको छ । ल्याकत नभएका र नियत खराब भएको नेतृत्वले आआफ्ना दल कब्जा गरेका छन् । प्राविधिक बहुमत जुटाएर एकलौटी गर्दा दलको आन्तरिक लोकतन्त्र नै मुर्छा परेको छ ।

देशको ऐठन लाग्ने यो राजनीतिका कारण जनता विरक्तिएका छन् । उनीहरूमा बढ्दो चरम, कुण्ठा, निराशा र हतासाले नयाँ, स्वतन्त्र र निर्दलीय विकल्पको खोजी गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । तर, मुलुकको संविधान, राजनीतिक पद्धति र संयन्त्र बहुदलीय र गणतन्त्रको फ्रेममा भएकाले त्यस्तो उल्टो खोजी टाउको दुखेको दबाइ नाइटामा लगाई जस्तो अवस्थामा छ ।

देशको मूल एजेण्डा नै युवा पाखुरी विदेश पठाएर तिनीहरूले पठाएको रेमिट्यान्सले देश चलाउने भन्ने छ । यसले गर्दा देशको उर्वरभूमी बाँझो हुदैछ । पहाड त लगभग बाँझो नै भैसक्यो भने पनि हुन्छ । खासगरी पहाडका गाउँमा खेताला, गोठाला, जन्ती र मलामी नपाउने स्थिति सिर्जना भैसकेको छ । तन्नेरीहरू विदेशीदा उनीहरूले छोडेका जवान श्रीमतीहरूमा उत्पन्न विभिन्न किसिमका मानवीय एवं जैविक चाहना सम्बोधन हुन नसक्दा सामाजिक विचलन बढ्दो छ ।

देशको अर्थतन्त्रका सारा सूचांकहरू नकारात्मक मोडमा पुगेका छन् । सरकारसँग पर्याप्त मात्रामा तलव र पेन्सन खुवाउने पैसा पनि नभएको निराशलाग्दो समाचार बाहिरिएको छ । भ्रष्टाचार संस्थागत भएको छ । राजनीतिमा अपराधिकरण अनिवार्यजस्तै छ । सुशासन त धेरै टाढाको कुरा जनताले राज्यबाट पाउँनुपर्ने न्युनतम शासन पनि पाएका छैनन् ।

केही समययता नेपालमा केही पनि हुँदैन, यहाँ भविष्य छैन भन्ने खालको एकहोरो रटान लगाउँदा यसले एजेण्डा सेटिङको काम गरेको छ । र, मानिसहरू यो वा त्यो वहानामा देश छोड्न हतार गरिरहेका छन् । कुनै पनि देशमा विद्यार्थी, कामदार, बुहारी, ज्वाईँ, धर्मपुत्र धर्मपुत्री जे जे भएर जान पाइन्छ, त्यही त्यही भएर जाने नेपालीको संख्या बढ्दो छ । यसले गर्दा मानव बेचबिखन र ओसारपसार पनि फलिफापको व्यवसाय भएको छ ।

अमेरिका, क्यानडा र युरोपेली मुलुकमा नेपाली शरणार्थीको संख्या बढ्दो छ । शरणार्थी हुँदै स्थायी बासिन्दा हुने र नागरिक हुने क्रम ह्वात्तै बढेको छ । गत वर्ष अमेरिकाको नागरिकता लिने नेपालीको संख्या मात्र पाँचहजार माथि रहेको थियो ।

यही क्रममा नेपालका कर्पोरेट मिडियाका ठूला एजेण्डा सेटरहरूले ‘कोही किन देशमा बसोस् ?’ भन्ने पे–अफ लाइनमा बुद्धिबिलास सुरू गरेका छन् । एक किसिमको जन्ती जर्नालिज्मकै आकार लिएको यो एजेण्डा सेटिङले थप निशराशाको खेती गरेको छ । यसबाट प्रत्यक्ष÷ अप्रत्यक्ष रूपमा देश छोड्नुपर्ने रहेछ भन्ने खालको सन्देश ग्लोरिफाइ भैरहेको छ ।

देशको राजनीति मात्र बिथोलिएको हैन, कर्मचारीतन्त्र पूरै बिचौलियाको हातमा पुगेको छ । न्यायालय विकाउ भएको छ । न्यायामूर्तिहरू बिचौलिया र ठूला कालाकोटेको सेटिङमा चलेका छन् । अपवाद बाहेक या त उनीहरू न्याय दिइरहेका छैनन्, या त सेटिङमा निर्णय नै नदिएर अन्याय गरिरहेका छन् । प्रहरीमा पुरै राजनीति हाबी हुँदा यसले शान्ति सुरक्षा दिन्छ भन्ने विश्वास नै उठेको छ । सेना कसरी आफ्नो जम्बो साइजको ओचित्य पुष्टी गर्ने भन्नेतिर लागेको छ । त्यसका लागि ठेक्कापट्टामा भिड्नु उसका लागि एक किसिमको बाध्यता बनेको छ ।

नागरिक समाज पश्चिमाहरूको खेताला भएको छ । यो वा त्यो नाममा उसकै एजेण्डाको बन्सो छर्ने, उमार्ने, गोडमेल गर्ने र फलाउने काममा व्यस्त छ । यो सबै ‘ओपन–सिक्रेट’ हुँदा नेपालको नागरिक समाज इतिहासमै सबैभन्दा बढी अविश्वसनिय हुन पुगेको छ । परिणामतः सोसल अडिट नहुँदा राज्य असनको साँढेजस्तो भएको छ ।

यो अराजक स्थितिमा मौलाउने भनेको समानान्तर अर्थतन्त्र नै हो । त्यो मौलाएर यस्तो खवस्था सिर्जना भएको छ कि अर्वौ रूपैया राष्ट्र बैकको लेखाजोखाबाटै बाहिरिएर गाडधन भएको छ । हुण्डी, क्रिप्टो, क्यासिनोको समानान्तर बैंकिङ चलेको छ । परिणामतः नेपाल प्रोक्सी उद्योग, व्यवसायको धन्दा चलाएर रातारात धनी हुनेहरूका लागि स्वर्गभूमी भएको छ ।

प्रस्तुत पृष्ठभूमिमा नेपाल बनाना रिपब्लिक हुने दिशामा द्रुततर गतिमा अगाडि बढिरहेको छ । यो गति बढ्दै जाँदा अन्ततः नेपाल असफल राष्ट्र हुने हो ।

देशलाई यो परिस्थितिमा पुर्याउन सबै जिम्मेवार छन् । फरक मात्राको मात्र हो । जोसँग ठूलो अधिकार र कार्यक्षेत्र थियो, उनीहरूले धेरै बिगारे, जोसँग कम थियो कम नै बिगारे । जोसँग अधिकार नै थिएन भनिन्छ नि जनता, उनीहरूसँग त झन ठूलो अधिकार थियो मतदानको । उनीहरुले पनि खराव दल र नेतालाई एकपटक हैन, पटकपटक चुनेर बिगारे । तर, दुर्भाग्य कोही पनि आफूलाई जिम्मेवार ठान्दैन । बाध्य भएर ठानीहाले पनि अरूलाई धेरै जिम्मेवार र आफूलाई कम जिम्मेवार ठान्छ ।

देशको मूल नीति राजनीति हो । त्यसैले यो परिस्थिति निर्माणका लागि सबैभन्दा बढी जिम्मेवार कोही छ भने देशको राजनीति नै छ । मूलतः राजनीतिका दुई भाग हुन्छन्, राजनीतिक दल र तिनीहरूका नेता । त्यसैले नेपाललाई बनाना रिपब्लिक बनाउन राजनीतिक दल र तिनीहरूका नेता नै जिम्मेवार छन् ।

त्यसमा पनि यो परिस्थिति निर्माण गर्न नेपालका कम्युनिष्टहरू सबैभन्दा बढी जिम्मेवार छन् । २०४६को ऐतिहासिक जनआन्दोलनपछि नेपालमा एकाध वर्षलाई छोडेर सधैभरी यो वा त्यो नामका कम्युनिष्ट पार्टी र तिनीहरूका नेताले सत्ताको बागडोर सम्हाल्दैआएका छन् । यस अविधमा अहिलेसम्म जिवित सरकार प्रमुख भनेका कम्युनिष्ट इतरका तीनजना शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र खिलराज रेग्मी मात्रै हुन् ।

यी तीनजना सरकार प्रमुख पनि कम्युनिष्टहरूको सहकार्यमै बनेका हुन् । अपवादमा रहेका शेरबहादुरले एकपटक राजाको कृपामा र एकपटक एकमना सरकारको नेतृत्व गरेका थिए । तर, कम्युनिष्ट प्रधानमन्त्रीको सूची बनाउने भने लामै छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’, के पी शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई । त्यसैले अहिलेको परिस्थिति सिर्जना गर्नमा मूलतः नेपालका कम्युनिष्ट पार्टी र तिनका नेता नै जिम्मेवार छन् ।

नेपालमा अझै पनि गरीवी, पछौटेपन, अशिक्षा र विभेद कायमै छ । जबसम्म यी सबै भएको असमान समाज रहन्छ, तबसम्म कम्युनिष्ट पार्टीको नाममा खेती रहन्छ, तिनका नेताहरूका लागि खुदो पल्टिन्छ । यस्तो समाजमा यी सबै हटाउने बाचाको सपना बिक्छ, अहिलेसम्म नेपालमा कम्युनिष्टहरूले बेचेको त्यही सपनाको फुको सातु नै हो ।

यसोभन्दा कसैका लागि अप्रिय होला तर, सत्य के हो भने नेपालका कम्युनिष्टहरूमा सत्ताको चरम आशक्ति देखिएको छ । सरकार चलाउने न्यूनतम योग्यतासमेत नभएको अवस्थामा यस किसिमको आशक्ति एक किसिमको चरम अवसरवादको भद्दा प्रदर्शन नै हो । यो वा त्यो नाममा सत्तामा जाने र त्यहाँ टिक्नका लागि सारा मूल्य, मान्यता, सिद्धान्तको तिलाञ्जली दिने एक किसिमको रोग नै लागेको छ कम्युनिष्ट नेताहरूलाई ।

यो रोगले ती कम्युनिष्ट नेताको व्यक्तित्व त लिलिपुट भएको छ नै, नेपालमा कम्युनिष्ट पार्टीको आयु पनि तीब्र गतिमा छोटिदै छ । अरूको कुरै नगरौ, अहिलेका तीन ठूला कम्युनिष्ट नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालमा यो चरम अवसरबाद यही मात्रामा रहने हो र व्यक्तित्वको स्खलन पनि यही गतिमा हुने हो भने २०८४ सालको निर्वाचनमा नेपालमा कम्युनिष्ट पार्टी कहिलै सत्तामा नफर्कने स्थितिमा पुग्नेछ ।

धेरै टाढा जानै पर्दैन, २०८४ कै चुनावमा कांग्रेस अन्तरपार्टी एकता मजबुत गरेर चुनाव लड्यो भने मात्र पनि एक्लाएक्लै चुनाव लड्ने अवस्थाका कम्युनिष्टहरूको बातो बसाउँछ । अझ अगाडि बढेर राप्रपा, रास्वपा, लोसपाजस्ता दक्षिणपन्थी शक्तिहरूको गठबन्धन बनायो भने कम्युनिष्टको दशा अर्कै हुन्छ । त्

यतिमा मात्र नअडेर, हिन्दूराष्ट्रसहितको संवैधानिक राजसंस्थाको नारा लिएर कम्युनिष्टविरूद्ध मोर्चाबन्दी नै गर्यो र कम्युनिष्टहरू एक्लाएक्लै चुनावमा गए भने त उनीहरूको सिलासाङ्लो नै खोज्नुपर्ने हुन्छ । मुलुकमा विकसित हुँदै गएको पछिल्लो स्थिति र भारतमा चलेको राजनीतिक हावा हेर्दा माथिका कुनै पनि सम्भावना यथार्थमा परिणत नहोलान् भन्न पनि सकिन्न ।

अहिले देशमा एमालेविरोधी र एमालेसमर्थक गरी दुईथरि कित्ताकाँट छ । यो कुनै वैचारिक धरातलमा आधारित छैन । ओलीको चरम तानाशाहीबाट उत्पन्न अस्थिरता र संविधानलाई जोगाउन सुरू भएको यो उल्टो कित्ताकाँट हो । अझै पनि यो कायमै छ र छिट्टै सुल्टिने छाँटकाँट पनि देखिदैन ।

यसलाई सुल्ट्याउन कम्युनिष्टहरूबीच वैचारिक गठबन्धन हुँदै पार्टी एकतासम्म पुग्नुपर्ने हुन्छ । तर, अझै पनि कम्युनिष्ट नेताहरूको शुद्धि फिरिसकेको छैन । त्यसमा पनि ओलीको सरफिरा प्रवृत्तिमा कुनै कमी आएको देखिँदैन । उनको निशानामा कमल थापाभन्दा पनि माधव नेपाल र राप्रपाभन्दा पनि नेकपा एकीकृत समाजवादी छ । नेपाल र एसलाई राजनीतिक रूपमा नामोनिशान बनाउन उनी जे गर्न पनि तयार छन् ।

उनको दोस्रो निशानामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा माओवादी केन्द्र छन् । कम्युनिष्ट नामका यी दुई पार्टीलाई छाँसियो भने एमाले नामको आफ्नो कम्युनिष्ट पार्टी मात्र सत्ताको वरिपरि हुन्छ भन्ने उनको भ्रम छ । तर, यसो गर्दा अन्ततः उनको पार्टी पनि सकिन्छ भन्ने चेत उनमा आउन सकेको छैन । आयो भने पनि नेपाल र प्रचण्डलाई सक्ने शर्तमा उनी एमाललेलाई सक्न पनि तयार हुन्छन् । यो ओलीको ज्याद्रो प्रवृति हो ।

सुरूमा नेकपा र त्यसपछि एमाले विभाजन भएपछि राजनीतिक रूपमा अत्यन्त खराब अवस्थामा पुगेका ओली अझै पनि चेतेका छैनन् । बीचमा माओवादीसँग सहकार्य गर्दा भएको फाइदा र टुट्दा भएको नोक्सानको परिघटनाबाट पनि उनले शिक्षा लिएका छैनन् । उनमा अझै पनि चरम भारत विरोधी राष्ट्रवादले सत्ताको बैतरणी तार्न सक्छ भन्ने अधिक विश्वास रहेको छ । तर, उनको यो म्याक्लोमेन चटक अब चल्नेवाला छैन ।

नेपालमा भारतलाई हेर्ने परम्परावादी चस्माको पावरमा आनका तान फरक आइसकेको छ । यो फरक पार्नमा नेपाली कम्युनिष्टहरूको चरम सत्तालिप्सा र अवसरवादको अहम् भूमिका छ । त्यो भूमिकामा खासगरी एमाले र ओली कसरी प्रस्तुत भए, नेपाली जनताले त्यो भावभङ्गी ऐनामा राम्रैसँग देखिसकेका छन् ।

नेपालका अर्का चटके कम्युनिष्ट नेता प्रचण्ड सत्ताका लागि चटक गर्दागर्दै आफैँले पार्टीको भविष्य खुम्च्याए । माओवादीसँग आन्दोलन, पार्टी, जनाधार, विश्वसनियता अब केही नै बाँकि छैन भने पनि हुन्छ । सत्तामा पुग्न र टिक्न भारतलाई रिझाउनुपर्ने अतिरिक्त प्रयासको जालोमा फसेका प्रचण्डले चीनसँग विश्वासको ठूलो खाडल बनाइसकेका छन् । उनका लागि बीआरआई पन्साउनै नसकिने काउसो बनिसकेको छ ।

उता, शान्ति प्रक्रिया नटुंगिँदा सम्भावित युद्धअपराधको स्याङगी टाउकोमाथि झुण्डिएर एमसीसी अर्को पासो भएको छ । यस्तो अवस्थामा अब माओवादी पार्टीले मात्र प्रचण्डको सत्ताको वैतरणी तार्ने सम्भावना छैन ।

रह्यो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एसको कुरा । अभागीलाई खाने बेलामा रिस उठ्छ भन्छन्, माधव नेपाल खाने बेलामा उठ्ने रिसैले सकिने भए । नेकपा एस पार्टी नबन्दै उनले यसलाई आफ्नो प्राइभेट कम्पनी बनाउन थालिसके । एमालेमा हुँदा विधिको कुरा गरेर नथाक्ने उनी अहिले सबैभन्दा बढी विधिमिचाहा देखिएका छन् ।

पछिल्लोपटक उनले पार्टीका सारा आधिकारिक संरचना छलेर जुन किसिमको एकलौटी निर्णय गरे, त्यसलाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नै कोर्तपर्व भनिदिए । पार्टी अध्यक्ष नेपालमा यस्तो सरफिरा वुद्धि केही समय कायमै रहने हो भने यो पार्टी छिट्टै दुर्घटनामा पर्ने निश्चितप्राय छ ।

एउटा कुरा के सत्य हो भने नेपालमा कम्युनिष्टहरूले आफूलाई आमूल रूपमा नसच्याउने हो भने नेपालको सत्ताले कम्युनिष्ट नदेख्ने दिन आउँन धेरै टाढा छैन ।

रह्यो कांग्रेसको कुरा, कांग्रेस कुनै परिवर्तनकामी संस्था नै हैन । वीपीको सपना, चारतारे झण्डा र रूख अनि कम्युनिष्टको विरोधमा बाँचेको कांग्रेस अब ती सबैको इतिहासबाट क्रमशः टाढा हुदैछ । तर, उसका लागि एउटा सुखद पक्ष छ । त्यो के हो भने कम्युनिष्ट सकिएपछिको खालि ठाउँ उस्कै हो ।

केही समययता केही मानिस भन्न थालेका छन्, नेपाल सकियो । के नेपाल सकिएकै हो त? के नेपाल बस्न नहुने देश भैसकेकै हो त? हो प्रश्न उठेका छन् । तर, त्यस्तो पटक्कै हैन । अझै पनि नेपाल अगणित सुखद् सम्भावना बोकेको देश हो । मूलसमस्या भनेको बाटो बिराएको नेपालको राजनीति र नेपालमा केही नै हुदैन भनेर बनाइएको संकथन हो । यी दुबै कुरा ठीक गर्न नसकिने हैनन् । ठीक गर्न सकिन्छन् तर त्यसका लागि सही प्रेस्कृप्सन र कार्यान्वयन चाहिन्छ ।

अहिलेका लागि नेपालको राजनीतिक कोर्स करेक्सन गर्ने एउटा अप्रिय र कठोर प्रेस्कृप्सन के हुन सक्छ भने कि त कम्युनिष्टहरूको चरम सत्तालिप्सा र अवसरबाद सकिनुपर्यो कित कम्युनिष्ट नै सकिनुपर्यो । त्यसपछि मात्र कोर्स करेक्सन भएर नेपालको राजनीति मूलबाटोमा आउँने छ । अनि, सुखद् सम्भावनाका ढोकाहरू आफैं खुल्दै जानेछन् ।

प्रतिक्रिया दिनुहोस्