Logo
Logo

प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्केपछि के होला ?



प्रधानमन्त्री प्रचण्ड यतिबेला चीनको साताव्यापी भ्रमणमा छन् । उनी प्रधानमन्त्री भएको करिब नौ महिनापछि र दक्षिणी छिमेक भारत भ्रमणमा गएको साढे तीन महिनापछि उत्तरी छिमेक चीन पुगेका हुन् । नेपालको प्रधानमन्त्रीको तहमा पाँच वर्षपछि भइरहेको यो भ्रमण प्रधानमन्त्री प्रचण्डको भने तेस्रो भ्रमण हो ।

नेपालको उत्तरी छिमेकी मुलुक चीनसँगको सम्बन्ध केही समययता एक किसिमको सन्देहमा छ । नेपालको सरकार सत्ता जोगाउन भारत र अमेरिकी कित्तामा गएर आफ्नो विपक्षमा उपयोग भइरहेको त छैन भन्ने चीनलाई लागेको छ । यही संशयका कारण चीन नेपालसँग त्यति खुशी देखिएको छैन र उसले पनि बीआरआईलगायतका प्रतिक्रियात्मक योजनाहरू अगाडि सारेर नेपाललाई टसमस गर्न नसक्ने अवस्थामा पुर्याइरहेको छ ।

अहिले नेपाल यही अप्ठ्यारो स्थितिमा छ । नेपाल भौगोलिक रूपमा अत्यन्तै रणनीतिक महत्वको भूगोलमा आइपुगेको छ । श्वेत सर्वोच्चता खिइँदै गएर त्यसको ठाउँ लिन एसियाका दुई ठूला राष्ट्र भारत र चीन तँछाडमछाड गरिरहेका छन् ।

यो छिनाझम्टीमा तुलनात्मक रूपमा कमजोर देखिएको भारतलाई अमेरिकी धाप मिलेको छ । चीनलाई साइजमा ल्याउन भारतलाई धाप दिनु अमेरिकाको बाध्यता बनेको छ । यसरी विश्व शक्ति समीकरण पेचिलो बन्दै गएको यतिबेला भौगोलिक रूपमा चीन र भारतबीच भूपरिवेष्ठित अवस्थितिमा रहेको नेपाल एक किसिमको फरक खाले ‘बफर जोन’मा धकेलिएको छ ।

एकातिर भारत–अमेरिकाका क्रियात्मक स्वार्थ छन् भने अर्कोतिर चीनका प्रतिक्रियात्मक स्वार्थ छन् । नेपालको राजनीतिक फेरि एकपटक चरम तरल अवस्थामा धकेलिएको छ । यो अस्थिरताले नेपाल राष्ट्रका रूपमा अत्यन्त कमजोर अवस्थामा पुगेको छ । आन्तरिक रूपमा अस्थिर र कमजोर भएको यो अवस्थालाई भारतले नजिकबाट हेरिरहेको छ । अमेरिकाबाट पनि नेपाललाई भारतकै आँखाबाट हेर्ने भएकाले उसले पनि नेपालको अवस्था छ्याङ्गै देखेको छ ।

नेपालको यो तरल अवस्थाबाट फाइदा उठाउँदै भारत–अमेरिकाले नेपालमा ठूलो दबाब बढाएका छन् । अवस्था यस्तो छ कि भारतले आफ्नो आशीर्वादबिना नेपालमा कोही पनि प्रधानमन्त्री नै नहुने अवस्था सिर्जना गरेको छ । यसका लागि अमेरिकाले पनि होस्टेमा हैँसे गरिदिँदा उसको सौदाबाजी तह उकासिएको हो । हुँदाहुँदा स्थिति यस्तो बनेको छ कि नेपालको सरकारले भारत र अमेरिकालाई खुशी पार्न अतिरिक्त सौदाबाजी गर्नुपर्ने स्थिति छ । भारतलाई जलशक्तिमा एकाधिकार दिने, अमेरिकालाई ढिलोचाँडो यो वा त्यो नाममा अमेरिकी सैनिक शिविर खडा गर्ने ठाउँ दिनुपर्ने बाध्यता बन्दैछ ।

भारत र अमेरिकालाई यी सबै नदिई नेपालमा सरकारमा पुग्न र टिक्न नसिक्ने अवस्था सिर्जना भएको छ । यसरी सत्तामा पुग्ने र टिक्नेले चीनको स्वार्थलाई सम्बोधन गर्न नसक्दा नेपाल–चीन सम्बन्धमा विश्वासको खाडल गहिरिदै गएको छ ।

यही क्रममा नजानिदो पाराले चीनले उत्तरी नाकामा कडाइ गरेर होस् वा नेपालका विकास आयोजनाबाट क्रमशः हात झिकेर होस्, आफ्नो बेखुशी देखाउन थालेको छ । यही क्रममा उसले रणनीतिक रूपमा बीआरआईको नयाँ विकास साझेदारी मोडल ल्याएर नेपाललाई अप्ठ्यारो पारिदिएको छ ।

नेपाललाई बीआरआईमा जान नदिन अमेरिका र भारत त लागेकै छन्, नेपालमा रहेका उनीहरूका पृष्ठपोषक दल र विचार निर्माता पनि न्वारानदेखिको बल लगाएर भिडिरहेका छन् । अहिले नेपालमा यस्तो बल निकाल्ने शक्तिको समर्थन बिना सरकार बन्न र टिक्न नसक्ने स्थिति भएकाले यो वा त्यो नामका कम्युनिष्ट पार्टीका प्रधानमन्त्री हुँदा पनि नेपालको सरकारले केही गर्न सकेको छैन, सक्दैन ।

नेपालका कम्युनिष्टको यही लाछिपनबाट आजित चीनले नेपालमा भरपर्दो राजनीतिक शक्तिको साथ पाउन सकेको छैन । नेपालका कम्युनिष्टलाई फुट्न नदिन र जुटाउन गरेको उसको प्रयास पनि विफल हुँदै आएको छ ।

प्रचण्ड अझै पनि नेपालमा माओवादी नामकै पार्टीका अध्यक्ष हुन् र निरन्तर शक्ति ह्रास हुँदा पनि आफ्नो औचित्य कायम गरिरहेकै छन् । यस्तो अवस्थामा नेपालको प्रधानमन्त्रीकै रूपमा प्रचण्ड फेरि एकपटक चीन पुगेका छन् । चीनले पनि उनको यो भ्रमणलाई विशेष महत्व दिएर नेपालसँग संशयमा परेको सम्बन्धलाई ट्रयाकमा ल्याउन चाहेजस्तो देखिएको छ ।

राष्ट्रपति सीले ह्वाङचउमै प्रचण्डलाई भेटेर नेपाल र चीनबीचको सम्बन्धको इतिहास र महत्व सम्झाएका मात्र छैनन्, अप्रत्यक्ष रूपमा बीआरआईमार्फत् नै अगाडि बढ्न दबाब बढाएका छन् । बेइजिङमा हुने चिनियाँ समकक्षीसँगको वार्ता र सहयोग सम्झौता पनि यही मार्गदर्शनमा हुने हुन् ।

जे भए पनि प्रधानमन्त्री प्रचण्ड चीनसँगको आफ्नो, पार्टीको र नेपालको सम्बन्धका तीन आयामका बारेमा जानकार छन् । र, माओको देश चीनसँग नेपालको माओवादी पार्टी र यसका अध्यक्षसमेत रहेका उनी आफ्नो वैचारिक सहगोत्रीसँग चुलिँदै गएको अविश्वासको खाडल पुर्न प्रयत्न गरिरहेका छन् ।

सँगसँगै, नेपालको प्रधानमन्त्रीका रूपमा नेपाल चीनबीचको विशेष सम्बन्धलाई पुरानै ट्रयाकमा ल्याउन पनि इमानदार प्रयास गरिरहेजस्तो देखिन्छ । भ्रमण जारी छ, अझै पनि समकक्षीसँग औपचारिक वार्ता, सहयोग र सहमतिमा हस्ताक्षर नभैसकेकाले यसै भन्न सकिने अवस्था छैन ।

उता प्रचण्ड चीनमै रहेका बेला नेपालमा भने उनले के के गर्ने हुन् भनेर संशयको सरगर्मी बढाइएको छ । खासगरी सबैभन्दा ठूलो सत्ता घटक कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेमा सबैभन्दा ठूलो संशय पैदा भएको देखिन्छ । कांग्रेसलाई प्रचण्डले चीनलाई खुशी पार्न भारत–अमेरिका खुशी नहुने केही तलमाथि गरिदेलान् कि भन्ने चिन्ता छ भने एमालेलाई त्यसो गरेर चीनसँग आफूभन्दा प्रचण्ड बढी नजिक होलान् कि भन्ने टाउको दुखाइ छ ।

नेपालको यो मनोदशालाई भारत र भारतीय आँखाबाट अमेरिकाले पनि सूक्ष्म रूपमा हेरिरहेका छन् । त्यसका लागि नयाँ दिल्लीमा मात्र हैन, काठमाडौंमा पनि खेतालाहरूको लामै लाम लागेको छ । उनीहरू कसरी प्रचण्ड भारत–अमेरिका स्वार्थविरूद्ध चीनतिर झुकेको भाष्य निर्माण गरेर उनलाई सत्ताच्युत गर्न चाहन्छन् । त्यो भाष्य उनीहरू प्रचण्डका लागि मात्र हैन, त्यसपछि आलोपालोमा कांग्रेस सभापति देउवाभन्दा अगाडि प्रधानमन्त्री हुने लाइनमा रहेका अर्का कम्युनिष्ट नेता नेकपा एस अध्यक्ष नेपालका लागि पनि निर्माण गर्न लाग्नेछन् ।

यदि उनीहरूले सानोभन्दा सानो पनि त्यस्तो ठाउँ पाएर भारत–अमेरिकालाई भड्काउन सके भने नेपालमा सरकार परिवर्तन हुन सक्छ । विगतमा पनि नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरू चीन भ्रमणबाट फर्केलगत्तै सत्ता छोड्न बाध्य भएका ज्युँदा जाग्दा दृष्टान्त छन् ।

प्रधानमन्त्री प्रचण्डले जे गरे पनि उनी फर्केलगत्तै नेपालको घरेलु राजनीति उनको निम्ति अनुकुल हुने देखिँदैन । सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकारमा पुग्न हतार छ । ऊ सरकारमा पुगेर बालकृष्ण खाँडलगायतका नेतालाई जेलमुक्त गर्न र डा. आरजु देउवा कुनै पनि बेला जेलमा जानसक्ने त्रास हटाउन चाहन्छ ।

कांग्रेसभित्रको संस्थापन र संस्थापनइतर दुबै प्रचण्ड सरकार हटाउने कुरामा एकगठ छन् । तर, त्यसपछि के ? कसको संख्याले सरकारमा टिक्ने? अहिलेको सत्ता गठबन्धनको अंकगणितबाहेक अर्को कुनै संख्याले कांग्रेसलाई सत्तारोहण गराउने हैन । त्यसका बारेमा कांग्रेसले राम्ररी हिसाबकिताब गरेजस्तो देखिँदैन ।

कांग्रेसको यो अतिरिक्त दुस्प्रयत्नले सत्तारूढ गठबन्धनभित्रै कलह सिर्जना हुनेछ । यसबाट प्रचण्ड पछाडि र देउवा अगाडि प्रधानमन्त्री हुने पालोमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रधानमन्त्री हुने सम्भावना कम बनाउँछ । तर, प्रचण्डले मिसन २०८४ को सहयात्री जोगाउन पनि उनको पक्षमा अडान लिए भने कांग्रेसको दैया चल्दैन ।

कांग्रेसका लागि उसको नेतृत्वको सरकार कुर्न जति कष्टप्रद छ, सत्तारूढ गठबन्धनका खासगरी कम्युनिष्ट घटकलाई कांग्रेस नेतृत्वको सरकारको बाँकी समय पर्खन पनि त्यत्तिकै कष्टसाध्य हुनेछ । २०८४ को चुनावमा अरू थुप्रै चुनावी मुद्दाले प्रवेश गर्दा पनि सत्ता राजनीति अरू पेचिलो बन्नेछ ।

प्रचण्डको चीन भ्रमणलाई एमाले अध्यक्ष ओलीले गिद्धले सिनो हेरेजस्तै आँखा गाडेर हेरिरहेका छन् । उनी यो भ्रमणलाई यो वा त्यो नाममा बदनाम गर्न, असफल बनाउन, कांग्रेसलाई चुक्ली लगाएर सत्ता गठबन्धन भत्काउनदेखि भारतलाई भड्काउनसम्म समय कुरेर बसेका छन् । उनी सारा तिकडम लगाएर यो भ्रमणलाई सत्तारूढ गठबन्धन भत्काउने मौकाका रूपमा प्रयोग गर्न चाहन्छन् ।

उनी जसरी पनि माधव नेपाललाई प्रधानमन्त्री हुन नदिन र प्रचण्डलाई छिटोभन्दा छिटो सत्ताबाट बाहिर ल्याउन भिड्नेछन् । यसका लागि उनले कांग्रेसलाई बाँकी अवधिका लागि प्रधानमन्त्रीमा समर्थन गर्न पनि सक्छन् । तर, ओली कति अविश्वसनीय छन् भन्ने कुरा सारा नेपाललाई थाहा छ । कांग्रेस सभापति देउवाले त पछिल्लोपटक पाएको ‘तीन बजेको’ धोका झलझली सम्झिरहेकै होलान् ।

ओलीको शक्ति नै अस्थिरता हो । उनी अस्थिरतामा खेल्ने एक लिच्चड खेलाडी हुन् । जति जति नेपालमा अस्थिर अवस्था सिर्जना हुन्छ, त्यति त्यति नै ओलीको झिँगेदाउ जाग्छ । सत्तारूढ गठबन्धन राम्ररी पाँच वर्ष चल्यो भने ओलीको कुनै दैया चल्दैन ।

यसपटक मात्र हैन अब कहिलै पनि उनका लागि सिंहदरवार ‘सम्झने पानी छम्कनेजस्तै’ हुन्छ । तर, देशमा राजनीतिक अस्थिरता पैदा भयो वा ओली त्यसो गर्न सक्षम भए भने उनको दिन फिर्छ ।

त्यसपछि उनले मुलुकलाई थप अस्थिरतामा धकेल्छन् । बहुमत दिँदा हुकुमी शासन चलाउने, नपाउँदा संसद् नै भंग गर्ने अनि अल्पमतमा हुँदा संसद् नै चल्न नदिने र चलिहाले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा हलो अड्काएर गोरू चुट्ने यो ओली प्रवृत्ति हो ।

उनको यही प्रवृत्तिका कारण संविधान आएको आठ वर्ष भैसक्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन । खासगरी सुरुदेखि नै संघीयता मन नपरेका ओली यो वा त्यो बहानामा संघीयता लागू हुन नदिन न्वारानदेखिको बल लगाउने र लागू नै नभई असफल भएको भन्ने भाष्य निर्माण गर्न लागिपरिरहेका छन् ।

समग्रमा बढ्दो सत्ता राजनीतिक अस्थिरतासँगै प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्केलगत्तै उनलाई सत्ताबाट हटाउन चौतर्फी आक्रमण हुनेछ । त्यसका लागि काठमाडौंमा मात्र हैन, नयाँदिल्लीमा समेत प्रयत्न गरिनेछ । त्यो प्रयत्नमा कम्युनिष्ट विरोधी त लाग्छन् नै, केपी ओलीजस्ता ’वयलगाडे’ कम्युनिष्ट पनि भिडेर लाग्नेछन् । यो प्रहारबाट प्रचण्ड बच्छन् कि बच्दैनन्, त्यो भने समयको ऐनामै हेर्नुपर्नेछ ।

कामना गरौँ, विगतमा जस्तो नेपालका प्रधानमन्त्रीको चीन भ्रमण प्रधानमन्त्री प्रचण्डका लागि ‘आयो निधुली तेरो कालजस्तो’ नहोस् । देशको कुटनीतिको पछिल्लो आन्तरिक तथा वाह्य डाइनामिक्सहरूप्रति सबै जिम्मेबार र सचेत हुन सकुन् । घरमा आगो लगाएर छिमेकी गुहार्दा उत्तरको छिमेकी गुहारे पनि दक्षिणको छिमेकी गुहारे पनि घर त आफ्नै स्वाहा हुने हो ।

प्रतिक्रिया दिनुहोस्