Logo
Logo

अनि मैले सुनको गहना नलगाउने बाचा गरेँ



जीवन हो, सधैँ एकनास हुँदैन । अनित्य छ सबै कुरा । दुःख, सुख, सम्बन्ध, मित्रता केही पनि सधँै उस्तै रहन सक्दैन । काठमाडौं मोडेल हस्पिटल बन्यो । बिरामीले सेवा पाउन थाले । धेरै वर्षपछि अलि–अलि पैसा पनि घर भित्रिन थाल्यो ।

काम, योगदान र योग्यताअनुसार पैसा आर्जन गर्न सक्नुपर्ने हो सबैले । तर पैसा कमाउने आशय कहिल्यै देखिन सरोजमा । तर उनीजस्तै मानिसले पनि पैसाको कुरामा अरूबाट ‘महादेवको तीन नेत्र’को सामना गर्नु पर्नेरहेछ । आफैँले तलब निर्धारण गर्नुपर्ने अवस्थामा साथीहरुको एकतामा चिरा नपरोस् भनेर सतर्क हुनै पर्याे । मैले बुझेकी थिएँ । भनेँ– ‘हामीले पाउनुसम्म दुःख पाइसक्यौँ । अब कति पो दुःख पाइएला र ! जीवन शान्तिसँग बितोस् । धेरै पैसा हुनेहरू पनि को पो खुसी छन् र !’

सरोज अस्पतालको एकजना संस्थापक मात्र थिएनन्, अवधारणा नै उनको थियो । त्यति मात्र नभएर आफैँ नै एक योग्य सर्जन पनि थिए । उनको मिशनमा सघाउन आएका साथीहरूको आफ्नै किसिमको योगदान थियो । तर उनीहरू न बिरामी हेर्थे, न अवधारणा निर्माणमा सघाउ पुर्याउँथे । “सरोज र हामी उस्तै त हौँ नि !” भनेर सोँच्थे । वास्तवमा ती साथीहरुको आर्थिक स्थिति सरोजकोभन्दा बलियो थियो ।

अन्य आयस्रोत थिए । सरोजको भने भर्खरै जन्माएको त्यो संस्थामा काम गर्नु बाहेक अन्य कुनै आयस्रोत थिएन । आफ्नै मानस–सन्तान भएकाले एक्लो सर्जन भएर पनि संस्थाको सारा काम उनै सम्हाल्थे र नजिकैबाट त्यो मेहनत, खटाई र दुःख देख्थेँ म । उनको थकाई पनि म महशुस गर्थेँ । आफ्ना बिरामीको पीडा उनी आत्मसात गर्थे र उनको दुःखलाई म आत्मसात गर्थेँ । गरीब बिरामीहरुलाई कसरी सेवा गर्थे सरोज भन्ने कुरा कसैले नसुनाए पनि मलाई थाहा थियो ।

एकदिन मलाई एक्कासी मनमा लाग्यो– शान्त जीवन बाँच्ने हो भने जीवनलाई अझै सरल बनाउनु पर्छ । घर व्यवहार चलाउन अझै मुश्किलै थियो । मैले मनमनै निर्णय गरेँ– म नचाहिँदो कुरामा खर्च गर्दिन र कहिल्यै गहना पनि लगाउँदिन भनेर । यसै पनि ‘डाक्टरकी श्रीमती’ भएर म कहिल्यै गहनाले झकिझकाउ भइन ।

एकदिन मलाई एक्कासी मनमा लाग्यो – शान्त जीवन बाँच्ने हो भने जीवनलाई अझै सरल बनाउनु पर्छ । घर व्यवहार चलाउन अझै मुश्किलै थियो । मैले मनमनै निर्णय गरेँ– म नचाहिँदो कुरामा खर्च गर्दिन र कहिल्यै गहना पनि लगाउँदिन भनेर । यसै पनि ‘डाक्टरकी श्रीमती’ भएर म कहिल्यै गहनाले झकिझकाउ भइन । हाम्रो त बिहे पनि अत्यन्त सरल ढङ्गले सम्पन्न भएको थियो ।

गहना गुरियाको त्यहाँ कुनै स्थान नै थिएन । त्यो मानसिकता नै कहिल्यै विकास भएन । यतिबेला बल्ल घरमा केही पैसा भित्रिन थालेको थियो । तर त्यो ‘बौद्धिक गिट्टी कुटाई’ को मेहनतले भित्रिन थालेको दुईचार पैसामा समेत नजिककै मान्छेहरुको वक्रदृष्टि परिरहेको थाहा थियो । मेरो लोग्नेले सेवा गरेका बिरामीको पैसाबाट आफूलाई सुनले सिङ्गार्न मेरो हृदयले मान्ने कुरै थिएन । यसो गर्ने मेरो नैतिक अधिकार पनि थिएन । मेरो ईच्छा त बरू आफै काम गरेर अगाडि बढ्ने थियो । लोग्नेकै पैसामा मात्र भर गर्ने मन कहिल्यै थिएन । दुईजनाले काम गरेपछि बच्चाहरुलाई पढाउन र घरखर्च कसो नपुग्ला भन्ने लाग्थ्यो ।

अनि एकदिन मैले साँच्चै नै निर्णय सुनाएँ– ‘कहिल्यै सुनको गहना लगाउँदिन’ भनेर । पहिले पनि केही थिएन । न माइती धनी थियो, न त घरमा सुनको हकदार बुहारी भएर भित्रिएकी थिएँ म । चीन जानेबेलासम्म मेरो शरीरमा कतै एक टुक्रा पनि सुन थिएन । चीन पुगेपछि त झन् कसैलाई देखाउनको निम्ति सुन लगाउनुपर्ने अवस्था नै रहेन । विवाहमा समेत औंठी नसाटेका हामीलाई सुनको रहर किन हुन्थ्यो र !

तै पनि चीनबाट घर फर्किने बेला हङकङमा कसरी कसरी एउटा सानो पातलो सिक्री किन्न पुगेछु । त्यही लगाएर घर फर्केकी थिएँ । केही समयसम्म त्यो मेरो गलामा झुण्डी नै रह्यो । ‘हिमाल’ खबर पत्रिकामा “म सुनको चुरा लगाउँदिन” शीर्षकमा मेरो एउटा लेख छापिएपछि आफ्नै वरिपरीको सानो वृत्तमा केही तरङ्ग पनि उठिरहेको थियो । तर त्यो सानो सुनको सिक्रीले भने अझै मेरो गला छोडेको थिएन ।

एकदिन सामाजिक काममै हिँडिरहेको बेला एकजना पत्रकार सामाजिक अभियन्तासँग भेट भयो । उनले सोधे– “तपाईँ उही सुलोचना होइन, ‘सुन लाउँदिन’ भनेर लेख्ने ?” मैले ‘हो’ भनेँ सहजरूपमा । उनले त मलाई कडै भाषामा भने, “तपाईँको लेखको सम्मान गर्दै हामीचाहिँ त्यो लेख गाउँ–गाउँमा महिला दिदीबहिनीहरुलाई पढ्न पठाउने, तपाईँ चैँ आफैँ सिक्री लगाउने… ?” यो सुन्दा मलाई साँच्चै लाज लाग्यो । म निरुत्तर भएँ । तर पनि तुरुन्तै त्यो सिक्रीलाई गलाबाट उतारी हाल्न भ्याएको थिएन ।

केही समयपछि सरोजले एउटा सम्मान पाए गरिब बिरामीको सेवा गरे वापत । बलराम जोशीको स्मृतिमा उनी अङ्गूरबाबा जोशीबाट सम्मानित भएको त्यो समारोहमा म पनि पुगेकी थिएँ । सरोज आफैँ बोल्ने पालो आयो । बोल्ने क्रममा उनले भने – “मैले सम्मान पाइरहेको छु, तर मलाई यहाँसम्म पुर्याउन दुःख गर्ने त मेरी श्रीमती र छोरीहरू हुन् । मेरी श्रीमती गहना लगाउँदिनन् ।

मेरा छोरीहरुको खेलौना खेलाउने र राम्रो लुगा जुत्ता लगाउने रहरलाई समेत मिचेर म अलि अलि च्यारिटी गर्न खोज्दैछु । सम्मानका अधिकारी उनीहरु हुन्, म हैन …” उनी भावुक भएर यसो भनिरहँदा चिन्नेले मतिर फर्केर हेरे । म लाजले कहाँ लुकुँ कता लुकुँ भएँ । मेरो घाँटीमा त्यो सानो सिक्रि अझै छँदै थियो । घर फर्कनासाथ पहिलो काम त्यो सिक्री फुकालेँ र एउटा कुनामा थन्क्याएँ । हातमा चुरा औंठी त थिएन नै । अन्ततः सुनबाट सदाको निम्ति विदा लिएँ । म स्वतन्त्र भएँ ।

जीवनबाट जीवन सिक्ने क्रमकै एउटा अध्याय थियो यो । एकजना असल डाक्टरकी श्रीमतीले यसरी सुन छोडिसकेपछि भने कसैले पनि यसबारे टीप्पणी गरेन । म भिक्षुणी नै त हुनसकेकी छैन । घर व्यवहारको मामलामा होस् या सामाजिक धरातलमा जे जति गर्न सकिन्छ, गरिरहेकी छु । अरुलाई नोक्सान नपुर्याइकन आफ्नो स्वतन्त्रतालाई जोगाइरहेकी छु र उपभोग पनि गरिरहेकी छु ।

म शाकाहारी हुँ, मैले माछा मासु नखानु पनि कुनै त्याग थिएन, माछा–मासुले नै मलाई त्यागेको जस्तो लाग्छ । त्यो पनि मेरो स्वतन्त्रताकै उपभोग मात्र हो । म खान चाहन्न, त्यसैले खाँदिन । यसमा पनि कसैबाट कुनै टीप्पणी सुन्नुपरेको छैन । स्वतन्त्रता, समानता र सामाजिक न्यायको निम्ति लड्दै यहाँ सम्म आईपुग्न सकेको पनि आफ्नै हृदयको आवाज सुनेरै हो । कुनै नेताको कुरा सुनेर होइन ! …

प्रतिक्रिया दिनुहोस्