Logo
Logo

‘अराजक’ बालेनको क्रेज किन बढ्दो छ ?



गत शुक्रबार इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपतिलगायतका उच्च पदस्थ जुद्धशम्सेरको शालिकदेखि हिँडेरै हनुमानढोका पुगे । आफैँले बनाएको नियम पालना गर्दै काठमाडौं महानगरका मेयर बालने शाह पनि हिँडेरै गए ।

राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु लुरुलुरु हिँडेर हनुमानढोका पुगेका थिए । तर, बालेन साहलाई सुरक्षा दिनै हम्मेमहम्मे भयो । जहाँ बालेनका सयौँ प्रशंसक नारा लगाउँदै पुगे । मेयर बालेनको फ्यान क्रेजले नेताहरु ओझेलमा परे ।

त्यसो त बालेन मेयर बनेपछि जति आलोेचित छन्, उत्ति नै उनको क्रेज बढ्दैछ । बालेन काठमाडौं महानगरको प्रमुख बनेको १५ महिना भयो । यसबीच उनले थुप्रै विवादित कामहरु गरे । आलोचनाको शिकार बने । अराजक अभिव्यक्तिले ‘घमण्डी’ उपनामसमेत पाए । कतिले त उनलाई सामाजिक सञ्जालमा ‘श्री आठ’सम्म भन्न भ्याए । तर, उनकै लोकप्रियता चुलिँदै छ ।

उनका केही अभिव्यक्तिलाई ‘आतंककारी’ शैली भनियो । उनी कहिले देशकै केन्द्रीय प्रशासनिक केन्द्र ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की दिन्छन् । कहिले सरकारलाई चोर भन्छन् । अदालतको आदेशसमेत मान्दिनँ भन्छन् । कहिले उनी नेताहरुलाई सिसडोलमा लगेर ‘डम्पिङ’ गर्नुपर्ने बताउँछन् । यी अभिव्यक्तिबाट जति आलोचित भए, उत्ति नै लोकप्रियता पनि बटुले ।

बालेनको ‘डोजर आतंक’ त छँदैछ । उनी भत्काउँछन् तर बनाउँदैन । जहाँ धराप बन्छ । गरिबलाई सडकदेखि हटाउँछन् । निर्वाचनताका गरेका प्रतिवद्धताहरू पूरा गर्न सकेका छैनन् । थालेका कामहरू पनि अलपत्र छन् । तर, उनकै वाहवाही छ ।

जनतालाई उनकै आशा र भरोसा छ । सामाजिक सञ्जाल हेर्दा लाग्छ, उनको क्रेज झनै बढ्दो छ । बालेन हाइहाई भन्न छाडेका छैनन् । बालेलले जे गरेपनि जनताले ठिक गरे भन्छन् ।

इन्द्रजात्राकै प्रशंगमा कुरा गरौँ, इन्द्रजात्रा हेर्न वसन्तपुरमा सर्वसाधारणको ठूलो भीड लागेको थियो । जहाँ बालेन कालो दौरासुरुवाल, कालो कोट, टोपीसँगै कालै चस्मा ढल्काएर पुगेका थिए । बालेन पुग्दा सर्वसाधारणले उनको समर्थनमा हुटिङ गरे । ‘बालेन जिन्दावाद, हाइहाइ बालेन’ जस्ता नारा लगाए । बसन्तपुर बालेनमय बन्यो ।

राष्ट्रपति रामचन्द्र पौडेल पनि त्यही समारोहमा पुगेका थिए । तर, राष्ट्रपति पुग्दा सर्वसाधारण उत्साहित देखिएनन् । उनको समर्थनमा कसैले नारा लगाएन । राष्ट्र प्रमुखको भन्दा नगर प्रमुखको क्रेज बढी थियो । सरकारका मन्त्रीहरू पनि जात्रामा सहभागी थिए । उनीहरूलाई त बालै दिइएन । सामाजिक सञ्जालमा पनि बालेनकै क्रेज छ । लाइक, सेयर र भ्यूजको कुरा गर्ने हो भने नेपालका सबैभन्दा बढी उनकै हुन्छ ।

वर्षौँदेखि स्थापित र देशव्यापी संगठन भएका राजनीतिक दललाई माथ खुवाउने बालेनको लोकप्रियता बढेको बढ्यै छ । नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा समेत उनको चर्चा छ । विश्वै प्रसिद्ध ‘टाइम म्यागजिन’ले उनलाई विश्वको उदयमान नेताको सूचीमा समेटेको छ ।

नेतालाई ‘चोर’ ठान्ने बालेनकै हाइहाइ किन हुन्छ ? प्रश्न गम्भीर छ । केही बुद्धिजीवीले बालेनको आलोचना गरेपनि सर्वसाधारण उनकै भरोसामा छन् । यसको एउटै कारण हो– राजनीतिप्रति वितृष्णा ।

राजनीतिक दलहरूप्रति बढ्दै गएको वितृष्णाकै कारण बालेनको उदय भएको हो । दलहरू सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, अनियमितता, बेथिति र विकृति तथा विसंगति चुर्लुम्म डुबेका छन् । सुन तस्करी, मानव तस्करी, भ्रष्टाचारजस्ता ठूलाठूला काण्डमा नेताहरूकै संलग्नता पुष्टि हुँदै आएको छ ।

राजनीतिक दलहरूकै कारण देशमा अस्थिरता निम्तिरहेको छ । सत्ताका लागि खिचातानी र लुछाचुँडी नेताहरुले आफ्नो संस्कार बनाएका छन् । नेताहरु जनताको सेवाभन्दा छलकपटमा बढी केन्द्रित भएका छन् । राजनीतिक ‘व्यापारीकरण’ बनेको छ । जनताको समस्या सधै ओझेलमा पर्दै आएको छ । यसैको कारण हो, बालेनहरू बढ्दो क्रेज ।

राजनीतिक दलहरुले राजतन्त्र अन्त्य गर्नुको औचित्य पूरा गर्न सकेका छैनन् । एउटा राजा हटाएर यहाँ कयौँ राजाहरू जन्मिएका छन् ! व्यवस्था परिवर्तन भयो । अवस्था उस्तै छ । शासक फेरिए, शासन उस्तै छ ।

राजनीतिमा नातावाद, कृपावाद र परिवारवाद हावी छ । सत्तामा पुगेपछि दलहरू स्वार्थमा डुबुल्की मार्दै आएका छन् । संवेदनशिल निकाय पनि कार्यकर्ता भर्ती केन्द्र बन्यो । न्यायलयमा समेत कब्जा जमाउन थालिएको छ ।

जनताको पक्षमा शासन गर्ने कोही भएनन् । भोट माग्ने बेला दिएका आश्वासनहरू पूरा भएन । जनता महँगीको मारले आक्रान्त छन् । तर, जनता ठग्ने व्यापारी सरकारकै छत्रछाँयामा लुटपुटिरहेका छन् । भएभरका युवा विदेश लखेटेर सरकार आर्थिक समृद्धिको सपनामा मस्त निदाएको छ ।

नारामा सुखी नेपाली, समृद्ध नेपाल । तर, यहाँ सुखी नेता, भ्रष्ट नेपाल बन्यो । नेतामा समृद्धि छायो । जनताको जीवनस्तर झनै दयनीय बन्दैछ । सार्वजनिक ऋण बढेको बढ्यै छ । प्रत्येक नेपालको थाप्लोमा ७९ हजार २ सय राष्ट्रिय ऋण पुगेको छ ।

माथिका सबै दृष्टान्तले नै जनताले विकल्प खोजिरहेका छन् । मुक्ति खोजिरहेका छन् । न्याय, अधिकार, विकास र समृद्धि खोजिमा छन् । जसरी राणा, पञ्चायत र राजतन्त्रबाट मुक्ति पाउन जनताले विकल्प खोजे, त्यसरी नै अहिले दलतन्त्रबाट मुक्तिको लागि विकल्प खोजिरहेका छन् । राजनीतिदेखि वाक्कदिक्क छन् । दलहरूबाट आजित भएकाहरुले नै हो बालेनजस्ता स्वतन्त्रहरूको क्रेज बढेको पनि ।

देश विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य हुन्छ । यसकै प्राप्तिका लागि मुलुकमा पटकपटक ठूला आन्दोलनहरू भए । ती आन्दोलनले मुलुकको व्यवस्था परिवर्तन गर्यो । तर, जनता अवस्था ज्युँकात्युँ छ ।

दलहरूले बाँडेका सपना पूरा गर्न सकेनन् । आन्दोलनका समयमा गरेका प्रतिबद्धता भुल्दै सत्ता केन्द्रित राजनीति गर्दा जनतामा वितृष्ण पैदा भएको छ । दलप्रति जनताको भरोसा कुठाराघात सावित भएको छ । त्यसैले बालेनको मात्रै होइन, नयाँ पार्टी खोलेका रवि लामिछानेहरुको पनि उदय भएको हो ।

बालेनहरुको जबरर्जस्त लोकप्रियताले राजनीतिक दलहरूले साख गुमाउँदै सैद्धान्तिक र वैचारिक रूपबाट स्खलित भएको प्रस्ट हुन्छ । बालेनसामु नेताहरू फिक्का देखिनु राजनीतिमा आएको घृणाको एउटा उपज हो भन्दा अत्यायुक्तिा नहोला ।

कांग्रेस, एमाले र माओवादीलगायत सबै दल एउटै हुन् भन्ने जनताको बुझाइ छ । सबै दलले खाने नै हो, लुट्ने नै हो भन्ने छाप जनतामा बसेको छ । दलहरू नसच्चिए लोकतन्त्र नै धरापमा पर्ने देखिन्छ । नेताहरुमा मौलाउँदै गएको नश्लीय र वंशलीय अहमता तोड्न जरुरी छ । नत्र, अहिले लोकप्रियताको ख्ड्किलो चढिरहेका बालेनहरु भोलिका दिनमा ‘अहँकारी तानाशाह’ भएर जन्मन के बेर ?

प्रतिक्रिया दिनुहोस्