
काठमाडौं । पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले एक विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी आतङ्ककारीको हिंसात्मक आक्रमणमा परी दुःखद् मृत्यु भएको समाचारले आफू स्तब्ध भएको भन्दै निधन भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारमा समवेदना व्यक्त गरेका हुन् ।
सो घटनामा डोटीका राजन फुलारा र पदम थापासहित अधिकांश सुदूरपश्चिमका गरी १० जनाको निधन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै एकजना सम्पर्कविहीन हुनुका साथै अरु चार जना घाइते भई उपचाररात रहेका छन् ।
सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।
दक्षिणी इजरायलको किबुज भन्ने स्थानमा गत शनिबार त्यहाँको आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी नेपाली विद्यार्थीसहित सयौँ इजरायलीको ज्यान गएको छ ।














