
काठमाडौं । सत्ता गठबन्धनका तीन नेताहरुले कोशीमा मुख्यमन्त्री नियुक्तीको विषयले गठबन्धन कमजोर नहुने बताएका छन्।
आज बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच बालुवाटारमा भएको छलफलमा सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका हुन् ।
छलफलपछि कोशीमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो। ‘हामी वर्तमान सत्ता गठबन्धनका प्रति दृढ र स्पष्ट छौ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ सहमतिमा भनिएको छ।
कोशीमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियक्त भएका छन्। यसअघि गठबन्धनको केन्द्रीय नेतृत्वले माओवादीका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो।
कोशीमा शेखर कोइराला पक्षबाट केदार कार्कीले मुख्यमन्त्री दाबी गरेपछि एमालेले समर्थन गरी हस्ताक्षर गरेको थियो। यसबाट एमालेले सत्ता गठबन्धनमा फुटको विजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेका हुन्।















