Logo
Logo

गठबन्धनलाई कुनै हालतमा कमजोर हुन दिन्नौँ : प्रधानमन्त्री


378
Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार कार्की भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चितवनमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

शनिबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक विवादका कारण कोशीमा समस्या आएपनि त्यसलाई ‘सुरक्षित अवतरण’ गरिएको बताए । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको राजनीतिक विवादको विषयले राजनीतिक दलहरूबीच समस्या आएपनि त्यसलाई समाधान गर्न र गठबन्धन बलियो बनाउन तयार रहेको पनि बताए ।

उनले भने, ‘केदार कार्की हामी सबैको मुख्यमन्त्री हो । त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा–परिचर्चा चलेको थियो । त्यस्तो छैन । चिसो र तातो त राजनीतिमा भइरहन्छ । गठबन्धनभित्र विवाद हुँदा झन् बलियो बनाउन सहयोग हुन्छ ।’

गठबन्धनलाई बलियो बनाउनका लागि माओवादी र कांग्रेसका नेताहरू दृढ रहेको समेत उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले थाहा पाइसक्नुभयो होला, बिहानमात्रै शेरबहादुर देउवा, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं कि गठबन्धन बलियो बनाउने कुरामा दृढ र स्पष्ट छौं ।’

कांग्रेस कोइराला समूहका केदार कार्कीले कांग्रेसको निर्णय अस्वीकार गरी एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि सत्तारुढ गठबन्धनमध्ये कांग्रेस र माओवादीका शीर्ष नेताहरू बसेर शनिबार बिहान सहमति गरेका थिए ।

शनिबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, देउवा र कोइरालाबीच भएको सहमतिपत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’ प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले समर्थन र विश्वासको मत दिने पनि जानकारी दिए ।

कोशी प्रदेश सरकारमा एमाले सहभागी हुने कि नहुने भन्नेमा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिन चाहेनन् । कोशी प्रदेशमा सर्वपक्षीय सरकार असम्भव नभएपनि तत्काल बनिहाल्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्