Logo
Logo

देउवा-शेखरलाई बदलिन महामन्त्री शर्माको आग्रह


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश प्रकरणमा सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् । उनले सभापति शेरबहादुर देउवा र नेता शेखरको कार्यशैलीले पार्टीको हित नगर्ने भन्दै दुवैलाई बदलिन आग्रह गरेका हुन् ।

महामन्त्री शमाले एक्लै कुन दलले सरकार बनाउन नसक्ने अवस्थामा नेतृत्वले निरन्तर संववाद गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नो समूहभित्र साझा मत खोज्नुभयो । यस्तो शैलीले पार्टीको हित गर्दैन ।’ पार्टीको हितका लागि पनि सभापति देउवा र नेता कोइराला बदलिनुपर्ने उनको सुझाव छ ।

फाइल फोटो

उनले कोशीको गणितीय जटिलता र पहिचानको आन्दोलनलाई सम्बोधन गर्न आफू र अर्का महामन्त्री गगनकुमार थापाले एमालेसहित समाधान खोज्ने, तर गठबन्धन जोगाउने प्रस्ताव राखेको स्मरण गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देशित गरेको स्थिति हो ।’

उनले अगाडि लेखेका छन्, ‘थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् ।’ आफूहरु पनि बदलिन तयार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको हित तपाई हामी बदलिनुमा सन्निहित छ ।’

कोशीमा तत्कालीन संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएपछि सभापति देउवाले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेका थिए । तर, शेखर निकट केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरे । उनको पक्षमा बहुमत भएपछि उनी मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्