Logo
Logo

एकीकृत समाजवादीको जागरण अभियान सम्पन्न, ५५ स्थलमा आमसभा


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । यही असोज १४ गते मेचीदेखि सुरु भएको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न गरिएको हो ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा अभियानले पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न राजनीतिक गतिविधि, सभा, सम्मेलन गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था, बेरोजगारी समस्या, गरिबी न्यूनीकरणका लागि पार्टीका योजना, देश विकासमा जनताको दृष्टिकोण, अनुभव तथा सुझाव सङ्कलन गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर अभियान गरिएको थियो ।

खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नेबारे जनतालाई जागरण फैलाइएको थियो । अभियानअन्तर्गत राजनीतिक, सामाजिक सुरक्षाका विषयमा पनि सुझाव सङ्कलन गरिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेताले सम्बोधन गरेको अभियानमा ५५ वटा ठूला आमसभा गरिएका छन् । अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी करिब दश हजार नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

अभियानमा विकृति विसङ्गतिको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, कालाबजारी बन्द गरी बढ्दो महँगी नियन्त्रण गर्न जनस्तरबाट सुझाव आएको छ ।

प्रतिक्रिया दिनुहोस्