ताप्लेजुङ । तीनजना अमेरिकी पर्वतारोहीले जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन्। ७ हजार ७१० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका ५ मध्ये ३ जनाले सफल आरोहण गरेका हुन्।
ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण गरेको कम्पनीका प्रबन्धक ओङ्मु शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार आरोहणका लागि गएका बाँकी २ जना भने आरोहण गर्न नसकी फर्किएका छन् । कुनै अमेरिकी पर्वतारोहीले यो हिमालको आरोहण पहिलोपटक गरेको जनाइएको छ । नेपाली समयअनुसार शनिबार बिहान ४ः२० बजे ३ जनाले सफल आरोहण गरेको शेर्पाले बताए ।
आरोहणका लागि जोखिमपूर्ण मानिने कुम्भकर्ण हिमालमा सफल आरोहण गर्नुलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको शेर्पाको भनाइ छ । यसअघि फ्रान्स र रुसका आरोहीले कुम्भकर्णको आरोहण गरेका थिए।














