Logo

राेटरीका हिरो


Published On : 11 February, 2020

  • शम्भु श्रेष्ठ

पोखरामा सम्पन्न रोटरी इन्टरनेशनल ३२९२को १२औँ डिस्टिक कन्फ्रेन्समा बैंग्लोरका एक जना यस्ता व्यक्ति उपस्थित भए जसले रोटरीलाई एक अर्ब भारु ‘डोनेशन’ दिए । नेपाली टोपीमा रोटरीको पोडियममा उभिँदा सबैको ध्यान उनीमा केन्द्रित थियो । बैंग्लोरको एउटा गरिब किसान परिवारमा जन्मिएका उनले यति धेरै रकम किन रोटरीलाई दान दिए भन्ने जिज्ञासा सहभागीहरुमा थियो । एक जना सहभागीले मनको कौतुहलता मेट्न उनीसँग प्रश्न गरे । तपाईंले यति ठूलो रकम रोटरीलाई दान दिनुको कारण के हो ? ती दाताले सरल हिन्दी भाषामा प्रतिप्रश्न गरे– जीवनमा बाँच्न तपाईंलाई कति सम्पत्ति भए पुग्छ ? एक करोड, दुई करोड अथवा दश करोड ? यदि तपाईंले जीवनमा त्यो भन्दा बढी कमाउनु भएको छ भने, त्यो रकम के गर्नुहुन्छ ? मान्छे भएर जन्मिएपछि एक दिन त मर्नैपर्छ । मरेपछि तपाईंले आफ्नो सम्पत्ति आफूसँगै लिएर जान त सक्नु हुन्न । त्यसैले हरेक मानिस एक पटक जन्मिन्छ । एक पटक मर्छ । जन्मिनु र मर्नुबीच तपाईंले जति सम्पत्ति कमाउनुभएको छ, त्यो तपाईंले यही समाजबाट कमाएको सम्पत्ति हो । जब तपाईंलाई यही समाजले त्यत्रो सम्पत्ति दियो भने, तपाईंको समाजप्रतिको उत्तरदायित्व के हो ? भन्ने कुरा तपाईंले बुझ्नुपर्छ । अनि मात्र समाजले तपाईंलाई बुझ्छ ।

ती महान् दाता थिए– दि रवि शंकर दकोजी । उनका एक श्रीमती, दुई छोरी एकता र समता छन् । बैंग्लोरको सामान्य किसान परिवारमा जन्मिएका उनीले रियलस्टेट व्यवसायबाट ठूलो रकम आम्दानी गरेका रहेछन् । गरिबी, भोक, रोग र शोकको पीडा उनले आफ्नो जीवनमा भोगे । उनको समाजमा उनी धनी भए पनि गरिबी, अशिक्षामा बाँच्ने परिवारको संख्या ठूलो छ । कतिपय गरिब किसानका छोराछोरीहरु स्कुल जानबाट बञ्चित छन् । ती गरिब परिवारको जीवनस्तर उकास्ने माध्यम भनेकै शिक्षा हो । त्यसैले उनले एक अर्ब भारु रोटरीमार्फत शिक्षामा लगानी गर्ने निर्णय गरे । रोटरी इन्टरनेशनलमा बिलगेट्सपछि सबैभन्दा बढी रकम सहयोग गर्ने दि रविशंकर हुन् । उनले रोटरी क्लबमार्फत यति ठूलो रकम दान गरेपछि उनको यस कामलाई विश्वभरका रोटरियनहरुले सराहना गरेका छन् ।

दि रवि शंकर भारतका लागि मात्र होइन, हाम्रो लागि पनि एउटा उदाहरणीय व्यक्तित्व हुन् । जसको पहिचान उनको कर्मले दियो । समाज परिवर्तनमा एउटा व्यक्तिको योगदानले कति ठूलो भूमिका खेल्छ भन्ने कुराको उनी एउटा पात्र हुन् । उनीजस्ता धेरै पात्रहरु हाम्रो समाजमा पनि छन् । फरक यत्ति हो, उनी आफू मात्र होइन, सिंगो समाजलाई आफूसँगै हिँडाउन खोजिरहेका छन् भने, हामी एक्लै हिँड्न खोजिरहेका छौँ । देश के हो ? समाज के हो ? हामी के हौँ भन्ने कुरालाई जबसम्म हामीले बुझ्न सक्दैनौँ, तबसम्म समाज अगाडि बढ्न सक्दैन । उदाहरणका लागि मासिक एक सय रुपैयाँमा गरिब बालबालिकालाई उच्च शिक्षा दिने उत्तम सञ्जेल नेपालका एक उदाहरणीय व्यक्ति हुन् । सञ्जेलको यात्रालाई सफल बनाउनका लागि सहयोग माग्न मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य पनि पोखरा पुगेका थिए । नेपालजस्तो गरिबी, अशिक्षा र पछौटेपन भएको समाजमा सञ्जेलले २० वर्षदेखि शिक्षाको क्षेत्रमा कति योगदान गरेका रहेछन् भन्ने कुरा मदनकृष्ण, हरिवंशको मुखबाट हामीले थाहा पायौँ । सञ्जेलले एक सय रुपैयाँ फिसमा ६५ हजार गरिब विद्यार्थीलाई पढाएका छन् । सरकारले शिक्षामा अर्बौ लगानी गरेको छ । सरकारी स्कुलका नाममा खर्च गरिने त्यो रकम बालुवामा पानी हालेजस्तो भएको छ । तर समता एजुकेशनमार्फत उत्तम सञ्जेलले माटोमा विरुवा हुर्काउने काम गरेका छन् । बैंग्लोरका रवि शंकरजस्ता दाताहरु हाम्रो देशमा पनि जन्मिने हो र उत्तम सञ्जेलले गरेको कामलाई ‘होस्टेमा हैसे’ गर्ने हो भने अवश्य पनि शिक्षाबाट बञ्चित गरिब परिवारका छोराछोरीले विदेशमा गएर मर्नुपर्ने अवस्था आउने थिएन । यिनै गरिब परिवारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पूरा गर्ने थिए ।

पोखरामा सम्पन्न १२ औँ रोटरी इन्टरनेशनल डिष्टिक कन्फ्रेन्स रोटरीका हिरोको शिक्षा यही नै हो ।

प्रतिक्रिया दिनुहोस्