आफ्नै जिन्दगी बाँचेका छौ कि अरुको ?


Published On : 18 February, 2020

– जयराम सिग्देल
‘आफ्नै तरिकाले बाँच्न चैं कसैले दिँदैनन् कि क्या हो ?’ कहिलेकाँही आफूलाई ‘आफ्ना’ लाग्ने मान्छेहरुको मुखबाट यस्तो सुनिन्थ्यो । अलि सानै अनि स्कूल पढ्दै गर्दाको त्यो समयमा ‘आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँच्ने’ भनेको के होला जस्तो लाग्थ्यो । उमेर कलिलो भएको कारण वा सोच्ने क्षमता कच्चा भएर हो ‘आफ्नो तरिका’ बुझ्न बर्षौं लाग्यो र अहिले पनि पूरा बुझें जस्तो त लाग्दैन । पूरा जिन्दगी जिउँदा त कति विद्धानहरुले केही बुझ्नै सकिनँ भनेको पढेको छु भने झन् जिन्दगी नै बुझ्न त कति गाह्रो होला ! फेरि बुझाई एकैनासे हुनुपर्छ भन्ने पनि छैन, खाली जिन्दगी भोगाई र सिकाईको प्रक्रिया कसरी गरियो भन्ने नै ठूलो कुरा हुनसक्छ ।

हरेक मान्छेलाई लाग्छ, कस्तो मान्छे बन्ने ? अरुले के सोचिरहेका होलान् ? जिन्दगी कस्तो बन्यो ? साथीभाइ कहाँ पुगिसके होलान्, भन्ने सोच्दासोच्दै आफूलाई बिर्सिरहेका हुन्छन् । समाजको इच्छा, परिवारको चाहना, सन्तानको आवश्यकता पूरा गर्दागर्दै प्रायःले आफ्नो जिन्दगी आफैंले बिताएँ वा बिताइनँ भन्ने छुट्याउनै दोधारमा देखिन्छ । जिन्दगीलाई आफूले कसरी चलाइयो वा समयले वा जिन्दगीले आफूलाई कसरी चलायो, यो बुझ्न पक्कै समय लाग्छ । आफूलाई आफैं जसरी जिन्दगी जिउने मान्छेहरु कमै भेटिन्छन्, जो जिइरहेका छन्, सायद गुनासोरहित नै बाँचिरहेका होलान् !

स्कूल छँदा प्रायःको एउटै धोको हुन्छ, क्याम्पस पढ्ने अनि जागिर खाने, किनकी हाम्रो पढाईको फम्र्याटले नै जागिर खान सिकाउँछ, न कि उद्यमशील बन्न । कतिपय त शिक्षकहरु नै गर्वका साथ आफ्नो कथा सुनाउँछन्, ‘मैले जागिर पनि त्यसै पाएको होइन, धेरैका बीच अब्बल भएर पाएको हुँ ।’ नेपाली शिक्षकले भनेको सम्झन्छु, ‘राम्रो जागिर खाने गरी पढ्नु अनि परिवारलाई सुखी राख्न सकिन्छ ।’ सरले खुशी र सुखीको परिभाषा कलिलो दिमागमा हालिदिएको भए सायद ‘जिन्दगीको दौड’ मा केही हल्का महसुस हुन्थ्यो कि !

एसएलसी (हालको एसइई) पनि सकियो । परिवारले सन्तान (छोरा वा छोरी) को खास इच्छा के मा छ भन्ने नबुझी सिधै क्याम्पस भर्ना गरिदिन्छन् । शिक्षाको गुणस्तर र आफ्नो उद्देश्यको तालमेल नमिले पनि उच्च शिक्षा हासिल गर्ने इच्छा नमर्ने उत्साहमा आफूले पनि जुन क्याम्पस भर्ना गरिदिन्छन्, त्यसैमा बडो रटानका साथ पढ्न सुरु गर्ने एउटा परिपाटी जस्तै छ, अहिले पनि । भविष्यमा केही हुने सपनै सपनाको अनि इच्छै इच्छाको पढाइ सुरु हुन्छ । कुनै चाहनाको प्राप्तीमा मान्छेका सकारात्मक सोचहरुको पनि विकास हुन्छ भन्ने तथ्यचाहिँ त्यसै बनेको पक्कै होइन । यो पक्कै सफल परिक्षणपछिको परिणाम हुनुपर्छ । किनकि कुनै कुरा पाईएला वा यो बनिएला भनेर पनि उत्साहका साथ परिणामको आशमा मान्छे रुमल्लिरहेका हुन्छन्, चाहे सफल होस् वा नहोस् । क्याम्पस पढ्ने समय भनेको एकातिर सपनाको भयंकर खुल्दुली अनि अर्कातिर अभावको चाप । कहिले कोठाभाडाको थिचाई, शुल्कको भार, भोकको छट्पट, बस चढ्ने भाडाको सकस, भर्खर सुरु भएको मोबाईलमा हाल्ने रिचार्जको काउकुती, हैट ! घरको सीमित पैसाले असिमित आवश्यकता पूरा गर्नु पर्ने । जिन्दगी कुन तरिकाले बामे सर्दैछ भन्ने पत्तो पाउने कुनै मेसो पनि भेटिदैन ।

सबैका आ–आफ्ना सपना, पीडा, दुःख, आशा, भरोसाका बीच हिँडिरहेको हुन्छ मान्छे । मान्छे एकै हो भने पनि मान्छेको तह तीन प्रकारले विभाजन गरिएको छ समाजमा । गरिब, मध्यम र धनी । यिनका आफ्नै परिभाषा र विशेषताहरु छन् । गरिब–बाँच्नैलाई संघर्ष गर्नुपर्छ सायद । धनी–आफैंमा फराकिलो अर्थ, परिभाषा र विशेषता छ । बाँकी रहेको मध्यम भन्नेले यता न उताको भन्ने जनाउँदो रहेछ । कुनै रुखको बीचमा तुर्लुङ्ग झुण्डिइको फर्सी जस्तो । माथी जान पनि सकस अनि तल ओर्लन पनि नसक्ने, समाजका बीच रहेजस्तै । अनि जिन्दगीको अर्थ बुझ्न नपाउँदै अथक मेहेनत गर्ने जमातको भीडमा बढी देखिने पनि यिनै पहिलो र दोश्रो वर्ग पर्छन् ।

‘अरुका छोराछोरी पढ्दै कमाउँदै गर्छन्, आफ्नो चैं…??’ नदुख्ने तर, चसक्क हुने गरी बाबुआमाले भनेपछि अब काम नगरी भएन । फेरि यो समय कस्तो आउँदो रहेछ भने मानिसले आफूले आफूलाई म यै हुँ भन्ने वा म यस्तो पो हुँ त भन्ने पत्तो पाएन भने ‘आलु’ जस्तो हुँदो रहेछ । आलु जे तरकारी सँग पनि ‘फिट’ भएजस्तो, गुन्द्रुकमा पनि । क्रिकेट हे¥यो वा उसको बारे पढ्यो भने त्यस्तै बन्न मन लाग्ने । फिल्म हेरुँ, ‘हिरो’ बनिहालुँ जस्तो लाग्ने, सेलिब्रेटी, विज्ञापनमा पनि उही छ, पम्प्लेटमा पनि उही छाएको छ, हुँदाहुँदा आफ्नो प्रेमि प्रेमिकालाई दिने पोष्टकार्डमा समेत उही छ । भएन, अब आफैं केही गरौं भन्यो, कहाँबाट के सुरु गर्ने छेउ न टुप्पो हुन थाल्ने । फुटवल हेरौं, मेस्सी, रोनाल्डो आफैंमा देखिन्छ । गीत सुनौं गायक पो ठीक हो कि ! जस्तो । व्यापारीहरुको समाचार हे¥यो, अँ ! यो पो त जस्तो हुने । भाषण सुन्यो, ओहो ! बन्ने त नेता पो त, कार्यकर्ता वरिपरि, उज्वल भविष्य ।

जिन्दगीमा सबै मानिसहरु फरक छन् । सबै मानिसहरु एक एक प्रकारले अब्बल छन् र पनि सन्तुष्ट छैनन् । प्रसिद्धीमा रहेकाहरुमा पनि त्यो खालको सन्तुष्टी भेट्न मुश्किल हुन्छ । कोही खेलका लागि प्रख्यात, कोही सम्पत्तिको लागि त कोही व्यवसायका लागि प्रख्यात त कोही समाजसेवा । चर्चित भएकाहरुको परिवार हेर्दा बाहिरबाट जति राम्रो देखिन्छ भित्र त्यस्तो पनि नहुँदोरहेछ । व्यापारीको कुरा गरौं भने परिवारलाई समय नदिएको गुनासो । सेलिब्रेटीको व्यक्तिगत जिन्दगी रहेन भन्ने पीडा । खेलाडीको स्वास्थ्यको समस्या, यस्तै यस्तै । राम्रै जागिर भएकाहरुको एउटै गुनासो, ‘समय दिएजति पैसा नहुने के ! महँगीले टुपीसम्म छोपिसक्यो, आफ्नो तलबले शरिर पनि ढाक्न आङ कन्याउँछ ।’

समाजमा एउटा पाखण्डले भरिएको जमात हुन्छ, जहाँ पनि । बाहिर शानदार देखिनु पर्ने । सुकिलो हुनैपर्ने, चिटिक्क देखिनै पर्ने । घर, गाडी, लवाईखवाई राम्रो हुनुपर्छ, नत्र आफ्नो मात्रै होईन माईती वा ससुरालीको समेत ईज्जतको कुरा छ । व्यवसायलाई ‘फेन्सी’ देखाउनै प¥यो, नत्र बैंक बित्तिय संस्थाले पत्याउँदैन । राम्रो ‘गेटअप’ चाहियो नत्र पार्टीमा कसैले गन्दैन । अनि कस्तो र कसको जिन्दगी जिउने भन्ने छनौट पनि त गर्नु छ ।

जिन्दगीलाई चलाउने सबालमा सबैको आफ्नै बुझाई, सोचाई र बिशेष गरि तनाव छ । सानोलाई ठूलो हुने इच्छा । ठूलोलाई टिकिईरहने अभिलाषा । आफूले यस्तो बन्ने भनेर कल्पना गरेको वा देखेका पात्रहरुभित्र सन्तुष्टीसँगै आफ्नै पीडा, कुण्ठा पाईरहेको देखिन्छ । हरेक मान्छेलाई लाग्छ, कस्तो मान्छे बन्ने ? अरुले के सोचिरहेका होलान् ? जिन्दगी कस्तो बन्यो ? साथीभाइ कहाँ पुगिसके होलान्, भन्ने सोच्दासोच्दै आफूलाई बिर्सिरहेका हुन्छन् । समाजको इच्छा, परिवारको चाहना, सन्तानको आवश्यकता पूरा गर्दागर्दै प्रायःले आफ्नो जिन्दगी आफैंले बिताएँ वा बिताइनँ भन्ने छुट्याउनै दोधारमा देखिन्छ । जिन्दगीलाई आफूले कसरी चलाइयो वा समयले वा जिन्दगीले आफूलाई कसरी चलायो, यो बुझ्न पक्कै समय लाग्छ । आफूलाई आफैं जसरी जिन्दगी जिउने मान्छेहरु कमै भेटिन्छन्, जो जिइरहेका छन्, सायद गुनासोरहित नै बाँचिरहेका होलान् !

प्रतिक्रिया दिनुहोस्