Logo
Logo

कंसाकार भन्छन्, ‘भन्न मिल्दैन, तर पछिल्लोपटक घरमै आएर प्रस्ताव गरे’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० फागुन । २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर नेपाली जनताको सेवा गरेकाले पनि मलाई निजी क्षेत्रका कुनै पनि संस्थाले तान्न सक्दैनन् ।
पटकपटक निजी क्षेत्रको संस्थाको नेतृत्व लिइदिनुप¥यो भनेर प्रस्ताव पनि आए, आइरहेकै पनि छ । मलाई किनकिन निजी क्षेत्रमा जानै मन लाग्दैन । स्वास्थ्यले साथ दिउञ्जेलसम्म नेपाली जनताको नै सेवा गर्ने इच्छा छ । यी भनाइ हो सुगतरत्न कंसाकारको । उनलाई चिनाउन कुनै विशेषण लगाउनुपर्दैन । चार वर्ष तीन महिना नेपाल टेलिकमको प्रमुख तथा छ वर्ष नेपाल वायु सेवा निगमको प्रमुख भएर आफ्नो योग्यता र क्षमता देखाएका कंसाकारले कमलादी गणेशस्थान नजिकै आफ्नो निवासमा आफ्नो व्यवस्थापकीय कलाका अलावा टेलिकमको प्रवेश तथा निमगको सुधारका बारेमा राससलाई अनुभव सुनाए ।
पारिवारिक पृष्ठभूमि व्यापारिक भए पनि आफ्नै रहरले दूरसञ्चार सेवामा प्रवेश गरेका कंसाकारलाई आजको टेलिकमलाई व्यावसायिक रुप दिएको श्रेय जाने गरेको छ । टेलिकमलाई कम्पनीमा रुपान्तरण गर्दा उन नै टेलिकमको प्रबन्ध निर्देशक थिए । दूरसञ्चार संस्थानको अन्तिम महाप्रबन्धक कंसाकार भएकै बेला टेलिकमको सात प्रतिशत शेयर बिक्री गरेर कम्पनी बनाइएको थियो । आफैँले सिकाएका र तातेताते गरेर हिँडाएकाले नै आजको टेलिकम चलाएका छन् ।
अब त अवकाशपछिको जीवन बिताउने बेला भएन र ? हाम्रो प्रश्न भुइँमा खस्न नपाउँदै कंसाकारले प्रसंग अन्यत्रै मोड्दै भ। ‘म ६० वर्ष पुगे, अब कविता लेख्दिन भनेर एउटा कवि चुप लागेर बस्छ र ? यस्तै मेरो उमेर ६५ भयो, म अब उपन्यास लेख्दिन भनेर उपन्यासकार बस्छ र ? मेरा लागि पनि व्यवस्थापन त्यस्तै हो ।’
‘म इञ्जिनीयर हुँ, तर सँगसँगै व्यवस्थापक पनि हो । संसारभर प्रकाशित भएका व्यवस्थापनसम्बन्धी धेरै जसो किताब र जर्नल पढेको छु । जिन्दगीभर नै व्यवस्थापनसँग जोडिए । काम गरे । नजानेको कुरा सिके, जानेको कुरा लागू गरेँ विस्तार गरेँ’ उनले भने, ‘सरकारी क्षेत्रको व्यवस्थापन आफैँमा जटिल काम हो । मलाई जटिल काम गर्न नै मन पर्छ । जुन मैले विगतमा गरेँ । आगामी दिनमा राम्रो प्रस्ताव आए पछि हट्दिन । किनकी मैले तीन करोड नेपालीको आस्था जोडिएका दुई महत्वपूर्ण संस्थामा जीवन गुजारेको छु ।’
निजी क्षेत्रले राम्रो सेवा सुविधासहित प्रस्ताव गरेको उनी सुनाउँछन् । कुनकुन संस्थाका प्रस्ताव आए ? भन्ने प्रश्नमा उनले भने, ‘भन्न मिल्दैन । तर पछिल्लो पटक पनि घरमै आएर प्रस्ताव गरे ।’ आफूलाई निजी संस्थामा गएर काम गर्न मनले नै नमानेको उनी बताउँछन् । जिन्दगीभर नेपाली जनताको सेवा गरेको भएकाले पनि मलाई निजी संस्थाले तान्न सक्दैन । निजी क्षेत्रको व्यवस्थापनभन्दा सार्वजनिक संस्थाको व्यवस्थापन गाह्रो काम हो । त्यसमा राजनीतिकदेखि अनेकन कारण जोडिन्छन् । कंसाकारले भने, ‘गाह्रो काम नै किन नगर्ने भन्ने मलाई लाग्छ ।’
कंसाकारको परिवार नै व्यापारी हो । ठूला बा, काका अझै व्यापारमा छन् । उनको १३० जनाको परिवारको एक्लो सदस्य हो, उनी सरकारी सेवामा जाने । असनमा अझै पनि सेतो कपडाको पसल छ । त्यो उनको परिवारको पसल हो । ‘म व्यापारिक पृष्ठभूमिको भए पनि निजी क्षेत्रमा जाने पटक्कै इच्छा छैन । मनमा आउँछ, अब त चुपचाप घरै बसौँ कि ? अर्को मनले भन्छ होइन, स्वस्थ छु, काम गर्न सक्छु भने किन चुप बस्ने ? म आफैँ ‘चान्स’ पाएको खण्डमा अवकाश हुने पक्षमा छैन’, उनले सुनाए ।
उनले व्यवस्थापन ‘अब्स्ट्रयाक’ विषय भएको पनि बताए । ‘के ग¥यो भने राम्रो व्यवस्थापन हुन्छ ? भनेर जानेकालाई समेत मैले सोध्ने पनि गरेको छु’ उनले भने । विसं २०३१ मा सातौँ तहको टेलिकम इञ्जिनीयरका रुपमा सेवा प्रवेश गर्नुभएको कंसाकारले ३४ वर्ष सेवा गरे । अघिल्लो र पछिल्लो कार्यकाल गरेर नेपाल वायु सेवा निगममा ६ वर्ष काम गरे ।
परिवारका तीन दाजुभाईमध्ये कान्छा हुन् कंसाकार । ठुल्दाइको ‘ब्रेन ट्युमर’का कारण निधन भइसकेको छ, माल्दाइको अझै चियाको व्यापार छ । उनले तयार पारेको चियाँ चीनको तिब्बतसम्म जाने गरेको छ ।
ठमेलको अस्कल क्याम्पसबाट आइएस्सी गरेपछि कंसाकारले ‘कोलम्बो प्लान’को छात्रवृत्ति पाउनुभयो । टेलिकम इञ्जिनीयर भन्ने धेरैलाई थाहै थिएन । तर मैले धेरैले थाहा नपाएको सोही विषय पढ्ने मन गरेको उनले सुनाए । आफ्ना पिता यस्तो पनि इञ्जिनीयर हुन्छ भन्दै झगडा नै गर्न जानुभएको स्मरण उहाँलाई ताजै छ । उनले भने, ‘घर, सडक बनाउने पो इञ्जिनीयर हुन्छ त ? यस्तो पनि इञ्जिनीयर हुन्छ भन्दै मेरा पिताले झण्डै जान नदिनुभएको थियो ।’ ठूल्दाइका कारण आफूले सो विषय पढ्न पाएको कंसाकारको भनाइ छ ।
छात्रवृत्ति पाएर कोलकाता गए पनि त्यहाँ ‘नक्सलाइट’का कारण धेरैजसो समय क्याम्पस बन्द भएका कारण उनी पुनाबाट टेलिकम इञ्जिनीयर उत्तीर्ण गरे । दुई जना केटा टेलिकम इञ्जिनीयर पढेर आएका छन् भन्ने थाहा पाएर तत्कालीन नेपाल दूरसञ्चार समितिले कंसाकार र उनका अर्का साथीलाई ज्यालादारीमा नियुक्त ग¥यो । यो कुरा विसं २०३१ को थियो । रामप्रसाद शर्मा समितिका प्रमुख थिए । प्रमाणपत्र नै छैन, सर, हामीले त परीक्षामा नै उत्तीर्ण भएका छैनाँै भन्दा तिमीहरु चुप लाग भन्दै जागिर दिएको आजै जस्तो लाग्छ, कंसाकारलाई ।
विसं २०३३ मा समितिबाट नेपाल दूरसञ्चार संस्थानमा परिणत भयो । शुरुमा उहाँको तलब थियो रु ६०० । प्रतितोला सुनको मूल्य नै रु २०० थियो । काठमाडौँ उपत्यकामा टेलिफोनको लाइन विस्तार गर्नेदेखि दरबारको लाइन हेर्नेसम्मको काम गरेको कंसाकारको स्मरणमा अझै पनि उत्तिकै ताजा छ । समयले सिकायो, मेहनतले सिकायो, कंसाकारलाई । इमानलाई नै मूलमन्त्र मानेकाले कसैसामु झुक्नुपरेन । अनि इञ्जिनीयरलाई व्यवस्थापक पनि बनायो ।
नेपाल वायु सेवा निगमको व्यवस्थापन हेर्ने जिम्मेवारी सरकारले यतिखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई दिएको छ । संस्थालाई निजीकरण गर्ने वा अन्य कुनै तरिकाले व्यवस्थापन गर्ने भन्नेबारेमा सरकारले चिन्तन गरिरहेको छ ।
निगमको दुई पटक प्रमुख भइसकेका कंसाकारको मनमा चाहिँ के होला ? हाम्रो जिज्ञासा स्वाभाविक थियो । निगमलाई कसरी सुधार गर्न सकिन्छ, राष्ट्रिय ध्वजावाहक यो निगमलाई प्रतिस्पर्धामा कसरी उतार्न सकिन्छ ? हाम्रो जिज्ञासाको प्रमुख चुरो कुरा नै त्यही थियो ।
कुनै समय निगमका जहाज ‘लण्डन’ पुग्थ्यो । यस्तै पेरिस र जापानसमेत पुगेको थियो । हिजोआज संस्थाको साख विगतको जस्तो छैन । जहाजको अभाव छ । दक्ष जनशक्तिको पलायन रोक्न सकिएको छैन । त्यसमाथि राजनीतिक हस्तक्षेप । जेनतेन चलेको निगमले थुप्रै व्यवधान पार गरेर दुई वटा ‘न्यारो बडी’ र दुई वटा ‘वाइड बडी’ जहाज पाउन सक्यो । ठूलो धनराशिको कारोवार गरेर जहाज खरिदमा पहलकदमी लिने, साहस गर्ने जोखिम उठाउने व्यवस्थापकमा कंसाकार नै दरिए ।
न्यारोबडी जहाज खरिदका विषय त्यति धेरै विवादमा नपरे पनि वाइड बडी खरिदको विषय भने अन्ततः विवादकै ‘चक्रब्यूह’मा फस्यो । संसदीय समितिले छानबिन ग¥यो । विषय त्यहाँ मात्रै सीमित रहेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पुग्यो । सर्वत्र चर्चा र बहसको विषय बन्यो । कम तौलको जहाज ल्याएको, भाडामा जहाज ल्याएको तथा कमसल जहाज ल्याएको, मोटो कमिसन खाएको जस्ता आरोपको सामना गर्नुप¥यो ।
कर्मचारीमा समस्या भएको भए, व्यवस्थापन गतिलो नभएको भए कसरी पुग्थ्यो त त्यो बेलाको ‘शाही नेपाल वायु सेवा निगम’को जहाज लण्डन, पेरिस र जापान ? स्वाभाविक उत्तर छ कंसाकारको सरकारी लगानीका कूल ३६ वटा संस्थानमा रहेका आम समस्या जस्तै केही समस्या निगममा यद्यपि छ । सरकारी संस्थानमा नेपालमा मात्रै होइन, संसारभर नै केही न केही समस्या हुन्छन् । मात्रा कति हो भन्ने मात्रै हो ।
पान पसल र निगममा केही फरक छैन भन्ने बुझाइ छ कंसाकारको । पान पसलले पान बेच्छ, निगमले सिट बेच्छ । दिनभरको कमाइ हिसाब गर्ने पान पसले र सिट बेचेको हिसाब गर्ने निगमको व्यापार शैली उस्तै हो । निगमले सेवा विस्तारका लागि लगातार जहाज खरिद गर्नुपर्नेमा २० वर्षसम्म कुनै जहाज किन्न सकेन । दूरगामी सोच नै भएन । भएका जहाजले सेवा त दिए, तर त्यो पुग्दो भएन । आन्तरिक उडानमा रहेका दुई वटा ट्वीनअटर ४५ वर्ष पुराना भए । हामीले उत्पादन क्षमता नै बढाएनौँ, जसका कारण निगम धरासायी हुन पुग्यो । पछिल्ला दिनमा दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज ल्याएपछि मात्रै निगमको प्राण भरिन पुग्यो भन्छन् उनी ।
निगमसँग भएका दुई वटा बोइङले २२ वर्ष धान्नु प¥यो । विगतमा गएका गन्तव्यमा ती नै थोत्रा जहाज लिएर जाने अवस्था थिएन । भएका जहाज भने पूर्ण क्षमतामा चले । अमेरिका, जापान कोरिया किन नजाने भन्ने प्रश्न नउठेको पनि होइन, तर जहाज नै नभएपछि अपेक्षा गरेर पनि केही हुने अवस्था थिएन ।
सिंगापुरलाई चिनाएको सिंगापुर एयरलाइन्सले हो । थाइल्याण्डलाई चिनाएको थाइ एयरले हो । नेपाल एयरलाइन्सले जतिसक्दो चाँडो विमान थप्दै, पहुँच बढाउँदै जानेभन्दा अरु कुनै उपाय नै नभएको उनको भनाइ छ । निगमले हाल कमाइ रहेको आधाभन्दा बढी हिस्सा त डलरमा नै रहेको तथ्यांक पेश गर्दै भने, ‘जहाज थपेर अझै सेवा विस्तार गर्नुको कुनै विकल्प नै छैन ।’
विदेशी एयरलाइन्स मात्रै दुई दर्जन बढी नेपाल आउँछन् । तिनले ९० प्रतिशत व्यापार गरिरहेका छन् । निगमको स्वामित्व घटेर १० प्रतिशतमा सीमित भएको छ । जहाज थपेर, गन्तव्य विस्तार गर्ने हो भने एकाध वर्षमा ‘कायापलट’ गर्नसक्ने सामथ्र्य निगमसँग रहेको कंसाकारको मनमा अझै छ । धेरै जहाज किन, व्यापार व्यवसाय बढाउ भनेर प्रेरित गर्नुपर्नेमा उल्टै गाली गरिएकामा कंसाकारलाई चित्त दुखेको छ । उनले भने, ‘नियम प्रक्रिया मिलाएर धमाधम जहाज ल्याऊ, सेवा विस्तार गर, लौ कंसाकार ठिक छ, तिमीले ठीक ग¥र्यौं भन्नुपर्दथ्यो । मैले त दुःख पाए पाए, मसँगै काम गरेका मेरा कर्मचारीलेसमेत दुःख पाए ।’
राम्रो नेतृत्व गर्ने हो भने निगमलाई व्यावसायिक बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ । कर्मचारी मात्रै खराब हो भनेर आफूले नपत्याउने उनको दाबी छ । संसारभर नै वायु सेवामा हेरिने भनेको जहाज समयमा उड्छ कि उड्दैन भन्ने हो । यस्तै दोस्रो कत्तिको उडान रद्द हुन्छ वा पैसा कमाएको छ कि छैन भन्ने हेरिन्छ । त्यसमा निगम सबल मात्रै नभई सफल पनि रहेको तथ्य पेश गर्छन् कंसाकार ।
बाहिरबाट हेर्दा निगम खत्तम छ भनिन्छ तर अरु संस्थानभन्दा राम्रो छ । सिट अकुपेन्सी पनि राम्रो छ । गन्तव्य छान्दा नेपाली बढी भएको र पर्यटक बढी भित्र्याउन सकिने देश रोज्नुपर्ने उहाँको भनाइ छ । संसारभर नै थप ११ जना पर्यटक जाँदा एक जनाले रोजगारी पाउँछ । तर नेपालका लागि भने फरक छ । यहाँ सात जना थप पर्यटक आए भने थप एक नेपालीले रोजगारी पाउँछ । पर्यटक भित्र्याउने माध्यम के त ? कंसाकार भन्छन्, ‘निगमको सेवा विस्तार, जहाज थप नै हो ।’
विदेश जाने नेपालीलाई किन विदेशी एयरलाइन्समा जान दिने, निगमको जहाज भए ती अन्य एयरलाइन्सबाट जाँदै जाँदैनन् । प्रशस्त हवाइजहाज भए हामी सिधैँ लण्डन उडान गर्न सक्छौँ । अष्टे«लिया, सिङ्गापुर, पेरिस पुनः उडान शुरु हुनसक्ने उहाँको विश्वास छ । निगमसँग भएका दुई वटा न्यारोबडी पूर्ण क्षमतामा चलिरहेका छन् । २४ घण्टा किन नचलाएको भन्नै नपाइने अवस्था छ ।
हवाईजहाज नपुगेर आन्तरिकतर्फको उडानमा समस्या देखिएको छ । दुई वटा ट्वीनअटर जहाजले आन्तरिक सेवा विस्तार गर्न सक्दैन । छ वटा चिनियाँ हवाईजहाज घाम तापेर बसिरहेको छ । प्राविधिक तथा अन्य कारणले ‘वाइ १२’ र ‘एमए ६०’ जहाज चल्न सकेका छैनन् । चिनियाँ जहाजको प्रशिक्षक नहुँदा वा अन्य प्राविधिक समस्या झेल्दा निगमले प्रभावकारी सेवा दिन सकेको छैन ।
कंसाकारले आन्तरिक बजार विस्तारका लागि समेत विगतमा नै योजना बनेको स्मरण गर्नुहुन्छ । तीन करोड नेपालीको संस्था भएकाले विकट ठाउँमा यात्रु छैन भनेर सेवा बन्द गर्न नमिल्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडानबाट पैसा कमाउने र आन्तरिक उडान विस्तार गर्न सकिने कंसाकारको बुझाइ छ । ट्वीनअटर, एटिआर वा बमबार्डियर जहाज ल्याएर दुर्गममा सेवा विस्तार गर्ने तथा सुगम गन्तव्यमा प्रतिस्पर्धी निजी संस्थाभन्दा सस्तो मूल्यमा सेवा दिन सकिने कंसाकार ठान्छन् । निगमले सुगम गन्तव्य खोस्ने भए भनेर निजी विमान कम्पनीलाई समस्या परेको पनि हुन सक्छ । सार्वजनिक संस्था भएकाले निगमले सेवा विस्तार गर्नैपर्ने हुन्छ ।
तीन करोड नेपालीको प्रतिव्यक्ति आयसँग जोडिएको संस्था हो निगम । आफू त्यस्तो संस्थासँग जोडिन पाएकामा उहाँलाई खुशी अनि गर्व पनि लाग्छ । निगमलाई राम्रोसँग लिएर जाँदा नेपाल टेलिकम र विद्युत् प्राधिकरणलाई उछिन्न सक्ने स्थिति उहाँ देख्छन् । रु नौ अर्बको कूल कमाई गर्ने निगमले दुई वटा वाइडबडीका कारण मात्रै थप रु १६ अर्ब कमाई गर्न सक्छ । संसारभर नै शून्य जोखिम भएको व्यापार कुनै पनि हुँदैन । नेपाल सरकारले केही जोखिम उठाएर निगममा लगानी गरे त्यसबाट एकाध वर्षमा नै ठूलो प्रतिफल हासिल गर्न सकिने वातावरण बन्दै गएको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कूल ऋणमध्ये रु एक अर्ब त निगमले तिरिसकेको छ ।
आफू निमगको प्रमुख रहँदा डेढ वर्ष पहिल्यै पाँच वर्षमा १५ वटा जहाज पु¥याउने योजना बनाएको स्मरण उनले सुनाए । जहाज खरिदका लागि ऋण लिन डराउन नहुने उनी बताउँछन् । उनलाई यस्तो लाग्छ–भारतमा नै सेवा विस्तार गर्न सकिन्छ । नेपाल–भारत हवाई सम्झौताअनुसार ११ शहरमा हवाई सेवा दिन सकिन्छ । सवा अर्ब जनसङ्ख्या भएको देशबाट ठूलो मात्रा पर्यटक ल्याउन सकिन्छ ।
सार्वजनिक खरिद ऐनका कारण, सार्वजनिक संस्था चलाउन केही जटिलता रहेको अनुभव छ कंसाकारको । खाद्य संस्थानले चामल किन्दा र निगमले वाइडबडी जहाज किन्दा पनि एउटै ऐन आकर्षित हुने व्यवस्था सही कि गलत ? चामल र जहाज किन्न एउटै ऐनले काम गर्न नसक्ने भएकाले त्यसमा सुधार जरुरी भएको उनी ठान्छन् । निर्णय, प्रक्रिया पु¥याएर जहाज खरिद गर्न पाउनुपर्ने र त्यसका लागि सरकार आफैँले व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।
बेलाबेलामा निगमले रणनीतिक साझेदार ल्याउनुपर्ने चर्चा चल्ने गरेको छ । त्यसका लागि राजनीतिक निर्णय चाहिने कंसाकार बताउनुहुन्छ । राष्ट्रिय ध्वजावाहकमा विदेशी भित्र्याउने नहुने तर्क पनि राख्ने गरिन्छ । श्रीलंकामा ३५ प्रतिशत शेयर नै दिएर रणनीतिक साझेदार ल्याइयो । त्यसले संस्थालाई नाफामा मात्रै लगेन, गन्तव्यसमेत विस्तार गरेको उदाहरण छ ।
महँगो हवाई भाडा
संसारभरका नागरिक नेपाल घुम्न चाहन्छन् । औसतमा हेर्ने हो भने नेपाल आउन चाहनेले महँगो हवाई भाडा तिर्नुपर्छ । भेटेका विदेशी नागरिकले आफू नेपाल आउन चाहे पनि हवाई भाडा असाध्यै महँगो भएको गुनासो गर्ने गरेको कंसाकार सुनाउँछन् । उनले त्यसका लागि निगमले सेवा विस्तार गरेर भाडामा समेत हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याउँछन् ।
‘थाइल्याण्ड जान सस्तो टिकट छ भने महँगो तिरेर कोही पनि नेपाल आउँदैन । पर्यटक भित्र्याउने हो भने त्यसमा ध्यान दिन्नै पछ’, उनले भने । संसारभर नै राष्ट्रिय ध्वजावाहकले नै पर्यटक भित्र्याइरहेका छन् । पछिल्लो पटक अष्टे«लियाको क्वान्टस एयरले भारतीय पर्यटकलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गरायो । अष्टे«लियामा भारतीय पर्यटक बढे । नेपाल सरकारले पनि थप पर्यटक भित्र्याउने हो भने यस्तो रणनीति अवलम्बन गर्नुपर्छ ।
पछिल्लो पटक न्यारो बडी जहाजमा घुस दिइएका विषयमा समेत नेपाललगायत भारतका केही व्यक्तिसमेत जोडिएका छन् । एयरबसले आफ्नो प्रवद्र्धनका लागि नेपालका दुई व्यापारीलाई रु चार करोड घुस दिएको विषय चर्चामा आए पनि त्यसमा निगम नजोडिएको उनी बताउँछन् । ‘एयर बसको गुणगान गाउनलाई दिइएको थियो त्यो रकम । व्यापारीलाई दिइएको भनेको छ । व्यापारीको धर्म नै पैसा कमाउने नै हो । तर त्यो रकम नेपालभित्र आएको भए देखिनुपर्ने हो’ उनले भने ।
‘एयर बस’ र ‘बोइङ’को व्यापारिक लडाईंले संसारभर नै प्रभाव परेको भए पनि नेपालमा त्यसले कुनै असर नपारेको उहाँको ठम्याइ छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)ले नेपाललाई कालोसूचीबाट हटाए पनि युरोपेली संघले कायम राखेको छ । यसप्रति कंसाकारको आपत्ति छ ।
‘एक किसिमले हामी अन्यायमा परेका छौँ । आइकाओले कालोसूचीबाट हटाएको छ । युरोपेली संघले हाम्रो फरक मान्यता छ भन्दै कालोसूचीबाट हटाउन अटेर गरिरहेको छ । मान्दैनौँ भन्छन् । त्यसलाई हटाउन हामी सबै लाग्नुपर्छ’ उनले भने, ‘मैले एयर बसका अधिकारीलाई समेत भनेको थिए, हामीलाई कालोसूचीबाट हटाउन सहयोग गर । अहिलेसम्म केही प्रगति भएको छैन ।’ निगमको सेवा जापान, दक्षिण कोरियामा विस्तार गर्न खोज्दा हामी आएर हेर्छांै भन्नुको पछाडि पनि सोही कारण रहेको उनी ठान्छन् । रासस

प्रतिक्रिया दिनुहोस्