
काठमाडौं । माघ ११ गते १९ सिटका राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि सोमबार दलका उम्मेदवारले मनोनयन तर्दा गर्नुपर्ने छ ।
मनोनयन दर्ता गर्ने दिनको अघिल्लो दिन अधिकांश दलले उम्मेदवार टुंगो लगाइसकेका छन् । तर, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने यो समाचार तयार पार्दासम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
यसपटक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै मैदान उत्रेको छ । गठबन्धनसँग सहकार्य गर्ने प्रयास असफल भएपछि एमाले एक्लैले १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । आइतबार नै सोही अनुसार एमालेले उम्मेदवारको नाम टुंगो लगाएर सार्वजनिक गरिसकेको छ ।
त्यसै गरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार छानिसकेको छ । राप्रपाले १९ मध्ये ९ सिटमा मात्र उम्मेदवारी दिने भएको छ । बाँकी प्रदेशमा भने एक–एक जना प्रदेशसभा सदस्य रहे पनि प्रस्तावक र समर्थक नभएका कारण राप्रपाले उम्मेदवारी नदिने भएको छ ।
सत्तारुढ गठबन्धन दलले पनि १९ सिटको भागबन्डा गरिसकेको छ । नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट पाएको छ ।
गठबन्धनमा भागबन्डा मिलेसँगै माओवादी र जसपाले उम्मेदवार टुंगो लगाइसकेका छन् । माओवादीले आइतबार दिउँसै ६ उम्मेदवार टुंगो लगाएर पनि नाम सार्वजनिक गरिसकेको छ । त्यसै गरी एक सिट पाएको जसपाले पनि उम्मेदवारबारे निर्णय गरेर सार्वजनिक गरिसकेको छ । तर, कांग्रेस र एकीकृत समाजवादी अनिर्णीत रहे ।
कांग्रेसमा संस्थापन इतर समूहका कारण किचलो भएको छ । संस्थापन इतर अर्थात्, नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले गठबन्धनबाट पाएको १० सिटबाट कम्तीमा ४ सिट आफ्नो समूहले पाउनुपर्ने माग राखेको छ । तर, सभापति शेरबहादुर देउवा भने धेरैमा ३ सिट मात्र दिन सकिने अडानमा रहेका छन् ।
संस्थापन र इतर समूहबिच भागबन्डा नमिल्दा १० उम्मेदवार छान्न कांग्रेसलाई हम्मे हम्मे परेको छ । आइबार दिनभर दुवै समूहबिच यस विषयमा छलफल भएको छ । तर, सहमति जुट्न सकेन ।
यता, एकीकृत समाजवादीले भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न नै सकेन । तीन सिट मागे पनि गठबन्धनबाट दुई सिट मात्र पाएको एकीकृत समाजवादीले आइतबार सचिवालय बैठकबाट उम्मेदवार टुंगो लगाउने प्रयास गरेको थियो । तर, सम्भव भएन ।
उम्मेदवार छान्न नसकेपछि सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सर्वाधिकार दिएको छ । अध्यक्ष, उपाध्यक्ष र महासचिवले उम्मेदवार छान्ने छन् ।














