दरबारमा अपमानित भएको त्यो दिन


Published On : 10 March, 2020

यो भन्दा अगाडिको अंकमा मैले जनमत संग्रहमा बीबीसीलाई पठाएको रिपोर्ट सुनेर मण्डलेहरुले मलाई मार्ने धम्की दिएको विषय उठाएको थिएँ । यो अंकमा जनमत संग्रहपछि बीबीसीका लागि राजनीतिक दलका नेताहरुको प्रतिक्रियाको प्रसंग उठाउँदैछु । जनमत संग्रहको परिणाम आएपछि म सबैभन्दा पहिला बिपी कोइरालालाई भेट्न चावहिल पुगेँ । बिपीले म आउँदैछु भनेपछि बीबीसीका लागि प्रतिक्रिया दिन प्रतिक्षा गर्नुभएको थियो ।

केदारमान सिंह

शासन चलाउने व्यक्ति एक जना इमान्दार भएर मात्र हुँदैन । उनका वरपर बस्ने व्यक्तिहरु खराब निस्कियो भने त्यसले सिंगो शासन व्यवस्थामाथि खतरा निम्त्याउँछ । आज राजतन्त्रले जुन अवस्था भोग्यो त्यसको पृष्ठभूमि तिनै व्यक्तिहरुले त्यतिबेलादेखि नै तयार पारेका थिए ।

बिपीसँग मैले सोेधेँ– जनमत संग्रह एउटा ‘स्टेज मेनेजमेन्ट’ हो भनेर मैले पहिला नै बीबीसी र हङकङबाट प्रकाशित हुने ‘फार इस्टन इकोनोमी रिभ्यू’ भन्ने पत्रिकालाई रिपोर्ट पठाएको थिएँ । परिणाम पनि त्यस्तै आयो । यो जनमत संग्रहको परिणामलाई कसरी लिनुहुन्छ ? बिपीले मेरो प्रश्नलाई सामान्य रुपमा लिए र भने, जनताको निर्णय स्वीकार्छु । उहाँले यसो भन्नुको कारण के थियो भने, नेपाली कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । त्यसैले राजा वीरेन्द्रले घोषणा गरेको जनमत संग्रहमा भाग लियौँ । यो एउटा प्रजातान्त्रिक अभ्यास हो । कि त जनमत संग्रहमा भाग नै लिनु हुँदैन थियो, लिएपछि त्यसको परिणाम स्वीकार्नु पर्छ । आखिर २० लाख सचेत मतदाताले बहुदलको पक्षमा भोट हालेर हामीलाई समर्थन पनि गरेका छन् । त्यो मतको सम्मानका लागि पनि जनमतको निर्णय स्वीकार्नु हाम्रो बाध्यता हो भन्ने कुरा बिपीको भनाइको आशय थियो ।

त्यसपछि म प्रतिक्रिया लिन चाक्सीबारी पुगेँ । गणेशमान सिंह पनि बीबीसीलाई प्रतिक्रिया दिन प्रतिक्षारत हुनुहुन्थ्यो । मैले उहाँलाई भने– म भर्खरै बिपीकहाँ गएर तपाईंकहाँ आएको छु । बिपीले त यो परिणाम स्वीकार्नुपर्छ भनेर पो प्रतिक्रिया दिनुभयो । मलाई बिपीको प्रतिक्रियाले अचम्म पारेको छ, तपाईं के भन्नुहुन्छ ? मेरो प्रश्न सुनेर उहाँ कड्किनु भयो । कहाँको परिणाम स्वीकार्ने ? यो झुठ हो, बदमासी हो, विद्रोह गर्नुपर्छ भनेर गणेशमान झोक्किनुभयो । उहाँको आशय के थियो भने, राजा वीरेन्द्र बेलायत पढेर आएको मान्छे । राजकाज कसरी चलाउनुपर्छ भन्ने सोच पनि उनीमा छ । बेलायत पनि राजतन्त्र भएकै देश हो । त्यसैले वीरेन्द्रलाई विश्वमा आफू पनि प्रजातान्त्रिक देशको राजा हुँ भनेर चिनाउनु छ । यता विद्यार्थी आन्दोलनले देशैभरि आगो बलेको स्थिति छ । २००७ सालदेखि प्रजातन्त्रको लागि लडेको कांग्रेस प्रतिबन्धित अवस्थामा छ । यस्तो अवस्थामा राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गरेका छन् । यसको मतलब जनताले बहुदलको पक्षमा मत दिए भने वीरेन्द्रले त्यसलाई स्वीकार्छु भनेको हो । तर, परिणाम वीरेन्द्रको चाहनाअनुरुप आउन दिएन । दरबारियाहरुले शक्तिको चरम दुरुपयोग गरेर पञ्चायतलाई जिताए, त्यसैले यो परिणाम गणेशमान सिंहले स्वीकार्नु हुन्न भन्नुभएको हो ।

तर राजा वीरेन्द्रले घोषणा गरेको जनमतसंग्रह उनका भाइहरुलाई मन परेको थिएन । त्यो भन्दा पनि बढी दरबारका कर्मचारीलाई जनमत संग्रह मन परेको थिएन । उनीहरु विद्यार्थी आन्दोलन दबाउन चाहन्थे । तर राजा वीरेन्द्रले ठूलै आँट गरेर जनमत संग्रह घोषणा त गरे, तर, जनताले बहुदललाई जितायो भने हाम्रो हैसियत के होला भन्ने चिन्ता राजा वीरेन्द्रलाई भन्दा बढी उनी वरपर बस्ने कर्मचारीहरुलाई प¥यो । राजा त राजा वीरेन्द्र नै थिए, तर शासनसत्ता उनी वरपर बस्नेहरुले चलाइरहेका थिए । राजाका मुख्यसचिव नारायणप्रसादको के कुरा ? तिनको अण्डरमा बस्ने चिरनशम्शेर थापाको चुरीफुरी यतिसम्म थियो कि हरेक अञ्चलका अञ्चलाधीश, सिडिओले दिनदिनै उनलाई रिपोर्ट बुझाउनुपथ्र्यो ।

त्यतिबेला थापा संवाद सचिव थिए । तर, दरबारको सिंगो पावर लिएर उनी बसेका थिए । प्रधानमन्त्री सूर्यबहादुर चिरन थापादेखि प्रत्येक मन्त्रीलाई उनले नै कजाउँथे । यो कुरा सूर्यबहादुर थापालाई भित्रभित्र मन परेका थिएन । त्यसैले सूर्यबहादुर थापा सत्ताबाट हटेको केही समयपछि उनले देश भूमिगत गिरोहले चलाएको छ भनेर सार्वजनिक अभिव्यक्ति दिए । त्यतिबेला भूमिगत गिरोह भनेर राजाका भाइलगायत शरदचन्द्र शाहहरु चिनिन्थे ।

राजालाई ढाल बनाएर शक्ति दुरुपयोग गरिरहेका दरबारका कर्मचारीहरुले जसरी भए पनि पञ्चायतलाई जिताउनु थियो । पञ्चायत जिताउन उनीहरुले साम, दाम, दण्डभेदको नीति अपनाए । बाहिर के हुँदैछ ? दरबारका कर्मचारीहरुले के के हर्कत गरिराख्या छ भन्ने कुरा राजा वीरेन्द्रलाई थाहा हुने कुरै भएन । थाहा पायो भने त वीरेन्द्रले हकारीहाल्छ । त्यसैले दरबारका कर्मचारीहरुले हरेक दिन राजा वीरेन्द्रलाई गलत ब्रिफिङ गर्दै आए । भित्रभित्र राज्यको ढुकुटी रित्याए, आफ्नो स्वार्थपूर्ति गरे, वनजंगल फाडे र अन्ततः २४ लाख मत ल्याएर पञ्चायती व्यवस्था विजयी भएको घोषणा गरे । कतिसम्म भने त्यतिबेला राजा वीरेन्द्रभन्दा शक्तिशाली विष्णुमणि आचार्य ‘हाकुबाजे’ भन्ने थिए । उनी दरबारका एक जना कर्मचारी हुन् । उनको नाम लिनासाथ मन्त्री, सचिव र अञ्चलाधीशसमेत थर्कमान हुन्थे । मैले यो कुरा किन उठाइरहेको छु भने, शासन चलाउने व्यक्ति एक जना इमान्दार भएर मात्र हुँदैन । उनका वरपर बस्ने व्यक्तिहरु खराब निस्कियो भने त्यसले सिंगो शासन व्यवस्थामाथि खतरा निम्त्याउँछ । आज राजतन्त्रले जुन अवस्था नेपालमा भोग्यो त्यसको पृष्ठभूमि तिनै व्यक्तिले त्यतिबेलादेखि नै तयार पारेका थिए ।

एक दिनको कुरा हो, जनमतसंग्रहको रापले नेपाल तातेको थियो । बहुदलको पक्षमा देशैभर लहर आएको थियो । राजा वीरेन्द्रसँग भेट्ने मेरो इच्छा छ भनेर मार्क टेलीले मलाई दिल्लीबाट फोन गरे । मैले चिरनशम्शेरलाई फोन गरेर समय मिलाइदिन आग्रह गरेँ । थापाले समय मिलाएर मलाई फोन गरे । मैले मार्क टेलीलाई काठमाडौँ बोलाए । ऊ आयो । उसलाई मैले मेरै मोटरमा राखेर दरबार पु¥याएँ । चिरनको कोठामा एकैक्षण हामी कुराकानी ग¥यौँ । त्यसपछि भित्रबाट राजाले खबर पठाए । भित्र राजासँग भेट्न जाने बेलामा चिरनले केदारजी, तपाईं यही चिया पिएर बस्नुस्, म उहाँलाई लिएर भित्र जान्छु भने । सायद म बहुदलको पक्षमा बढी रिर्पोटिङ गर्ने भएकोले होला, ऊ मसँग पहिलादेखि नै रिसाएको थियो । त्यसैले मलाई उसले अपमान ग¥यो । भित्र गएको भए त राजासँग एक दुई प्रश्न मैले पनि राख्थेँ । तर, एक जना राजाको सामान्य कर्मचारीबाट त्यो पनि दरबारभित्रै म अपमानित हुनुपरेकोमा आजसम्म दुखी छु । मेरो पत्रकारिताको जीवनमा मलाई राजा वीरेन्द्रले समेत सम्मान गर्थे । तर, दरबारका एक जना कर्मचारीले मेरो अपमान गरेको कुरा मैले कहिले पनि बिर्सन सक्दिनँ ।

प्रतिक्रिया दिनुहोस्