Logo
Logo

कोरोनाको कहरमा अर्थतन्त्र


- दृष्टि न्युज/संवाददाता


तीव्र गतिमा विश्वभर फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) रोकिने कुनै संकेत छैन । चीन, दक्षिण कोरिया, इरान, इटाली अहिलेसम्म कोरोनाको सर्वाधिक चपेटामा परिसकेका छन् । पछिल्लो समय एसिया, युरोप, अमेरिका सबैतिर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । सवा लाखभन्दा बढी मानिसमा यसको संक्रमण भइसकेको छ भने, झन्डै सात हजारको ज्यान गइसकेको छ । नेपालका दुई छिमेकी सर्वाधिक जनसंख्या भएका चीन र भारतमा फैलिएको संक्रमण नेपालका लागि चिन्ताको विषय बनेको छ । चीनमा संक्रमणको दर न्युन भइसके पनि भारतमा तीव्रगतिमा फैलिरहेको छ । यस्तै, खाडी देशहरू साउदी अरेबिया, युएई, कतार, ओमान, बहरान र मलेसियामा फैलिँदो संक्रमणको त्रास पनि नेपालीमाथि बढी छ । किनभने, रोजगारको शिलशिलामा ती देशमा ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । नेपालभित्रै भने अहिलेसम्म एकजनामा मात्रै संक्रमण देखिएको छ । र, उनलाई उपचारपछि निको भइसकेको अवस्था छ । तर, कोरोनाको पछिल्लो फैलावटले मानवीय क्षतिको त्राससँगै आर्थिक क्षेत्रमा आउन सक्ने सम्भावित जोखिमले पनि आम नेपालीलाई चिन्तित तुल्याएको छ । दैनिक जीवनमा यसले पारेको असर त थामिनसक्नु बन्दै गएको छ । नेपालको वैदेशिक व्यापार, पर्यटन, विदेशी लगानी र प्राविधिक परनिर्भरता भारतपछि चीनसँग छ । यसकारण पनि अर्थतन्त्रमा चौतर्फी असरको सम्भावना देखिन्छ । हालसम्म सार्वजनिक विवरणअनुसार आयात–निर्यात, पर्यटन आगमन, सम्भाव्य विदेशी लगानी र लगानी भइसकेका क्षेत्र, विकास निर्माणका आयोजना, रोजगारीका लागि विदेशिने श्रमशक्ति र रेमिट्यान्समा असर देखा परिसकेको छ ।

श्रम गन्तव्य रहेका मुलुकहरूमा पनि कोरोना भाइरसले भयावह रूप लिएका कारण तत्कालै त्यसको असर नेपाली अर्थतन्त्रमा देखिनेछ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा विप्रेषण अर्थात् रेमिट्यान्सको योगदान २५.४ प्रतिशत छ । दुई दशकअघि जिडिपीमा विप्रेषणको अंश जम्मा १०.७ प्रतिशत मात्र थियो । अहिले निकै बढेको छ । यसका साथै नेपाल जीवनस्तर सर्वेक्षणअनुसार करिब ५६ प्रतिशत नेपाली घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन् । नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये ५०.३ प्रतिशत खाडी मुलुकबाट आउँछ । यो त्यही क्षेत्र हो, जहाँ लाखौँ नेपाली श्रम बेचिरहेका छन् । त्यसकारण नेपाली जनजीवन र अर्थतन्त्र पूर्ण रूपमा रेमिट्यान्ससँग जोडिएको छ । कोरोनाका कारण यो क्षेत्र जोखिममा रहेकाले मुलुककै अर्थतन्त्र जोखिममा परेको हो ।

यस्तै, कोभिड–१९ संक्रमणलगत्तै वैदेशिक व्यापारमा असर देखिएको छ । थोरै भए पनि नेपाली सामान चीन निर्यात गरी विदेशी मुद्रा आर्जनको ढोका पनि यसले बन्द गरिदिएको छ । वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको सामान चीनबाट आयात हुने भएकाले नेपाली बजारमा उसको हिस्सा १६ प्रतिशत छ । ती सामग्री आयात हुने प्रमुख नाका रसुवागढी ९ हप्तादेखि बन्द छ । कतिपय सामग्री भारत र अन्य मुलुक हुँदै नेपाल भित्रिने गरेकाले बजारमा अभावसमेत देखा परिसकेको छ । कोभिड–१९ को अर्को असर बजारमा परेको छ । अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्रीको अभावको मार बढ्दो छ । कुनै सामग्री अभाव नभए पनि व्यापारीले मौज्दात राखी कालोबजारी गर्ने विगतको प्रवृत्ति हेर्दा यसको मार उपभोक्ताले खेप्नुपरेको हो । यो पूर्ववत् आकलनलाई विचार गर्दै चीनबाट आयात हुने सामग्री पहिचान, तिनको विकल्प हेरी कालोबजारी हुनबाट रोक्नेदेखि आपूर्ति प्रणालीलाई सन्तुलित नियन्त्रणमा राख्ने काममा सरकारले सफलता पाएको छैन ।
अर्को ठूलो असर नेपालको पर्यटन क्षेत्रमा परेको छ, आगामी समयमा झन यसको असर बढी देखिनेछ । यसै वर्षलाई नेपालले भिजिट वर्षका रूपमा मनाउने तयारी गरेको थियो । करोडौँ खर्च गरेर संसारको ध्यान खिच्ने काम पनि भइसकेको थियो । तर, नेपालमा भारतीयपछि सबभन्दा बढी पर्यटक चीनमै कोरोना देखा परेपछि चिनियाँ पर्यटक स्वाट्टै घटे । गत वर्ष १२ लाखभन्दा बढी पर्यटक भित्रिएकोमा यस वर्ष आधा पर्यटक पनि आउने सम्भावना न्युन बनेको छ ।

यसरी नेपाली अर्थतन्त्रले कोरोना भाइरसको ठूलो प्रहार सहनुपर्ने बाध्यता आइपरे पनि सरकारले त्यो प्रहार थेग्न सक्ने सम्भावना न्युन देखिन्छ । यसको सबैभन्दा महत्वपूर्ण सवाल भनेको नेपालका अर्थमन्त्रीको अकर्मण्यता हो । यस्तो जोखिम र विपत्तिका वेला नेतृत्वको सुझबुझपूर्ण निर्णय र कदमले त्यो देश अघि बढ्छ कि थला पर्छ भन्ने निक्र्यौल गर्छ । हाम्रा अनुभवलाई हेर्दा भने अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थराजनीतिक अनुभवहीनता, सानो कोठरीमा रमाउने स्वभाव तथा समग्रमा वैचारिक दृष्टिकोणमै रहेको त्रुटीका कारण नेपाली अर्थतन्त्र यो कठिन दौरबाट सहजै बाहिर निस्कन सक्ने अवस्थामा देखिँदैन । तर, तिनै मन्त्री प्रधानमन्त्रीका प्रिय पात्र बनेका छन् । सांसद नहुँदासमेत उनलाई अर्थमन्त्री बनाएर प्रधानमन्त्रीले ठूलो जोखिम मोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्