Logo
Logo

कांग्रेसको महासमिति बैठकः शेखर, गगन र विश्वप्रकाशलाई ‘सौतेनी’ व्यवहार !



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । 

बैठकमा नीति, साङ्गठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन् । यस्तै महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नेछन् । 

प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन तथा लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले महासमिति बैठकमा प्रस्तुत हुने साङ्गठनिक र राजनीतिक प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषयमा जोड दिएका छन् । थापा र कोइरालाले प्रतिवेदनमै यो विषय राख्न खोजे पनि सभापति देउवा पक्षले आवश्यकताका आधारमा जहिले अरू दलसँग गठबन्धन गर्न सकिने भएकाले प्रतिवेदनमा यो विषय राख्न जरुरी नभएको बताएको छ ।

यही विवादले गर्दा महासमितिको बैठक सुरु हुने बेलासम्म पनि कार्यसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको थिएन । यसै विषयलाई लिएर सभापति देउवा र महामन्त्री गगन थापाबीच भनाभन भएको थियो । गगन र शेखर पक्षले गठबन्धनले गर्दा कांग्रेसको नीति र सिद्धान्त मासिँदै गएको आरोप लगाएका छन् । देउवा पक्षले भने देशमा परिवर्तन उल्टाउने शक्ति सलबलाइरहेको अवस्थामा गठबन्धन गर्नु ठिक भएको तर्क गर्दै आएका छन् ।

उद्घाटन समारोहमा सभापति देउवाले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने दोहो¥याए । देउवाले जति बेला गठबन्धनको आवश्यकता पर्छ त्यति बेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताए । 

महामन्त्रीद्वयलाई बोल्न दिइएन 
महासमिति बैठकको उद्घाटन समारोहमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मन्तव्य राख्नबाट बन्चित गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमवार दिउँसो चलिरहेको उद्घाटन समारोहमा गगन र विश्वप्रकाशले मन्तव्य राख्न नपाएका हुन् ।

शुरूमा कांग्रेस जिल्ला सभापतिले स्वागत मन्तव्य राखेपछि सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्वागत मन्तव्य राखे । डिनापछि सिधै उपसभापति धनराज गुरुङलाई बोल्न समय दिइएको थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले मन्तव्य राखेका थिए । 

अब हुने निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्न पार्टी महामन्त्री गगन थापाले तयार पारेको साङ्गठनिक प्रतिवेदन बदल्न कांग्रेसको संस्थापन पक्ष सक्रिय छ । 

महासमितिबाट सो प्रस्ताव पारित भए अहिलेको गठबन्धनमा सत्ता हस्तान्तरण प्रक्रिया प्रभावित हुने भयले संस्थापन पक्ष महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्ने या नगर्नेबारे छलफल गर्न तयार देखिएको छैन ।

माधव नेपालले सरकारको एक वर्ष नेतृत्व गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा दुई वर्ष प्रधानमन्त्री हुनेछन् । पछिल्लो समय माओवादी केन्द्रमा राष्ट्रियसभाको निर्वाचनमा कोशीको परिणामलाई लिएर कांग्रेससँगको गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने बहस सुरु भइरहेको छ ।

गठबन्धन नगर्ने प्रतिवेदन पारित भएमा प्रचण्डले एमालेसँग मिलेर गठबन्धन गर्न सक्ने भयले संस्थापन पक्ष सकेसम्म त्यसबारे बैठकमा छलफलै नगराउने पक्षमा देखिएको छ ।

त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएर पार्टी महामन्त्री गगन थापासँग सोमबार छलफल गरे । तर, संस्थापन इतर समूह कुनै हालतमा महासमिति बैठकमा गठबन्धनबारे छलफल गराउने र निर्णय गराउने पक्षमा देखिएको छ । त्यसैले देउवा र थापाबीचको वार्ता सहमतिमा पुग्न सकेन । 

कांग्रेसमा चुनावी गठबन्धन नगर्ने विषय जोडतोडले उठेको छ । जुन कुरा माओवादी केन्द्रलाई अहिले नै सचेत गराउने विषय बनेको छ ।

शेखरलाई पनि  ‘सौतेनी’ व्यवहार
कांग्रेसमा महाधिवेशनमा सभापति पदममा पराजित हुने नेतालाई दोस्रो या तेस्रो वरियतामा राख्ने प्रचलन छ । विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग शेरबहादुर देउवा पराजित हुँदा उनलाई दोस्रो वरियतामै राखिएको थियो । 

तर, १४ औँ महाधिवेशनमा देउवासँग पराजित भएको नेता डा. शेखर कोइरालालाई भने पार्टी वरियतामा २०औँ स्थानमा रोखेका छन् । विगतमा देउवा र शेखरको सम्बन्ध सुधार हुँदा उनलाई वरिष्ठ नेता बनाउने चर्चा चलेको थियो । तर, पछिल्लो समय यी दुई नेतामा सम्बन्ध राम्रो छैन । देउवाले शेखरलाई कति स्पेस दिएका छन् भन्ने कुरा महासमिति बैठकको उद्घाटनमै स्पष्ट देखिएको छ ।

उद्घोषकले सभापति, उपसभापति, महामन्त्रीहरूलाई पालैपालो आसन ग्रहण गराए । उनीहरूको आसन ग्रहण गराएपछि अन्य नेताहरूको पालो आयो । केन्द्रीय सदस्यहरूको आसन ग्रहणपछि मात्रै पालो आयो १४औँ महाधिवेशनको सभापतिको प्रतिस्पर्धी शेखर कोइरालाको ।  यसले देउवाले शेखरलाई ‘सौतेनी’ व्यवहार गरेको भन्दै गरेको भन्दै शेखर पक्षले असन्तुष्ट जनाउन थालेका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा छ । २०४८ मा भएको ८औं महाधिवेशनबाट सभापति बनेका कृष्णप्रसाद भट्टराईले शीर्ष तहका नेताहरिका लागि छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरेका थिए ।

२०५७ सालमा भएको १० औं महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रतिस्पर्धा गरे । पराजित देउवालाई गिरीजाले केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गरे । सभापतिमा पराजितलाई कार्यकक्ष प्रयोग गर्न दिने औपचारिक प्रक्रिया त्यसै महाधिवेशनबाट सुरु भयो ।

सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गर्ने निरन्तरता १४औं महाधिवेशन अघिसम्म कायमै थियो ।

१३औं महाधिवेशनमा सभापतिमा पराजित भएका रामचन्द्र पौडेलले वरिष्ठ नेताका रुपमा कार्यकक्ष पाए । दोस्रोपटक सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि विगतको परम्परामा अल्पविराम लाग्यो । १४औं महाधिवेशनमा देउवाले सभापतिमा नेता शेखर कोइरालालाई हराए ।

तर, देउवाले ४० प्रतिशतको शक्ति शेखर पक्षलाई वेवास्ता गर्दै आएको छन् । महासमिति बैठकमा पनि सो कुरा छर्लङ्ग भएको छ  । 

प्रतिक्रिया दिनुहोस्