Logo
Logo

ओली-प्रचण्ड पुनर्मिलनको संकेत



काठमाडौं । सत्ताको मुख्य घटक नेपाली कांग्रेसभित्र अहिलेको सत्ता समीकरणलाई हेर्ने दृष्टिकोणमा तीव्र मतभेद देखिएको छ ।

गठबन्धनप्रति सभापति शेरबहादुर देउवा र अर्को नेता शेखर कोइराला तथा महामन्त्री गगन थापाबीच समान मत छैन । देउवा निर्वाचनसम्म यही गठबन्धन कायम होस् भन्ने चाहिरहेका छन् भने, कोइराला र थापा यो गठबन्धन भत्काएर अर्को समीकरण वा कांग्रेसको एकल सरकार निर्माणको पक्षमा छन् ।

त्यसका लागि संसदीय दलको नेता परिवर्तन गर्ने कसरत चलिरहँदा महासमिति बैठक सोमबारदेखि गोदावरीमा सुरु भएको छ । त्यहाँ पनि कांग्रेसका नेताहरूले गठबन्धनबारे निकै छलफल गरेका छन् ।

कोशी प्रदेशमा नेकपा एमालेले जसरी शेखर समूहलाई आफ्नो रणनीतिमा राखेर सरकारमा प्रवेश गरायो, त्यसरी नै संघीय सरकारमा पनि एमालेको चलखेल नहोला भन्न सक्ने अवस्था छैन । त्यसको संकेतलाई माओवादी नेताहरूले पनि नजिकबाट नियालिरहेका छन् । खासगरी पछिल्ला केही दिन एमाले अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकार र गठबन्धन दलको विषयमा आक्रामक देखिएका छैनन् । तर, ओलीको गठबन्धन भत्काउने रणनीति भने बद्लिएको छैन ।

२०७९ पुस १० गते नेकपा माओवादीको नेतृत्वमा सरकार बनेपछि राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच अविश्वासको वातावरण पैदा भएको थियो । त्यसपछिका घटनाक्रमले प्रचण्ड र ओली एक अर्काको विरोधमा खुलेरै लागेको देखिन्छ ।

तर, भित्री रूपमा एमाले र माओवादीका नेताहरूबीच छलफल चलिरहेको बताइन्छ । गत विधान अधिवेशनमा प्रचण्डले कांग्रेसले पटक पटक धोका दिएको प्रसंग उठाएका थिए । यद्यपि, गठबन्धनको बैठकमा उनले कार्यकर्ता फकाउन भनेको प्रस्टीकरण दिएका थिए । जे भए पनि प्रचण्डको उक्त भनाइ कांग्रेसप्रतिको असन्तुष्टि नै हो ।

माओवादी सशस्त्र हिंसाका बेला ओली प्रचण्डका कटु आलोचक थिए । शान्ति प्रक्रियाको सुरुवाती वर्षहरूमा ओली प्रचण्डविरुद्ध आक्रामक नै बनेका थिए । तर, २०७४ को चुनावअघि ओलीले प्रचण्डसँग हातेमालो गरेर सबैलाई आश्चर्यचकित पारेर एक ठाउँमा उभिएका भएपनि पछिल्ला घटनाक्रमले उनीहरूको सम्बन्ध बाहिरबाट हेर्दा राम्रो देखिँदैन ।

एक अर्काविरुद्ध जतिसुकै विरोधमा उत्रिए पनि प्रचण्ड र ओलीको संगमस्थलहरू धेरै छन् । दुवै कम्युनिस्ट नेता हुन् । जसका कारण २०७४ सालमा दुवैले नेकपासमेत बनाएर संयुक्त अध्यक्ष बने । प्रधानमन्त्रीमा आधा–आधाको सहमति गरे । सहमति अनुसार नभएपछि सत्ताको लडाइँ चल्यो । जसमा ओलीले धक्का खाए ।

माधव नेपालको साथ लिएर प्रचण्ड अघि बढे । माधव नेपालको साथमा अहिलेसम्म प्रचण्ड सरकारमा टिकिरहेका छन् भन्दा फरक पर्दैन । तर, त्यसको मूल्याङ्कन प्रचण्डले गरेका छैनन् । उस्तै परे एमालेको साथमा प्रचण्ड सत्ता टिकाउने दाउमा जाने छन् । ओलीको दाउ पनि माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिनु हो ।

तीन नेताको बीचमा गठबन्धनमा प्रचण्ड दुई वर्ष, माधवकुमार नेपाल एक वर्ष र शेरबहादुर देउवा दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएपनि कांग्रेसको किचलोले विगतको सहमति भाँडभैलो हुने देखिँदै छ ।

गठबन्धनका कारण २०७९ को निर्वाचनमा ओली एक्लो परे । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग हात मिलाए । एमाले छाडेर नेकपा एस गठन गरेका माधव नेपाल पनि प्रचण्डसँग मिले । निर्वाचनमा ओली नेतृत्वको एमालेले ठूलो धक्का खाएको पीडालाई पूर्ति गर्न ओली र प्रचण्ड पुनर्मिलन असम्भव छैन । प्रचण्डले एक वर्ष सत्ता सञ्चालन गरिसकेका छन् ।

यस क्रममा उनले विरोधी तह लगाउने गरी भ्रष्टाचारका घटना उठाए । माओवादी छाडेर एमालेमा लागेका टोपबहादुर रायमाझी जेल हालिए । एमाले पक्षका व्यापारीहरू जेल पुगे । निकै छटपटिए ओली आफ्नो रणनीति बद्लिएर कोशीमा कांग्रेसको कोइराला पक्षलाई समर्थन गर्न पुगे । एनसेल प्रकरणमा प्रचण्डले ओलीलाई समेत बोल्न नसक्ने बनाइदिए । उनले यो प्रकरणमा ओली र देउवा समेतको संलग्नता रहेको संकेत गर्ने गरी संसदीय समितिमै बोलिदिए ।

टेरामेक्स घोटाला प्रकरणमा अख्तियारबाट मुद्दा रोक्ने चलखेल शीर्ष नेताकै तहमा चलिरहेको छ । यो प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत, वर्तमान मुख्यसचिव बैकुण्ठ अर्याल पनि जोडिएका छन् । यसमा पनि ठूलै राजनीतिक लेनदेनको खेल चलिरहेको छ । टेरामक्समा दुई सांसद मुछिए भने कांग्रेसभित्रको बालकृष्ण खाणसँग रहेका सात सांसदले देउवालाई साथ नदिएपछि कांग्रेसको संसदीय दलमा कोइरालाई सहज हुने सम्भावनालाई समेत नजर लगाइएको छ ।

बाहिरबाट हेर्दा शेखर कोइरालालाई साथमा लिन ओली लागेजस्तो देखिए पनि पछिल्लो समय प्रचण्ड ओलीप्रति नरम देखिएका छन् । दुई दिनअघि संसद्मा बोल्दै प्रचण्डले मंसिरमा एमालेले मध्यपहाडमा देखेका समस्याको बारेमा सरकार जनाकार रहेको र समस्या सुल्झाउन बजेट व्यवस्था गर्न लागेको जानकारी दिएका थिए ।

यतिबेला बाह्य शक्ति पनि क्रियाशील रहेको छ । विशेषगरी चीनले माओवादी र एमालेका नेताहरुका भेटघाटलाई बाक्लो बनाउन विभिन्न कोणबाट प्रयास गरिरहेको छ । माओवादी र एमालेका नेताहरूको चीन दौडधुप तीव्र छ । उनीहरूनिकट बुद्धिजीवी र विभिन्न संस्थाका अधिकारीहरू पनि हरेक हप्ताजसो चीन गइरहेका छन् ।

चीनले विगतमा पनि प्रचण्ड र ओलीलाई मिलाएको खुलाइसकेको छ । दुवैलाई नेकपा नफुटाउन चीनले दबाब दिएको थियो । तर, त्यो काम लागेन । अहिले फेरि चीनको सक्रियता ओली र प्रचण्डलाई मिलाउने दिशामा छ ।

सम्पर्क माध्यममार्फत पनि यी दुई नजिकिँदै छन् । ओली र प्रचण्डले आफूहरू नमिले नयाँ शक्तिको चुनौती सामना गर्न नसक्ने निष्कर्ष निकालिसकेका छन् । तर, भारततर्फबाट दुई साता अघि नेपाल आएका सुरक्षा अधिकारीहरूले नेपालको राजनीतिमा संख्यात्मक रुपले कोइराला समूह बलियो हुँदै गएको सन्देश लिएर गएका छन् ।

पशुपति दर्शनको नाममा नेपाल आएका १६ सुरक्षाकर्मीहरूको टोलीले एकसाता लामो नेपाल बसाइपछि कांग्रेसभित्र कोइराला पक्ष बलियो भएको सन्देश लिएर गएका हुन् । जसले गर्दा ओलीको कोइराला समूह पर्न सक्ने सम्भावना पनि बलियो रहेको राजनीतिक वृत्तमा अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्