Logo
Logo

साधारणसभामा अराजकता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औँ साधारणसभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०७९÷८० मा ३ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको भए पनि सर्वसाधारण शेयरधनीलाई एक रुपैयाँ पनि मुनाफा नदिएकोमा शेयरधनीहरु आक्रोशित भएका थिए । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे स्वयंले पनि ३७ वर्षको बैंकिङ इतिहासमा पहिलोपटक शेयरधनीहरुले नगद लाभांश नपाएकोमा दुःखेसो पोखे ।

अध्यक्ष पाँडेले कोभिडपछि बैंकिङ क्षेत्रमा विभिन्न समस्या आएकोले बैंकहरुको आर्थिक अवस्था ठिक नभएको बताउँदै अबको एक, दुई वर्षमा बैंकको अवस्था ठिक हुने कुरामा शेयरधनीहरुलाई आश्वस्त पारे । उनले भने– आफ्नै परिवारको अर्बौं रुपैयाँ लगानी गरेको बैंकले एक रुपैयाँ पनि नगद लाभांश दिन्नभन्दा आफू पनि सर्वसाधारण शेयरधनीहरुजस्तै मर्कामा परेको बताए । पाँडेले भने– दुई पैसा आम्दानी होला र खर्च गरुँला भनेर आशा गरेर बसेका शेयरधनीहरुलाई बैंकको यस निर्णयले दुःखी बनाएकोमा आत्मालोचना गर्दै भविष्यमा चित्तबुझ्दो लाभांश दिएर सबैलाई खुसी बनाउने आश्वासन दिए ।

गत मंगलबार प्रज्ञा भवनमा आयोजित ३७ औँ साधारणसभामा मेगा बैंकका शेयरधनीहरु बढी आक्रोशित मात्र थिएनन्, उनीहरुको प्रस्तुति अराजक पनि थियो । आफूलाई ल क्याम्पसको पूर्व डिन भन्ने एक जना शेयरधनीले उत्तेजित हुँदै आफू यस बैंकको सञ्चालकमा नियुक्ति भएको खण्डमा न्यूनतम १० प्रतिशत नगद लाभांश दिने भनेर चुनावी प्रचार समेत गरे । तर सर्वोच्च अदालतको अल्पकालीन आदेशले निर्वाचन प्रक्रिया स्थगित भयो । निर्वाचन प्रक्रिया स्थगित गराउन पनि बैंककै शेयरधनीहरुले भूमिका खेलेका थिए ।

त्यसैगरी पश्चिमाञ्चल फाइनान्स घोटाला गरेर निकालिएका पूर्वकार्यकारी प्रमुख भन्नेले बैंक कसरी सञ्चालन गर्नुपर्छ भनेर पृथ्वीबहादुर पाँडेलाई पढाउँदै गर्दा सर्वसाधारण शेयरधनीहरु हाँसे । नेपालका प्रतिष्ठित बैंकर पाँडेजस्ता विज्ञलाई एउटा फुच्चे फाइनान्सको पूर्व सिइओ भन्नेले बैंक कसरी सञ्चालन गर्नुपर्छ भनेर ‘लेक्चर’ दिनु शोभनीय कुरा होइन । त्यसैगरी केही अराजक भीडले बैंकका सुरक्षागार्ड र नेपाल प्रहरीको अपमान गर्दै ‘हल’बाट निष्काशन गर्ने माग गरे ।

बैंकलाई सबैभन्दा ठूलो मर्का एफपिओमा सरकारले कर लगाउने कुरा बजेटमा ल्याएपछि भयो । जबकि, भारतलगायत विश्वका कुनै पनि देशमा एफपिओमा कर लाग्दैन । तर सर्वोच्च अदालतले समेत एफपिओमा कर लगाएपछि बैंकले आफ्नो नाफाबाट १ अर्ब ९२ करोड २३ लाख २१ ह्जार ९८१ रुपैयाँ गुमाउनुपरेको थियो ।

बैंकको साधारणसभामा बैंकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका आधारमा टीकाटिप्पणी गर्नुपर्नेमा केही शेयरधनीहरुले सञ्चालकहरुमाथि व्यक्तिगत लाञ्छना लगाउने काम गरे । तर पनि सञ्चालकहरुले धैर्यतापूर्वक हरेक शेयरहोल्डरहरुको कुरा सुने र जवाफ दिए । कतिपयले त पशुपति मन्दिर सफा गर्ने जिम्मा बैंकको नभएकोले बजेट कटौती गर्नसमेत आग्रह गरे । थोरै मात्र शेयरधनीहरुले सकारात्मक सुझाव दिएका थिए । कतिपयले मेगा बैंकसँग मर्जर नगरेको भए नगद लाभांश पाउने कुरा राखेका थिए । तर, उनीहरुलाई के थाहा भएन भने मर्जर नभएको भए राष्ट्र बैंकले नगद लाभांश समेत रोक्ने चेतावनी दिएको थियो ।

बैंकलाई सबैभन्दा ठूलो मर्का एफपिओमा सरकारले कर लगाउने कुरा बजेटमा ल्याएपछि भयो । जबकि, भारतलगायत विश्वका कुनै पनि देशमा एफपिओमा कर लाग्दैन । तर सर्वोच्च अदालतले समेत एफपिओमा कर लगाएपछि बैंकले आफ्नो नाफाबाट १ अर्ब ९२ करोड २३ लाख २१ ह्जार ९८१ रुपैयाँ गुमाउनुपरेको थियो ।

बैंकले ३४ हजार पूर्व नेपाली सेनाका जवानहरुलाई स्वरोजगार बनाउन ऋण लगानी गरेको छ । सेनाबाट अवकाश पाएसँगै उनीहरुको परिवार पाल्न स्वरोजगार ऋणले ठूलो राहत दिएको छ । बैंकमा ४६ प्रतिशत महिला कर्मचारीहरु कार्यरत छन् । मेगा बैंकसँग मर्ज भएपछि खर्च कटौती गर्न बैंकले ३६ वटा शाखा बन्द गरेको छ । भविष्यमा धेरै शाखा गाभिने बैंकले जनाएको छ ।

आर्थिक वर्षमा बैंकको कुल सम्पत्ति रु ४ खर्ब ४६ अर्ब पुगेको छ । अघिल्लो वर्ष कुल सम्पत्ति साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंकको क्रमशः २ खर्ब ४४ अर्ब र २ खर्ब २३ अर्ब गरी कुल जम्मा रु ४ खर्ब ६८ अर्बमा करिब रु. २१.४३ अर्ब अर्थात् ४.५८ प्रतिशतले कमी आएको छ ।

बैंकले समीक्षा अवधिमा रु. १६.९७ अर्ब निक्षेप वृद्धि गरेको छ । जुन अघिल्लो वर्ष साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंकको कुल निक्षेप रु. ३ खर्ब ४३ अर्बको तुलनामा ४.९४ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ६० अर्ब पुगेको छ ।

त्यसैगरी कर्जा तथा सापटी करिब रु. २.२९ अर्बले कमी आई २०८० असार मसान्तसम्ममा रु. ३ खर्ब १२ अर्ब कायम भएको छ । जुन अघिल्लो वर्ष साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको कुल कर्जा तथा सापट रु. ३ खर्ब १४ अर्बको तुलनामा ०.७३ प्रतिशतले कम हो । उच्च ब्याजदर, आर्थिक मन्दी, राजनीतिक अस्थिरता तथा खस्किँदो लगानी वातावरणका कारण कर्जा असुली प्रभावित भएकोले समीक्षा आर्थिक वर्षमा बैंकको निस्क्रिय कर्जा ४.५४ प्रतिशत पुगेको छ ।

कोभिड–१९पछि देखिएको आर्थिक मन्दीका कारणले विशेषगरी ग्रामीण क्षेत्र तथा साना मझौला उद्योग क्षेत्रलाई परेको गहिरो प्रभाव, घरजग्गा तजा पुँजीबजारमा आएको ह्रास र सहकारी संस्थाहरु समस्याग्रस्त हुनाले त्यसको असर समग्र वित्तीय प्रणालीमा पर्नाले पनि बैंकको निस्क्रिय कर्जा बढ्न गएको हो ।

फलस्वरुप बैंकको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ, जुन समीक्षा आवको अन्तमा रु. १ अर्ब १६ करोड पुगेको छ । आर्थिक मन्दीका कारण घरजग्गाको मूल्यमा औषतमा २०÷३० प्र्रतिशत ह्रास आएको र गैरबैंकिङ सम्पत्ति बिक्री गर्न पनि कठिनाइ भएको कारण आगामी दिनमा पनि गैरबैंकिङ सम्पत्ति थप बढ्ने देखिन्छ । तथापि, बैंकले विद्यमान नीति निर्देशनभित्र रही कर्जा असुलीलाई थप प्रभावकारी ढंगबाट कार्यान्वयन गरी निस्क्रिय कर्जालाई वाञ्छित सीमाभित्र ल्याउन बैंक निरन्तर प्रयासरत रहेको छ ।

नाफा–नोक्सानतर्फ समीक्षा आव २०७९÷८० मा बैंकले रु. १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी खुद शुल्क तथा कमिशन आम्दानी यस आर्थिक वर्षमा रु. १ अर्ब ६० करोड भएको छ । विदेशी मुद्रा सटही आम्दानी रु. ५० करोड ७६ लाख रहेको छ । त्यसैगरी अन्य सञ्चालन आम्दानी भने रु. ३५ करोड २५ लाख रहेको छ ।

कर्जा नोक्सानी व्यवस्थातर्फ भने बैंकले आव २०७९÷८० मा रु. ३ अर्ब २० करोड थप व्यवस्था कायम गरेको छ भने, गैरसञ्चालन खर्चअन्तर्गत रु. १ अर्ब ३० करोड कर्जा अपलेखन गरेको छ । समीक्षा वर्षमा बैंकको कर्मचारी खर्चतर्फ रु. ३ अर्ब ४ करोड खर्च भएको छ भने सञ्चालन खर्च (ह्रास कट्टिसहित) रु. १ अर्ब ९० करोड रहेको बैंकले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्