
काठमाडौं । इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज आइतबारदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्मका लागि मदिरा बिक्री–वितरणमा रोक लगाएको हो ।
निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न पनि स्थानीय प्रशासनले सम्पूर्णमा आग्रह गरेको छ ।














