Logo
Logo

कर्णाली अस्पताल तनावग्रस्त, तीन दिनदेखि उठेन भीमाको शव


1.3k
Shares

काठमाडौं । पाठेघर सफा गर्ने क्रममा एक युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तिन दिनदेखि तनावग्रस्त बनेको छ । दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको पाठेघर सफा गर्ने क्रममा मृत्यु भएपछि शुक्रबारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो ।

सामान्य पेट दुःख्न थालेपछि अस्पताल पुगेकी भीमाको पाठेघर सफा गर्ने क्रममा मृत्यु भएपछि उनका आफन्तहरू आन्दोलित भएका छन् । ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको भन्दै चिकित्सकहरूले सफा गर्न सुझाव दिएका थिए । त्यसपछि अप्रेसन गरेर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको थियो ।

हिँडेर आफैँ अस्पताल उपचारका लागि भर्ना भएकी भीमाको उपचारमा हेल्चक्राई गरेर मारेको आरोप आफन्तहरूले लगाएका छन् । उनीहरूले उपचारमा संग्लनहरूमाथि कारबाहीको माग गर्दै अस्पतालदेखि वीरेन्द्रनगरका मुख्यमुख्य चोकमा पुगेर आन्दोलन गरिरहेका छन् । आफ्ना मागहरू सम्वोधन नभएसम्म शव नबुझ्ने भन्दै आफन्तहरू प्रर्दशनमा छन् ।

अस्पतालले पीडित परिवारसँग वार्ता गरिरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । अस्पतालसँग आफन्तले जाँचबुझ समिति गठन र मृतकको बच्चाको भविष्यको रेखदेख मुख्य माग राखेका छन् । तर, अस्पतालसँग वार्ता भएपनि माग पुरा गर्न अस्पताल पछि हटेको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले डाक्टरको लापरवाही नभई फोक्सोको समस्याका कारण उनको मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्