काठमाडौं । भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार दिएको छ । भारतीय राजदूतावास, काठमाडौंले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार दिएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महानगरपालिकाका प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति थियो ।

हस्तान्तरण गरिएका कूल १ सय १ सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरूलाई एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आएको छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण गर्दै नेपाल सरकारले स्वास्थ्य तथा शिक्षाको क्षेत्रका पूर्वाधार विकास गर्न चालेका प्रयासलाई भारत सरकारको बलियो साथ रहेको बताए ।
उनले नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिदै आएको पहलमध्येको एक रहेको बताए । उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिए । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको श्रीवास्तवले उल्लेख गरे ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबिचको जनता–जनताबिचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । साथै यस्ता महत्त्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकै फाइदाजनक हुने मन्त्री पुनले बताए ।
सन् १९९४ यता भारत सरकारले अहिले सम्म १ हजार ९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहार दिएको छ । यो सहयोगले स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउने छ । यस्तै यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्सा समेत हो ।














