Logo
Logo

कुख्यात अपराधी भनिएका शेख नुरुल्लाह पक्राउ



रौतहट । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा राखेको कुख्यात अपराधी शेख नुरुल्लाह पक्राउ परेका छन् । उनी १० महिनापछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो ।

अपराध क्षेत्रको मास्टरमाइन्ड मानिने नुरुल्लाहलाई रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलविछवा चोकनजिकैको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । २०८० जेठ ११ गते मध्यराति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका–१ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका प्रहरीको भनाइ छ ।

शेख शेराज र भारतीय नागरिक राकेश कुमार पक्राउ परी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार थिए । वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी बढाएको र सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

माधवनारायण नगरपालिका–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्यामा उनी समेत मुछिएका छन् । २०७७ साल भदौ ३ गते राति ९ बजेतिर पुजारी साह मन्दिरपरिसरमा खाना खाँदै गरेको अवस्थामा नुरुल्लाहले देव्रे कन्चटमा गोली हानी हत्या गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्