Logo
Logo

अमेरिकाले भन्यो- हामी मध्यपूर्वमा संकट बढेको हेर्न चाहदैनौँ


एजेन्सी


वासिंगटन । इजराइलले इरानको ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा सङ्कट बढेको हेर्न नचाहेको ह्वाइट हाउसका एक शीर्ष अधिकारीले बताएका छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबिसीको ‘मिट द प्रेस’ मा भने, ‘हामी यो संकट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ ।’

इरानको अभूतपूर्व आक्रमणपछि व्यापक द्वन्द्वको आशंकाहरूबीच इजराइल आइतबार उच्च सतर्क अवस्थामा थियो । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा तेहरानको वाणिज्य दूतावासमा भएको इजराइली हमलाको जवाफमा इरानले शनिबार राति इजराइली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको थियो ।

इरानको जवाफी कारवाहीले क्षेत्रीय दुश्मनहरूबीच लामो समयदेखि चलिरहेको गुप्त युद्धको ठूलो वृद्धिलाई देखाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलका लागि वासिङ्टनको ‘बलियो’ समर्थनको पुष्टि गर्नुभए पनि आफ्नो कट्टर सहयोगी इजराइललाई सैन्य प्रतिक्रियाबाट टाढा राख्न मार्गदर्शन गरिरहेको देखिएको छ ।

समाचार आउटलेट एक्सियोसका अनुसार राष्ट्रपति बाइडेनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग इरानविरुद्ध इजराइलको जवाफी आक्रमणको विरोध गर्ने बताएको थियो भने नेतान्याहुले ‘जित हासिल गर्नुपर्ने’ बताएका थिए ।

अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताए । ‘हामी के गर्नेछौँ र आफ्ना कर्मचारीहरूका लागि कुनै पनि सम्भावित खतरालाई कति गम्भीरतापूर्वक लिन्छौँ भनेर हामीले इरानसहित सबै पक्षलाई स्पष्ट गरेका छौँ’, उनले भने ।

इरानले शनिबार राति इजराइलतर्फ तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गर्दा १२ जना घाइते भएको इजराइली सेनाले बताएको छ । यद्यपि सेनाले अमेरिका, जोर्डन, बेलायत र अन्य सहयोगीहरूको मद्दतमा करिब सबै ड्रोन र मिसाइल इजराइली क्षेत्रमा पुग्नुभन्दा अघि नै रोकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्