Logo
Logo

एसीसी प्रिमियर कप : वर्षाले नेपाल र हङकङको खेल प्रभावित



काठमाडौं । एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल सुरु हुनुअघि हल्का वर्षा भएको छ ।

बर्षाका कारण खेल केही समय पछाडि धकेलिएको क्यानले जनाएको छ । अहिले पिच कभरले ढाकिएको छ । वर्षा रोकिएपश्चात टस हुने भएकाले ओभर घटाएर खेल हुने सम्भावना छ । हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ । आजको खेलमा अंक बाँडिएको खण्डमा नेपाललाई समूह विजेता बन्न सकस हुनेछ ।

नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन् । हङकङले सेमिफाइनलको यात्रा तय गर्न आज नेपाललाई हराउनुपर्ने दबाब छ ।

प्रिमियर कपको नेपाल साविक उपाधि विजेता हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । सन् २०२३ को एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो । समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्