Logo
Logo

कष्टकर बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल



काठमाडौं । गृहमन्त्री रवि लामिछाने आएपछि विदेशबाट आउने नेपाली यात्रुहरुले अब त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार भयो होला भन्ने सोचेका हुन्छन् । तर, ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था सुध्रिएको छैन ।

भौतिकरुपमा पर्यटकहरुलाई आकर्षित गर्न केही संरचनामा सुधार भए पनि प्रशासनिक रुपमा सुधार हुनसकेको छैन । विमानस्थलका कर्मचारीहरुको मानसिकता परिवर्तन नभएसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र जाने यात्रुहरुले दुःख पाइनै रहनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै कष्टका पाइलाहरु एकपछि अर्को गर्दै अगाडि बढिरहेकै हुन्छ । अध्यागमन विभागमा कर्मचारी अभाव भएको कारण आगमन र प्रस्थान कक्ष यात्रुहरुको भीडले भरिएको हुन्छ ।

कतिपय समय एकैपटक ३–४ वटा जहाज अवतरण ग¥यो भने अध्यागमनका कर्मचारीले थेग्न सक्दैनन् । आगमन कक्षमा २०–२२ वटा डेस्क भए पनि २–४ वटा डेस्कमा मात्र कर्मचारी हुन्छन् । जसका कारण यात्रुहरुलाई घण्टौ लाइनमा उभिनुपर्ने हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १०० वटा उडान र अवतरण हुने गर्छ । त्यसलाई ध्यानमा राखेर कर्मचारी दरबन्दी थप्नुपर्ने देखिन्छ । विमानस्थलको अध्यागमन शाखामा १२९ जना कर्मचारीहरुको दरबन्दी छ । त्यो दरबन्दीअनुसार कर्मचारी छैनन् । अहिले ८०–८५ जना कर्मचारी अध्यागमनमा कार्यरत छन् । हरेक दिन ८–९ हजार यात्रु आउने र जाने गरेको तथ्यांक छ । यो तथ्यांकलाई आधार बनाएर कर्मचारी दरबन्दी थप्नुपर्छ । जतिवटा ‘डेस्क’ छ, त्यति जना हरेक ‘डेस्क’मा कर्मचारी हुनुपर्छ ।

तीन सिफ्टमा सञ्चालन हुने अध्यागमन कर्मचारीहरुको अभावकै कारण सम्पूर्ण काउन्टर सञ्चालन हुनसकेको छैन । जसका कारण यात्रुहरु मर्कामा परेका छन् । अध्यागमनललाई चुस्त, दुरुस्त नराख्ने हो भने अन्तर्राष्ट्रमै नेपालको छवि धमिलिने छ । जुनसुकै देशको अन्तर्राष्ट्रिय विमानस्थल प्रतिष्ठाको विषय बन्ने गर्छ । विमानस्थलको सेवा, सुविधाले त्यस देशको संस्कृति प्रतिविम्बित गर्छ ।

ठूला ठूला हिमालको फोटो, मठमन्दिरको फोटो झुन्ड्याएर मात्रै शोभा बढ्दैन । त्यस अनुरुपको व्यवहार पनि हुनुपर्छ । विमानस्थलमा काम गर्ने कर्मचारीको व्यवहार सुध्रियो भने मात्रै नेपाल र नेपालीको गौरव बढ्ने हो । यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ ।

लगानी सम्मेलन नजिकिँदै छ । नेपालमा लगानी गर्न सयौं विदेशीलाई निम्ता पठाइएको छ । ती निम्तालुहरुले नेपाल कस्तो छ भन्ने कुराको पहिलो अनुभव विमानस्थलको सेवा र सुविधाबाटै गर्छन् । अध्यागमनमै घण्टौं उभिनुपर्ने र अध्यागमनबाट तल झरेपछि भन्सारमा पनि घण्टौं उभिनुपर्ने भएमा नेपालप्रति नकारात्मक धारणा बन्छ । त्यसैले नेपालको इज्जत, प्रतिष्ठा राख्न पनि विमानस्थल सुधार गर्नैपर्छ । विमानस्थलको वातावरण यात्रुमैत्री बनाउनै पर्छ ।

अर्को कुरा विश्वको कुनै पनि अध्यागमन र भन्सारमा अर्धसैनिक बल राखेको देखिन्न । तर, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बल राखिएको छ । यो देख्दा र सुन्दा पनि राम्रो कुरा होइन । सशस्त्र प्रहरी बलको आफ्नै भूमिका छ । अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चेकजाँच गर्ने काम सशस्त्रको होइन । नेपाल प्रहरीको हो । त्यसैले अन्तर्राष्ट्रमा नेपालको नाक जोगाउने हो भने विमानस्थलभित्र यात्रु चेक गर्ने सशस्त्र प्रहरी बल हटाउनु पर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बल राख्नुपर्ने कारणका बारेमा रोचक प्रसंग सुनिन्छ । अध्यागमनका कर्मचारीहरु भिजिट भिसा सेटिङमा यात्रु उडाएर भ्रष्टाचार गर्ने, नेपाल प्रहरी सुन तस्करी गरेर बदनाम भएकै कारण सशस्त्र प्रहरी बल राख्नु परेको कुतर्क गरेको पनि सुनिन्छ ।

हुन पनि अध्यागमन र नेपाल प्रहरीलाई समेत सशस्त्र प्रहरी बलले ‘चेक’ गरेको देखियो । जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत निकायकाबीच सद्भाव होइन, आशंका छ । यसले सुरक्षामा समेत असर गर्ने हुँदा कर्मचारी र प्रहरीबीच समन्वयात्मक सम्बन्ध हुनुपर्छ ।

नेपालमा घुस नख्वाई कुनै काम हुँदैन भन्ने कुरा आम नेपालीले भोगेको कुरा हो । त्यसमाथि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई प्रहरीले अनेक बहानामा दुःख दिने पनि गरेका छन् । विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुप्रति विमानस्थल कर्मचारीहरुको सकारात्मक सोच छैन । विदेश जाँदा जुन दुःख भोग्नुपछ फर्कंदाको कथा पनि त्यस्तै छ ।

प्रहरीको दृष्टिमा विदेशीबाट आउने सबै नेपाली सुनका भरिया हुन् । भन्सार चेकजाँचमा नेपालीलाई नांगेझार बनाइन्छ । घुमाई घुमाई गुप्तांगमा समेत मेटल डिक्टेटर लगाइन्छ । नेपालीहरु आफ्नै भूमिमा हेपिएको दृश्य कुनै पनि नेपालीले पचाउन सक्दैनन् ।

सुन कहाँबाट आउँछ, सुनको सेटिङ कहाँसम्म छ भन्ने कुरा विगतका घटनाले देखाइसकेको छ । राज्यको माथिल्ला निकायसँग सेटिङ नगरी टनका टन सुन भित्रन सम्भव छैन । तर, दुःख कसले पाउँछन् भन्दा २–४ तोला सुनका गहना लगाएर आएका गरिब नेपालीका छोराछोरीले पाउँछन् ।

देशको अवस्था सुधार्न पहिला हामी आफैँ सुध्रिनुप¥यो । एयरपोर्ट जान मरिहत्ते गर्ने प्रहरी, कर्मचारी गएपछि लुड्याउन पछि नपर्ने प्रवृत्ति त्याग्नुप¥यो । सुशासनको सुरुवात एयरपोर्टबाटै थाल्नुप¥यो । हरेक यात्रुले सुशासनको अनुभूति गरेमा मात्र नेपालको छवि उँचो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्