Logo
Logo

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने



काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा युएईसँग खेल्ने पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

नेपाल समूह ए बाट ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । हङकङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ नेटरनरेटमा कतारलाई पछि पार्दै उपविजेता बनेर सेमिफाइनलमा पुग्यो ।

समूह बी बाट ओमान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सेमिफाइनलमा नेपालले युएई तथा ओमानले हङकङसँग खेल्नेछन् । नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ९ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो ।

युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

दुबै सेमिफाइनल खेलहरु शुक्रबार हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ ।

प्रतियोगिता विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

एसिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेश हुनेछन् । इमर्जिङ टिम्स एसिया कपमा यी पाँच टेस्टका ए टोलीसँग खेल्ने अवसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्