Logo
Logo

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपा सांसद थापाको घोषणा



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको बताएकी छन् ।

बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालय मन्त्रीको सपथ खान पुगेकी उनी मन्त्रालयको टुंगो नलागेको भन्दै शपथ कार्यक्रम नै बहिस्कार गरेर फर्केकी थिइन् । उनै सांसद थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको भन्दै पुनः बखेडा ल्याएकी हुन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि सांसद थापाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् ।

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए । तर, थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

यस्तै, मुख्यमन्त्री सोडारीलाई समर्थन जनाएको नेकपा एमाले पनि तत्काल सरकारमा नजाने भएको छ । मुख्यमन्त्री सोडारीलाई समर्थन गरेपनि एमाले सन्तुष्ट छैन ।

सुदूरपश्चिममा नाउपाका कारण सरकार गठनमा संकट आएको थियो । यसअघि नाउपाको आन्तरिक विवादकै कारण सरकार गठनमा विलम्ब भएको थियो । केन्द्रीय गठबन्धनको सहमति अनुसार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिएपनि सुदूरपश्चिमको संकट अझै टरेको छैन ।

प्रतिक्रिया दिनुहोस्