Logo
Logo

राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गरेर देखाउन शिक्षामन्त्रीलाई चुनौती



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै नेपाल शिक्षक महासङ्घ असन्तुष्ट बनेको छ । मन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्नेगरी नीतिगत निर्णय गरेसँगै शिक्षकहरु असन्तुष्ट बनेका हुन् ।

मन्त्री श्रेष्ठले गत मङ्गलबार मन्त्रीस्तरिय निर्णय गर्दै शिक्षकहरू कुनैपनि राजनीतिक दलको समितिमा आवद्ध रहेको भेटिए कारबाही गर्न भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेपछि यस कदमको चौतर्फी आलोचना भइरहेको छ ।
केन्द्रले पनि जिल्ला शिक्षा समन्वय ईकाइलाई शिक्षकहरुको राजनीतिक दलमा आवद्धताको सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ ।

शिक्षामन्त्रीको उक्त निर्देशन पछि शिक्षकहरूको जनवर्गीय सङ्गठन शिक्षक महासङ्घले असन्तुष्टि जनाउँदै शिक्षकमाथि कारबाही गरेर देखाउन चुनौती दिएको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधारले संविधानले दिएको अधिकार प्रयोग गरी शिक्षकहरूले कुनै आस्था वा विचार राख्न पाउने भन्दै संविधान नै परिवर्तन गरेर कारबाही गरेर देखाउन ् चुनौती दिए ।

उनले शिक्षकहरूले आफ्नो कार्यालय समयमा राजनीतिक दलको काम गरेर नहिँडेको दाबी गरे । शिक्षकहरूले कार्यालय समयबाहेकको अतिरिक्त समयमा आफ्नो राजनीतिक आस्था राख्न पाउनुपर्ने उनको भनाई छ । उनले दलको सदस्यता लिनका लागि शिक्षा नियमावलीले कुनै छेकवार नलगाएको भन्दै संविधान, र ऐन, कानुन नै परिवर्तन गरेर शिक्षकहरुलाई कारबाही गर्न शिक्षामन्त्रीलाई चुनौती दिए । राजनीतिक आस्थाको आधारमा शिक्षकहरूलाई कारबाही गर्नु नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्