Logo
Logo

कोशी प्रदेशमा संकल्प प्रस्ताव पारित



विराटनगर । कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ । उक्त प्रस्तावको पक्षमा ५२ सांसदले मत दिए भने विपक्षमा रहेका प्रदेशसभा सांसदहरुले मत दिन चाहेनन् । ३ जना भने तटस्थ रहेका प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की अल्पमतमा रहेकाले उनलाई विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्नेलगायतका विभिन्न मागसहित संकल्प प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गरेका थिए ।

संकल्प प्रस्तावमा भनिएको छ, ‘माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी एमाले र माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिई सरकारबाट फिर्ता भइसकेको र बहुमत प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा समर्थन फिर्ता लिएको मिति २०८० चैत २६ को मितिले संविधानकोे धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस् ।’

प्रदेशसभाको बहुमत सदस्यको समर्थन फिर्ता भइसकेकाले सरकारको नियमित कामबाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई निर्देशन दिन पनि माग गरिएको थियो । ।

त्यस्तै मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न कोशी प्रदेशसभा सचिवालयलाई निर्देशन दिने पनि संकल्प प्रस्तावमा उल्लेख छ ।

संकल्प प्रस्तावमा अगाडि भनिएको छ ,‘प्रदेशसभाको यो बैठक वैकल्पिक सरकार गठन गर्न यो प्रदेशसभा सक्षम रहेको प्रतिवद्धता व्यक्त गर्दै यो विषयमासमेत प्रदेश प्रमुख समक्ष सन्देश प्रवाह गर्न कोशी प्रदेशसभा सचिवालयलाई पुनः निर्देशन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्