Logo
Logo

दार्चुलामा भारतीय सहयोगका परियोजना शिलान्यास र उद्घाटन



दार्चुला । दार्चुलामा भारतीय सहयोगका उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू शिलान्यास तथा उद्घाटन भएको छ ।शुक्रवार व्यास गाउँपालिका–६ स्थित हिमालय माविको भवन व्यास गाउँपालिकाका अध्यक्ष श्री मङ्गल सिंह धामी, भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त शिलान्यास गरेका हुन् ।

भारतीय सरकारको २ करोड ८२ हजार रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको छ । यहाँ विद्यालयलाई आवश्यक सुविधासँगै २ तल्ले भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा निर्माण गरिने छ ।

त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड ३७ हजार रुपैयाँको लागतमा निर्मित दुहुँ गाउँपालिका स्थित जनविकास माविको भवन उद्घाटन भएको छ । भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावास र सचिव सोनाले संयुक्त उद्घाटन गरेका थिए । यहाँ विद्यालयलाई आवश्यक थप सुविधासँगै भवन निर्माण गरिएको थियो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत दुवै विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना हुन् । यी परियोजनाको कार्यान्वयन सम्बन्धित गाउँपालिकाले गर्ने छ । यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण दृष्टान्त हुन् ।

कार्यक्रममा दुवै गाउँपालिकाका अध्यक्षले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले यहाँको विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन नयाँ भवन निक्कै उपयोगी हुने विश्वास व्यक्त गरे । भवनले सिकाइको राम्रो वातावरण सिर्जना गर्ने र यहाँको शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याउने अध्यक्षद्धोयको भनाई छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । जस मध्ये ४ सय ८९ वटा परियोजना सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै ४० वटा परियोजना छन् । जस मध्ये १० वटा दार्चुलामा छन् । भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १ हजार ९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहार दिएको छ ।

सुदूरपश्चिमले ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहार पाएको छ । दार्चुलामा मात्र ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस भारतको उपहार छन् ।

भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नजिकको छिमेकीकोे नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको बताए । उनले परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि सहयोग पुग्ने उल्लेख गरे ।

सोनाले शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सदैव हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्