Logo
Logo

सेनाको गोरखा–जितगढी पदयात्रा समापन



बुटवल । गत चैत्र २९ गते गोरखा दरवारबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा शुक्रवार रुपन्देही जिल्लाको बुटवलस्थित जितगढीमा पुगेर विशेष समारोहका बिच समापन भएको छ । पदयात्रामा सहभागी टोलीलाई पदयात्रा समापन समारोह स्थल जितगढीमा भव्य स्वागत गरिएको थियो ।

गोरखा दरबारबाट सुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन ५(पाँच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए । 

गोरखा दरबारदेखि जितगढीसम्म करिब २०७ कि.मि. दुरीमा सञ्चालित पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै नवौँ दिनमा रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगे पश्चात् स्थानीय झाँकी लगायत विविध कार्यक्रमहरु सहित जितगढी विजय उत्सव मनाइएको थियो । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदायात्रामा सहभागी फौज तथा आम सर्वसाधारणलाई मायाको चिनो प्रदान गर्नुका साथै इतिहासविद्हरुलाई सम्मान पत्र तथा उत्कृष्ट झाँकीलाई पुरस्कृत गरेका थिए ।

जितगढी, नेपाल–अङ्ग्रेज युद्ध (वि.सं. १८७१–७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अदम्य साहस, रणकौशल एवं वीरताकासाथ युद्ध गरि विजय हासिल गरेको ऐतिहासिक स्थल हो । 

जितगढी विजय उत्सव तथा पदयात्रा समापन कार्यक्रम बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सञ्चालन भएको थियो भने पूर्व प्रदेश स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ, श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी श्री सुनिल श्रेष्ठ, रुपन्देही र पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं. २२ वाहिनी अड्डाका वाहिनीपति, स्थानीय जनप्रतिनिधिहरू, बुद्धिजीवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरू, सञ्चारकर्मी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्ध्दन एवं ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइ तथा बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ऐतिहासिक जितगढी किल्ला पुनः निर्माण कार्य सम्पन्न गरि २०८० पौष २० गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा प्रधानसेनापति प्रभुराम शर्माले मर्मत तथा पुनः निर्माण गरिएको ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गरेका थिए भने सोही वर्षबाट गोरखा–जितगढी पदयात्रा समेत शुभारम्भ भएको थियो ।

यस प्रकारको कार्यक्रमले नेपालको ऐतिहासिक धरोहरहरूको पहिचान‚ संरक्षण‚ संवर्द्धन र प्रवर्द्धन हुनुका साथै राष्ट्रिय एकता, सैनिक इतिहास एवं पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्