Logo
Logo

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि



काठमाडौं । नेकपा एमालेको आजदेखि दुईदिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराएका थिए । उनका अनुसार बैठकमा पार्टीको समग्र कामको समीक्षा एवं आगामी दिशानिर्देशबारे छलफल हुनेछ ।

आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने एमालेको विश्वास छ ।

महासचिव पोखरेलले भने, ‘मुलुकको आवश्यकता र राजनीतिक स्थायित्वका साथै जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने हाम्रो विश्वास छ ।’

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । योबाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्