Logo
Logo
उपनिर्वाचन : इलाम-२

मतदातासँग रविले भने- मासु र रक्सीमा मत खेर नफाल्नु होला



इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछाने अहिले चुनावी प्रचारप्रसारका क्रममा इलाममा छन् । उनी पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी सभालाई सम्बोधन गर्नदेखि लिएर मतदाताको घरदैलो चहार्नेसम्म गरिरहेका छन् ।

यसैक्रम शनिबार उनले इलाम गजुरमुखी धाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रक्सी र मासुमा भोट खेर नफाल्न इलामेली मतदातालाई आग्रह गरे । सभापति लामिछानेले आफ्नो पार्टीसँग इमानदार उम्मेदवारबाहेक अरू केही नभएको बताउँदै भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’

उनले चुनावको समयमा उम्मेदवारले जनतालाई विभिन्न प्रलोभन देखाएर मत माग्ने गरेको भन्दै जनताले सोचेजस्तो नेता नभए फेर्न सकिने बताए ।

‘हामीले सोचेजस्तो उहाँले भनेजस्तो नेता राम्रो भएन भने फेर्न सकिन्छ । मिलन लिम्बुले राम्रो काम गरेन भने अर्को लिम्बु आउँछ । लामिछानेले गर्न सकेन भने अर्को आउँछ’ उनले भने, ‘तपाईँ त शक्तिशाली जनता हो । के ऋण खानु भएको छ र मेरो ? के ऋण खानुभएको छ र मिलन लिम्बूको ? अरूको खाच्चखुच्च खानुभयो होला । हाम्रो त खुवाउनै सक्दैनौँ । खुवाउँदैनौँ पनि । पानी खुवाउने पनि पैसा छैन हामीसँग ।’

उनले आफूसँग इमानदार उम्मेदवार भएको बताउँदै भने, ‘हामीसँग इमानदार उम्मेदवार छन् । त्यति भए पुग्छ, हामी देश बनाउन सक्छौँ ।’ इलाम–२ मा यही बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्