Logo
Logo

वातावरण तयार गर्छौँ लगानी गर्नुहोस्: अर्थमन्त्री पुन


126
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

अर्थमन्त्री पुन र डीएफसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्कट नाथनबीच भएको भेटवार्ताका क्रममा पुनले यस्तो अनुरोध गरेका हुन् । भेटमा पुनले भने हामी नेपालमा लगानी मैत्री वातावरण बनाउँछौँ, लगानीमा व्यवधान गर्ने कानुन संशोधन गर्छौ तपाईँहरू ढुक्कले लगानी गर्न आउनुस् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वासिङ्टन डिसी पुगेका मन्त्री पुनबिच साइडलाइन वार्ता भएको हो । डीएफसी विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानका लागि लगानी गर्ने संस्था हो ।

उक्त संस्थाले ऊर्जा, स्वास्थ्य, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आएको छ । भेटमा मन्त्री पुनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त वातावरण बनाउन प्रतिबद्ध रहेको जनाए । नेपाल र अमेरिकाबीच १९६० मै निजी लगानीको ग्यारेन्टीसम्बन्धी सम्झौता भएको स्मरण गर्दै पुनले अमेरिका नेपालमा लगानी गर्ने तेश्रो ठूलो मुलुक भएको उल्लेख गरे ।

आर्थिक विकासमा नेपालको निजी उद्यमहरूको सहभागितालाई सहजीकरण र वृद्धि गर्ने लक्ष्यसहित भएको उक्त सम्झौताले अमेरिकाबाट नेपालमा निजी लगानीको जग खडा गरेको मन्त्री पुनले बताए । डीएफसीले नेपालका निजी क्षेत्रसँग हाल ऋण र स्वपुँजी (इक्विटी) गरी २ सय ७० मिलियन अमेरिकी डलर बराबरको साझेदारी छ ।

मन्त्री पुनले नेपाल आगामी सन् २०२६ सम्म अतिकम विकसित देश ) एलडिसी) बाट स्तरोन्नति भई विकासशील राष्ट्रमा उक्लने लक्ष्यका साथ अघि बढेको भन्दै त्यसले आर्थिक वृद्धिका लागि लगानीको वातावरण बनाउनुका साथै मुलुकको आर्थिक विश्वसनीयता पनि बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले नेपालले निजी क्षेत्रलाई देश विकास र समृद्धिको साझेदारका रुपमा प्रवर्द्धक नीति लिइएको स्पष्ट गरे । निजी क्षेत्रको प्रवर्द्धनका लागि कानुन, नीति, संस्था र कार्यविधिहरूमा परिमार्जन गरिएको तथा आवश्यकता अनुसार थप सुधार गर्ने बाटोमा रहेको बताए । उनले अमेरिकी निजी क्षेत्रलाई नेपालमा लगानीका लागि विश्वासको वातावरण बनाइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्