Logo
Logo

भोलिदेखि पेन डाउन गर्ने प्राध्यापकको चेतावनी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पाटनले भोलिबाट पेन डाउन गर्ने चेतावनी दिएको छ । संघले विज्ञप्ति जारी गर्दै एक महिनादेखि लागेको तालाबन्दीका कारण प्रशासनिक कामहरु गर्न असहज भएको भन्दै भोलि १० गतेबाट पेन डाउन गर्ने चेतावनी दिएका हुन् ।

भूमिगत माग राखेर संयुक्त विद्यार्थी संघठन नेबिसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पस प्रमुख लक्ष्मण सिंह कुँवरलाई प्रवेशमा समेत रोक लगाउँदै क्याम्पस प्रशासनमा एक महिनाअघि तालाबन्दी गरेका थिए । विद्यार्थीहरु लगायत सबै सरोकारवालाहरुका यथोचित मागको सम्बोधन हुनुपर्छ भन्नेमा प्राध्यापक संघ अडिग रहेको जनाएको छ ।

विद्यार्थीहरुको मागहरुको सम्बोधनमा ढिलासुस्तिका कारण क्याम्पस प्रशासन एक महिनादेखि बन्द हुनाले प्रशासनिक भवनमा रहेका नेपाली, अंग्रेजी, भूगोल, राजनितिशास्त्र, इतिहास तथा बौद्ध अध्ययन, नेपालभाषा र गृह विज्ञान विभागहरुबाट दैनिक रुपमा हुनुपर्ने शैक्षिक प्रशासनका कामहरु हुन नसक्दा विद्यार्थीहरु मर्कामा परेको संघले जनाएको छ ।

साथै प्राध्यापकहरुले दैनिक कक्षाहरु लिएपछि आफ्नो विभाग जान नपाएको र विभागिय प्रमुखहरुले चौर र चिया पसलमा बसेर विद्यार्थीहरुका समस्याका सुनुवाइ गर्नु परेको र पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् ।

बन्दका कारण सबै सरोकारवालाहरुमा परेको असहजता अविलम्ब हटनु पर्ने पक्ष रहेको संघका सभापति राम बहादुर केसीले बताए । आइतबारआजसम्म पनि यस्तै असहजताको परिस्थिति रहि रहेमा प्रथम चरणमा सोमबारबाट तीन दिन प्राध्यापकहरु दैनिक कक्षा संचालनमा सहभागि नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्